
काठमाडौं । नेपाल प्रजातन्त्र सेनानी संघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । सशस्त्र द्वन्द्वका सहिद, घाइते र प्रभावितका नाममा राज्य कोषबाट सहिद घोषणा गर्दै अर्बौं रकम निकासी हुँदा प्रजातान्त्रिक योद्धाहरूलाई भने राज्यले अपमानित गरेको भन्दै उनीहरूले ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रजातान्त्रिक आन्दोलनमा लागेर सहिद भएकाका परिवारका सदस्य र ०४६ सालअघिका संघर्षका सहभागीहरू रहेका संघका नेतृत्व तहका व्यक्तिहरू सहभागी थिए ।
उनीहरूले प्रजातान्त्रिक आन्दोलनका योद्धाको सर्वस्व हरण, मृत्यदण्डसहितका सबै सजाय दिएकोमा प्रजातन्त्र प्राप्तिका यतिका वर्षसम्म फिर्तासमेत नहुँदा जीवन निर्वाह नै कठिन अवस्थामा रहेको बताएका छन् । जवाफमा गृहमन्त्री रमेश लेखकले आफूले प्रधानमन्त्रीसँग परामर्श गरी आवश्यक निर्णयका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
“तपाईंहरूले गम्भीर विषयमा ध्यानाकर्षण गराउनुभएको छ । यो निर्णय मेरो तहबाट मात्र गर्न सम्भव छैन,” लेखकले भने, “यस विषयमा प्रधानमन्त्रीसँग परामर्श गरी निर्णय अघि बढाउन पहल गर्नेछु ।”
उनले पञ्चायतकै समयमा राज्यले जफत गरेको जग्गा फिर्ता नहुनु दुःखद भएको भन्दै आवश्यक पहल गर्ने पनि आश्वासन दिए ।
भेटमा प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य उपेन्द्र थापा पनि थिए । सहिद क्याप्टेन यज्ञबहादुर थापाका छोरा उपेन्द्रले २०२८ शालमा राज्यले जफत गरेको मोरङको केराबारीको आफ्नो २२ बिघा जग्गा अहिलेसम्म फिर्ता हुन नसकेको बताए ।
“हाम्रो ०२८ सालमा २२ बिघा जमिनसहित सर्वस्व हरण गरियो । मेरो बुवा क्याप्टेन यज्ञबहादुर थापालाई राज्यले ०३५ सालमा मृत्यु दण्ड दियो,” उपेन्द्रले भने, “अहिलेसम्म मसँग न त प्रजातान्त्रिक योद्धाको परिवार भएको प्रमाण छ । न त राज्यले जफत गरेको सम्पत्ति नै फिर्ता भएको छ ।”
उनले पछिल्लो सयममा एक निर्णयका भरमा माओवादीका लडाकु र उनीहरूका परिवारलाई, द्वन्द्वपीडित भनेर माअोवादी कार्यकर्तालाई करोडौँ बाडिएको बताए ।
आफू माओवादीले जस्तै राज्य शक्तिको दुरुपयोग गर्नुपर्छ भन्ने पक्षमा नरहेको बताएका उपेन्द्रले राज्यले प्रजातान्त्रिक योद्धालाई कदर गर्ने र उनीहरूलाई परिचयपत्रसहितको सम्मान दिनुपर्ने बताए ।
२०५९ जेठ २४ मा मारिएका भक्तपुरका राधेश्याम जोन्छेलाई सरकारका तर्फबाट २०७४ माघ ३ मा सहिद घोषणा गरिएको थियो । तर, अहिलेसम्म उनलाई सहिद परिवारको परिचयपत्र, क्षतिपूर्ति, राहत केही पनि दिइएको छैन । राधेश्यामकी श्रीमती रजनी अमात्य झोन्छे प्रजातन्त्र सेनानी संघको केन्द्रीय सदस्य छन् ।
“मेरो श्रीमान् राधेश्याम झोन्छेलाई ०७४ सालमै सहिद घोषणा गरी राजपत्रमा समेत प्रकाशित छ । तर, आजसम्म न क्षतिपूर्ति भएको छ न त सहिद परिवारको परिचयपत्र नै छ,” उनले भनिन् ।
भेटमा २०३० सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा प्लेन हाइज्याक गर्नेमध्येका नगेन्द्र ढुंगेल पनि सहभागी थिए । सेनानी संघका केन्द्रीय सदस्य उनले आफूहरू ज्यानको बाजी थापेर क्रान्तिमा लागे पनि प्रजातान्त्रिक योद्धाहरूलाई राज्यले अपमानित गरिरहेको बताएका थिए । भेटमा सहभागी प्रजातन्त्र सेनानी संघका केन्द्रीय नेताहरूले थापा, ढुंगेल, झोन्छेजस्ता व्यक्तिहरूलाई राज्यले अपमानित गर्दा नयाँ पुस्तालाई प्रजातन्त्रको महत्त्व कसरी बुझाउने भन्दै प्रश्न उठाएका थिए ।
प्रजातन्त्र सेनानी संघले गृहमन्त्रीलाई तीनबुँदे ज्ञापनपत्र बुझाएको छ । जसमा प्रजातान्त्रिक योद्धाको खोज तथा असिभलेखीकरण र राज्यबाट सेवा सुविधा पानका लागि आयोग गठन गर्नुपर्ने, सेनानीहरूलाई उपयुक्त आवास दिनुपर्ने र प्रजातान्त्रिक सेनानीहरूको जफत भएको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।