site stats
बाह्रखरी :: Baahrakhari
खेल
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सुरु
फाइल तस्बिर ।

चितवन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेको छ ।

महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढुंगाको सोलिङको काम धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौं पठाइएको छ । उनले भने, “निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन् ।”

Argakhachi Cement Island Ad

यसैबीच, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई अनुरोध गर्दै नगरपालिकाका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेकी छन् । साथै उनले कुनै समस्या भएमा तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । निर्माणमा सहजीकरणका गर्न महानगरपालिकाले निर्माणस्थलमा कार्यालय स्थापना गरिने उनले बताइन् । 

महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार १० हजार दर्शक बस्नमिल्ने प्यारापिटसहित मैदान तयार गरिने छ । रंगशाला निर्माणको लागत ७५ करोड ५० लाख ९१ हजार १८९ छ । विसं २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । 

चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् । वाग्मती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले पाँच हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ । त्यसका लागि २८६ वटा पिलर खडा भइसकेका छन्  । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गा रंगशालाले चर्चेको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्