site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा हात्तीको संख्या तेब्बर वृद्धि, हात्तीलाई जंगलभित्रै राख्ने प्रयास
फाइल तस्बिर ।

झापा । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको संख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको संख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनका अनुसार २०७५ सालमा १०–१२ संख्यामा हात्ती रहेकामा हाल उक्त संख्या ३० भन्दा धेरै छ ।

“भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको संख्या बढ्दै गएको छ”, उनले भने, “आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।” गत वर्ष सुक्ष्म रूपमा अध्ययन गर्दा हात्तीको संख्या वृद्धि भएको पाइएको उनको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।

जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको उनको भनाइ छ । “यसअघि कहिलै नपुग्ने ठाउँमा हात्ती पुगिरहेको छ”, उनले भने,  “महिनैपिच्छे फल्नेगरी मकैखेती हुन थालेको छ, यसले गर्दा हात्तीको उपद्रव बढेको छ ।”

हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताए । 

मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उनले जोड दिए । “मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने देखिन्छ”, उनले भने, “हात्ती नियन्त्रणका लागि गुरुयोजना छैन, तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन जरुरी छ ।”

हात्ती समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उनले बताए । 

हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेको पनि जिल्लामा परम्परागत हात्तीको संख्या वृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले बताए । 

हात्तीलाई जंगलभित्रै राख्ने प्रयास
हात्तीलाई वनजंगलभित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् ।

जिल्लाका विभिन्न वन परिसरमा गत वर्षमात्रै जंगलमा आठवटा हात्ती आहाल निर्माण गरिएको छ । वनक्षेत्रमा हात्तीले मन पराउने नौ हजार ९६९ वटा बाँस र छ हजार हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । वनमा केराका बिरुवासमेत रोपिएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६७/६८ देखि आव २०८०/८१ सम्म ६७ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । २१ हात्ती मरेका छन् । मृत्यु भएका मानिसमध्ये सातजना गैरनेपाली छन् । सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका परम्परागत हात्तीमध्ये १० को नामकरण गरिएको छ । जिल्लामा रहेका हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रङ्गे गज नामकरण गरिएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro