site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपथ्यमा हराउँदा

कुरा सन् २००० तिरको हो । म कलंकीभन्दा अलिमाथि पोखरा जाने गाडी कुर्दै थिएँ । त्यो बाटो हिँड्ने निजी कार, जीपलाई हात दियो भने कसैकसैले भाडा लिएर पोखरा लैजान्थ्यो ।

गाडीले अलि धेरै भाडा लिए पनि यस्तो गाडीमा यात्रा गर्दा छिटोछरितो र आरामदायी हुने भएकाले दमौलीसम्म जान पनि मलाई त्यस्तै सवारीसाधनको बानी परेको थियो ।

एउटा निजी गाडी आएकाले हात उठाएको त अर्को मान्छेले पनि सँगै हात उठायो । सँगै हात उठाउने को रहेछ भनेर हेरेको त नेपथ्यका अमृत गुरुङ रहेछन् ।

Dabur Nepal
NIC Asia

गाडी हामीलाई पोखरा लैजान तयार भयो । अनि, त्यस गाडीमा अमृत गुरुङ, म र अर्का एकजना सवार भयौँ ।

त्यो बेला भर्खरभर्खर मोबाइल फोन भित्रिएको थियो, नेपालमा । मसँग त्यस्तो कुनै फोन थिएन । भए पनि त्यो बेलाको नोकिया फोनमा कुनै क्यामेरा जडान थिएन । त्यो विशुद्ध फोन मात्र थियो । अहिलेजस्तो नानाभाँती सुविधा भएको भए त्यो फोनमा एक सेल्फी त पक्कै लिन्थेँ हुँला नेपथ्यसँग । अनि, सेल्फी लिएर राख्नलाई फेसबुक पनि त थिएन ।

म अलि कम बोल्नुपर्ने मनुवा परेकोले वहाँसँग मेरो कुरो भएन । वहाँले मलाई चिन्ने कुरै भएन, नचिनेपछि बोल्ने पनि कुरा भएन । बोल्न पाएको भए, पृथ्वी राजमार्ग नबन्दै डाकोटा विमान चढेर आमाबुबासँग सानैमा पोखरा पुगेको र बगरनजिकै टिनको अर्धगोलाकार घर भएको मिसन हस्पिटलछेउ कुनै लाहुरेको घरमा डेरा गरेर बसेको किस्सा सुनाउन हुन्थ्यो ।

बुबाले ती लाहुरेसँग नेरु तीन सयमा शार्प ट्रान्जिस्टर किनेको र रेडियो नेपालका गानाहरू घन्काएको कथा अनि बुबाले कुनै बेला पोखराभन्दा दुई कोसयता कन्धनी डाँडागाउँमा भैरव अर्यालसँग मास्टरी गरेको इतिहास बताउन हुन्थ्यो ।

वहाँको ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ गीत क्यासेट चक्कामा भरेर दिनको कतिपटक सुनेँ भन्न हुन्थ्यो ।

मलाई लाग्छ, त्यो बेला वहाँ नेपथ्य समूहका एक मात्र संस्थापक सदस्य हुनुहुन्थ्यो । वहाँका बाँकी सदस्यहरू भीम पुन, दीपक राना, अलिपछिका रोबिन श्रेष्ठले समेत समूह छाडी अर्कै पेसातिर लागिसकेका थिए ।

त्यसरी एक्लै भएर पनि होला, वहाँ संगीतबाट अलि फुर्सद निकालेर फोटो र वृत्तचित्र (डकुमेन्ट्री) बनाउनतिर व्यस्त देखिनुहुन्थ्यो । त्यसैताका सायद कान्तिपुर वा काठमाण्डू पोस्टमा वहाँबारे लामो आलेख निस्केको थियो । त्यसले वहाँको प्रतिभाको अर्को पाटो उजागर भएको थियो ।

नेपथ्यको नाम आउँदा मेरो दिमागको नेपथ्यमा ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले...’ गीत पहिले बज्छ । त्यो गीतको भिडियो नेपाल टीभीमा आउँदाको याद ताजा हुन्छ । त्यस्तै, ‘जोमसोमै बजारमा’ अथवा ‘चरी मर्‍यो सिसैको गोलीले’ गीत नेपथ्यमा गुन्जिन्छ ।

अझ ‘तालको पानी माछीले खाने’, ‘रेशम रेशम’, ‘भेडाको उनजस्तो’, ‘स कर्णाली’ अनि पछिल्लो समयको ‘रातो र चन्द्रसूर्य’, ‘गाउँगाउँबाट उठ’ जस्ता कालजयी गीतका सर्जक, गायक भेट्दा पनि संकोचवश एक शब्द बोल्न नसक्दाको क्षण सम्झेर अहिले भने चुकचुक लाग्छ ।

पहिले सायद लेख्ने बानी नभएर वा फेसबुक नभएर पनि होला त्यस्तो भएको ।

अहिले नेपथ्यको सांगीतिक कार्यक्रम सान फ्रान्सिस्को सहरमा यही अगस्ट १० तारिखमा हुन लागेको खबरले म दंग परेँ । टिकटको अग्रिम बुकिङ खुल्नासाथ टिकट किनेँ । उक्त कार्यक्रम व्यवस्थापक/आयोजक बिन्दास इभेन्ट्सका असीम गजुरेललाई सम्पर्क गरेर अनुरोध गरेँ, ‘लौ न, अमृत गुरुङसँग भेट्ने चाँजोपाँजो मिलाइदिऊँ ।’

‘वहाँहरू सार्वजनिक भेटघाट र नेपथ्य (मञ्च पछाडि) पनि भेट्न मान्नु हुन्न, निकै अनुशासित र कडा हुनुहुन्छ,’ जवाफ आयो ।

कार्यक्रमको मञ्चमा भेट्ने सम्भावना नै भएन । त्यो दुई हजार तीन सय दर्शक अट्ने हलमा मजस्ता कति होलान्, कहाँ भेट्न सक्नु त्यता । मलाई लाग्छ, यति ठूलो, स्तरीय सभागृहमा कुनै नेपाली गायक वा सांगीतिक समूहको कार्यक्रम सान फ्रान्सिस्को सहरमा भएको छैन । यताका लागि यो ऐतिहासिक कार्यक्रम हुनेछ ।

नेपथ्यको हकमा भने यो ठूलो जमघट हैन । उनीहरूले महान् सांगीतिक समूह दी बिटल्स, दी रोलिङ स्टोन्स, बोन जोभी, पिंक फ्लोइड, दी इगल्स आदिले आफ्नो ऐतिहासिक प्रस्तुति दिएको लन्डनको वेम्बली एरेनामा सात हजारभन्दा बढी दर्शकसामु प्रस्तुति दिएर इतिहास रचेका थिए ।

यस्तै, सिड्नी, अस्ट्रेलियामा पनि ६ हजार दर्शकको भीडमा आफ्नो कार्यक्रम प्रस्तुत गरेका थिए ।

मलाई नेपथ्य मन पर्नुको मुख्य कारण हो, उनीहरूको नौलो सांगीतिक शैली । अलि नौलो पाराको लोकभाकामा आधुनिक रक, पपसंगीतको छाप । हाम्रो पुस्ता मात्र हैन, नयाँ आधुनिक पुस्ताका पनि प्रिय ती गीतसंगीत ।

त्यसमा पनि ऊर्जावान् गायनले सुनमाथि सुगन्ध थपेको हुन्छ । मञ्चमा अमृत गुरुङ उफ्रेर, नाचेर गाएको देखेपछि जस्तै नाच्न जान्दिनँ भन्ने दर्शकस्रोताको पनि हातखुट्टा, जिउ चल्न थाल्छ । त्यसैले पनि होला, नेपथ्यको कन्सर्टमा गैरनेपाली भाषी पनि रमाएको भेटिन्छ ।

नेपथ्यको अर्को मलाई मन पर्ने कुरा हो, उनीहरूको नाम । दी प्रिज्म, १९४७ एडी, कबवेब, अल्बाट्रोसजस्ता अंग्र्रेजी नामका समूहभन्दा फरक नेपाली नामको समूह हो, नेपथ्य ।

खासमा भन्नुपर्दा, नेपाली संगीतको पर्दापछाडि र अगाडि बसेर नेपाली संगीतलाई एक नयाँ दिशा र आयाम दिएको छ नेपथ्यले ।

त्यसैले त एक सय माइल (१६० किमि) टाढाको ऐतिहासिक दी वारफिल्ड, कन्सर्ट हलमा अहिलेसम्मकै अधिकतम मूल्य अमेरिकी डलर १२५ को टिकट काटेर हामी एक हुल उक्त कार्यक्रम हेर्नसुन्न जाँदै छौँ ।

गीतसंगीत, ध्वनि र व्यवस्थापन सबै कुरा अब्बल हुने विश्वास भएपछि अलि बढी पैसा तिर्न कन्जुस्याइँ गर्न पनि भएन नि, मखुला पासा !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro