काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हबिगत नेपाल वायु सेवा निगमजस्तै उच्च घाटा खाने खराब सूचीमा दर्ज थियो, आर्थिक वर्ष २०७२/७३ सम्म । अर्थात् उच्च नोक्सानी बेहोर्ने सार्वजनिक संस्थानमा प्राधिकरणको नाम अग्रपंक्तिमा थियो ।
हुन पनि २०७०/७१ मा प्राधिकरणको खुद नोक्सान ४ अर्ब ७० करोड रुपैयाँ थियो । सरकारले बेलाबखत ऋण अपलेखन (ऋण माफ) को चरणबाट गुज्रदै थियो, प्राधिकरण ।
यतिखेर प्राधिकरण यस्तो नोक्सानी बेहोर्ने संस्थानभित्र पर्दैन । अर्थ मन्त्रालयले गत जेठमा सार्वजनिक संस्थानहरूको अवस्थामा २०८०/८१ मा उच्च नाफा गर्नेमा दोस्रो स्थानमा छ । कुल ४४ सार्वजनिक संस्थानमा २६ वटा नाफा र १५ वटा घाटामा चलेको सरकारी तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्ष नाफा गर्नेमा नेपाल आयल निगम शीर्ष स्थानमा रहँदा विद्युत् प्राधिकरण दोस्रोमा रह्यो ।
झन्डै १० वर्ष अघिसम्म अर्बौँ घाटामा रहेको संस्थान कसरी शीर्ष स्थानमा उक्लिन सफल भयो ? घाटामा संस्थानलाई के कामले नाफामा ल्यायो त ? यसको प्रमुख कारण हो, सही ठाउँमा सही नेतृत्व हुनु ।
२०७३ भदौ २९ गते सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो ।
प्राधिकरणको नेतृत्वमा घिसिङ आएपछि प्राधिकरणको छवि पनि सुध्रियो । १८ घण्टे लोडसेडिङ, घट्दै गयो । उच्च घाटामा रहेको संस्थान नेतृत्व परिवर्तनसँगै प्राधिकरणको व्यवस्थापनमा पनि निकै परिवर्तन आयो ।
यसअघि चिलिमे जलविद्युतको कुशल व्यवस्थापक बनेका थिए, घिसिङ । पहिलो कार्यकालमा सफल देखिएपछि घिसिङलाई दोस्रो कार्यकालमा पनि नियुक्त गर्नुपर्ने भन्दै रसुवामा आन्दोलन चर्किएको थियो ।
घिसिङ प्राधिकरण नेतृत्वमा आउने बित्तिकै चुहावट घटाउनेदेखि लोडसेडिङ व्यवस्थापनमा लागे । यसरी सुरु भएको प्राधिकरणको नाफा यात्रा हालसम्म कायम छ ।
घिसिङ नेतृत्वमा आउनुअघि आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरणको खुद नोक्सानी एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ थियो । आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएर सुरु गरेको प्राधिकरण लय हालसम्म उस्तै छ ।
प्राधिकरणले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ ।
“आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,” घिसिङले बाह्रखरीसँग भने, “एउटा सार्वजनिक संस्थान र लोडसेडिङ हुने संस्थानलाई यहाँसम्म ल्याउँदा धेरैको मन पोलेको होला ।”
घिसिङ नेतृत्वमा आएपछि प्राधिकरणको नाफाको ‘ग्राफ’ बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ४३ करोड, आर्थिक वर्ष २०७/०७६ मा नाफा बढाएर दोहोरो अंक पुर्यायो ।
उक्त वर्ष ११ अर्ब ७५ करोडको नाफा कमाएर इतिहास रचेको थियो । यस्तै २०७७/७८ मा नाफा घटेर ६ अर्ब १० करोडमा झरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ३७ करोड पुग्यो । यस्तै आर्थिक वर्ष २०७९/८० मा नौ अर्ब ४१ करोड र गत आर्थिक वर्षको अपरिस्कृत तथ्यांक अनुसार १३ अर्ब ३१ करोड रुपैयाँ रहेको घिसिङ बताउँछन् ।
प्राधिकरणले हाल कागजी नाफा देखाएको दाबी गर्दै प्रश्न उठाउनेहरू पनि नभएका होइनन् ।
संसद्को सार्वजनिक लेखा समितिमै प्राधिकरणले कागजी नाफा देखाएर कर तिरेको भन्दै एमाले सांसद गोकुल बाँस्कोटाले दह्रैसँग प्रश्न उठाएका थिए ।
त्यस्ता प्रश्नका सन्दर्भमा घिसिङको जवाफ छ, “केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसाब किताबप्रति आशंका व्यक्त गर्ने गरेको देखिन्छ । महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाब कसरी ‘फेक’ हुन्छ ।”
उनी प्रश्न गर्छन, “आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु सुखद् विषय होइन र ? विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पुँजीगत लगानी गरेको छ । नाफा नभएको भए यो कसरी सम्भव भयो ?”
साथै विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको जानकारी पनि घिसिङले दिए ।
“यसबाट प्रष्ट छ संवैधानिक अंग महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन यो त आन्तरिक रुपमा लगानीका लागि एउटा दह्रो स्रोत हो ” उनले भने ।
भारतीय बजारमा विद्युत् बिक्रीको सुरुवात
प्राधिकरणले २०७८ वैशाख १८ मा प्रवेश पाएको थियो । उक्त वर्षपछि प्राधिकरणको नाफामा निरन्तर वृद्धि हुँदै गएको छ । हाल प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड, रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ ।
विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेको छ । निर्यातको मात्रा बढ्दै गएको छ । गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी प्राधिकरणले १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
घिसिङका अनुसार, हाल दैनिक ७०० मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको छ । “वर्षायाम अर्थात् जुनदेखि नोभेम्बरसम्म विद्युत् निर्यात गर्ने हो । त्यसपछि त हामीलाई चाहिन्छ” उनले भने ।
यस्तै सुख्खायाममा नदी सतहमा पानीको बहाव घट्दा गत वर्ष १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात भएको जानकारी घिसिङले दिए । उनका अनुसार, आयात निर्यात ‘ग्राफ’ हेर्दा गत आर्थिक वर्षमा आयातभन्दा करिव १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ ।
“आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट हामी खुद विद्युत् निर्यातकर्ता बनेका छौं,” उनले भने, “नेपालको जलविद्युत् विकासका लागि कोशेढुङ्गो हो ।”
नाफा वृद्धि हुनुमा चुहावट नियन्त्रण पनि प्रमुख रहेको घिसिङ बताउँछन् । प्राधिकरणको तथ्यांक अनुसार ८ वर्ष अघिसम्म प्रणालीमा २५.७८ प्रतिशत विद्युत चुहावट थियो । गत आर्थिक वर्षमा प्रणालीको चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झरेको छ । चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणले यस अवधिमा प्रतिवर्ष करिव १२ अर्व रुपैयाँ थप आम्दानी गरेको छ ।
प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजनाहरू गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको छ भने विगत आठ वर्षमा मात्र २ हजार ३ सय मेगावाट र विगत ३ वर्षमा १७०६ मेगावाट थप भएको छ ।
जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात् २ हजार ९ सय ९१ मेगावाट योगदान जलविद्युत्कै छ । थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र वायोमास ऊर्जाको ६ मेगावाटको योगदान छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी