site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ च्याम्पियनसिप : मैदानको टुंगो अझै लागेन

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरूबीच हुने यू–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ गतेदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि खेल कुन मैदानमा हुने अझै टुंगो लागेको छैन । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले खेल दशरथ रंगशाला वा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने हो भन्ने अझै टुंगो नलागेको बताए । उनले भने, “हामीले दशरथ रंगशालामा प्रतियोगिताका खेल गर्ने तयारी गरेका थियौँ, तर सहिद स्मारक 'ए' डिजिभन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीको खेलमा मैदान बिग्रिएकाले साफ च्याम्पियनसिपको खेल कुन मैदानमा गर्ने टुंगो लागेको छैन ।” 

Argakhachi Cement Island Ad

उक्त खेलमा बिग्रिएको खेलमैदानका कारण चर्को आलोचना भएको थियो । उनले एएफसीबाट दशरथ रंगशाला मैदानको निरीक्षण हुने र भोलिसम्म खेल मैदानको टुंगो लाग्ने बताए । 

प्रवक्ता शाहले प्रतियोगिताको उद्घाटन खेल दशरथ रंगशालामा हुन नसके वैकल्पिक रूपमा रहेको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनसक्ने बताए । प्रतियोगिताको उद्घाटन खेल भदौ २ गते नेपाल र श्रीलंकाबीच हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल भने दशरथ रंगशालामै हुने उनको भनाइ छ ।

भदौ १२ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा बंगलादेश र श्रीलंका छन् ।

त्यसैगरी समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोतिगामा सहभागिता जनाउन माल्दिभ्स आजै नेपाल आइपुगिसकेको छ । त्यसैगरी भुटान, श्रीलंका र भारत भोलि नेपाल आइपुग्नेछन् भने बंगलादेश आगामी भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्