site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधुरै रह्यो संसार हेर्ने प्रकाशको रहर 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वि.सं. २०४५ साल भदौ ५ गते भूकम्प गयो । उदयपुरको मुर्कुर्चीलाई केन्द्र बनाएर गएको  ६.७ म्याग्निच्युडको भूकम्पले देशभर ७५० जनाको ज्यान लियो । हजारौं अंगभङ्ग भए ।  दैवको लीला भनौं अथवा भाग्यको खेल ? भूकम्पसँगै कोसी नदीमा आएको बाढी सुनसरीको प्रकाशपुरमा पस्यो । 

बाढीले प्रकाश (तिमिलसिना)का आमा बुबा रहजुरबुबा तीनैजनाको ज्यान लियो । एकवर्षे प्रकाशलाई बाढीले आफैँसँग लिएर गयो । 

प्रकाशका दिन सायद सकिएका थिएनन् । उनलाई बचाउनु थियो । भगवान् माझीको भेषमा प्रकट भए । माझीले माछा पार्न फ्याँकेको जालमा प्रकाश परे ।  माछा पार्न फ्याँकेको जालमा अबोध शिशु परेपछि माझीले साथी र यात्रुहरूसँग पैसा उठाएर कोसी अञ्चल अस्पताल पुर्‍याए । उपचार गराए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जालमा बच्चा परेको खबर भुसको आगो झैँ फैलियो । कोसी अञ्चल अस्पतालमा नै उपचाररत हजुरआमाले प्रकाशलाई आफ्नो नाती भएको पहिचान् गरिन् । 

ज्यान त बच्यो । तर प्रकाशले दुवै आँखाको ज्योति गुमाए । 

Royal Enfield Island Ad

“हुन त मलाई थाहा छैन । म देख्थेँ या देख्दिन थिएँ । किनकी एक वर्षको थिएँ,” प्रकाश अरुले सुनाएको आफ्नो विगत खोतल्दै भनेका थिए, “हजुरआमाले भने अनुसार म आँखा देख्न सक्थेँ । जुन दिन बाढीले मलाई बगायो । त्यसपछि म देख्न नसक्ने भएको हुँ रे !”

एउटा उखानसँग जोडिएको जिन्दगीको क्रुर नियति सुनाउँदै प्रकाशले भनेका थिए, “लोभले लाभ लाभले विलाप भन्ने एउटा उखान छ । त्यही उखानसँग मेरो परिवारको कहानी मिल्छ । मेरो बुबाआमा भएको घरखेत बेचेर ऐलानी जग्गामा बस्नु भएको थियो रे ! ऐलानी जग्गाको लोभ नगर्नूभएको भए सायद हाम्रो परिवारले बाढीको त्यो नियति भोग्नु पर्नेथिएन ।” 

उनले आफू जन्मिनु अगाडिको कुरा सुनाएका थिए । गुमेको परिवार र गुमेको आफ्नो दृष्टिको प्रसंग सुनाएका थिए । 

रहेनन् गायक प्रकाश तिमिलसिना

जिन्दगीले उज्यालोको अनुभूत गर्न नपाउँदै प्रकाशको जीवनबाट आँखाको दृष्टिले बिदा लियो ।  प्रकाशले उज्यालोको बयान सुन्न मात्रै पाए । कल्पनाको रंगीन संसार अनुमान लगाउन मात्रै पाए । 

हजुरआमाले प्रकाशलाई आफूसँगै राखेर पालनपोषण गरिन् । अरुको घरमा काम गरेर आफू र प्रकाशको जिजीविषा धानिन् । 

० ० ०

प्रकाशलाई तीनवर्ष हुँदादेखिको आफ्नो जीवन वृतान्त सम्झनामा रह्यो । संयोग भनौं या आश्चर्य ! प्रकाशले भनेका थिए, उनलाई जिन्दगीको पहिलो स्मरण क्यासेट प्लेयर छामेको छ । 

“हजुरआमाले मलाई एकजना लाहुरेको बिहेमा लैजानु भएको थियो । त्यो बिहेमा गीत बजिरहेको थियो । र, त्यही क्यासेट प्लेयर छामेको याद छ मलाई । त्यहाँभन्दा अगाडिको स्मरण छैन,” प्रकाशले एक दिन आफ्नो वृतान्त सुनाउने क्रममा भनेका थिए,  “यसले खान्छ, करेन्ट लाग्छ छुनु हुँदैन भन्थे । तर यस्तो राम्रो सुनिन्छ भने यसले कसरी खान्छ ? मैले प्रश्न गरेको थिएँ ।”
 
गीतको मेलोडीप्रति उनको लत बस्यो । विस्तारै गीत नसुनी भात खानै मन नलाग्ने भएको थियो उनलाई । गीत हो वा के त्यो  उनलाई थाहा थिएन । त्यसैले उनलाई क्यासेटले जस्तै भन त भनेर अरुले भन्थे । प्रकाशले क्यासेटलेजस्तै गाइदिन्थे । 

यसरी गीत गाउन लगाउनेहरूले चकलेट बिस्कुट दिन्थे । गाए चकलेट बिस्कुट खान पाइनेरहेछ भनेर उनी झन् गाउन थाले । चकलेट विस्कुटले उनमा हौसला थपिदयो ।
 
६ वर्षको उमेरमा हो, प्रकाशले गीत रिलमा रेकर्ड गरिँदोरछ र त्यो बज्दोरहेछ भनेर थाहा पाएको । 

के बन्ने भाइ भनेर कसैले सोधे उनी रिलमा गीत भर्ने मान्छे बन्छु भन्न थालेका थिए । गीत गाउन लगाएर कसैले ५ रुपैयाँ दिन्थे भने कसैले १० रुपैयाँ । गीत गाएपछि पैसा पाइन्छ भन्ने थाहा पाएपछि उनले एउटा गीत गाएको ५ रुपैयाँ रेट नै तोकिदिए । दिनमा २÷३ सय रुपैयाँ हुन थालेपछि उनकी हजुरआमाले पनि काम गर्नै पर्न छोड्यो । प्रकाशले गीत गाएर कमाएको पैसाले नै हजुरआमा र नातीलाई पुग्न थाल्यो । 

९ वर्ष पुगेपछि प्रकाशले थाहा पाए गीत त क्यासेटले होइन मान्छेले गाउने रहेछ भन्ने । यसपछिको बेग्लै किस्सा छ प्रकाशसँग । त्यो पनि सुनाएका थिए, प्रकाशले । रेडियोमा बसेर गीत गाउने मान्छे कस्ता हुन्छन् भन्ने उनलाई कौतुहल भयो । आफ्नो घरमा त रेडियो थिएन । छिमेकमा लिम्बूहरूको घर थियो । उनीहरूका घरमा रेडियो थियो । बालवय, उमेरै त्यस्तै । 

“रेडियो फुटाएर गीत गाउने मान्छे भेट्न खोज्दा म लिम्बूनी दिदीहरूको फेला परेँ,” प्रकाशले नोस्टाल्जिक हुँदै करिब सात वर्ष अगाडिएको एक भेटमा भनेका थिए, “लिम्बूनी दिदीहरूले सिर्कनुले सुम्लो बस्नेगरी हिर्काएको कहिल्यै बिर्सिन सकिनँ । मान्छे खोज्न रेडियो फुटाएको तार र चुम्बकबाहेक केही भेटिएन ।”

मान्छेले गीत गाउँदा रहेछन् भन्ने थाहा पाए पछि म पनि गीत गाउने मान्छे बन्छु उनले उद्देश्य लिए । बन्ने कसरी ? थाहा थिएन । बाटो देखाउने गुरु थिएनन् । तर उनलाई रहर लाग्यो । सपना देख्नु नै त के थियो र ? थिएन । देख्न थाले । रुमानी कल्पनामा रम्न थाले । 
 
० ० ०

धनकुटाबाट नास्पाती बेच्न धरान आउनेहरूले प्रकाशलाई देखेका थिए । मायाले नास्पाती दिन्थे उनलाई । धनकुटाको  सिधुवाँमा दृष्टिविहीनहरूलाई पढाउने स्कुल खुलेछ । नास्पाती बेच्न धनकुटाबाट धरान हुँदै विराटनगर झर्ने तीनै दाइहरूले आँखा नदेख्ने एकजना बालक मोरङको लेटाङमा पनि छ भनेपछि उनलाई खोज्दै नेमधारी मण्डल लेटाङ आइपुगे । 

उनैले प्रकाशलाई पढ्नुपर्छ भन्दै लेटाङबाट धनकुटाको सिधुवा लगे । प्रकाशले त्यहाँ ५ कक्षासम्म पढे । कक्षा १ देखि ५ सम्म पढ्दा उनी सधैँ प्रथम भए । 

त्यो बेला उनी स्कुलमा गीत गाउँथे रे ! रामकृष्ण ढकालका गीत उनलाई खुब मनपथ्र्यो रे ! ‘ओराली लागेको...,’ ‘हिरा काट्ने हिरैमा राखेर...’ उनी सबैभन्दा धेरै गाउँथे ।
 
नारायणगोपालका गीत भने उनलाई काठमाडौं नआउँदासम्म थाहा थिएन । 

“धरानमा हिन्दी गीत बज्थे । त्यहाँ बज्ने हिन्दी गीत मलाई सबै आउँथ्यो । रामकृष्ण ढकालका गीत पनि आउँथ्यो । गाउथेँ । एकदिन एकजनाले मलाई भक्तराज आचार्यको मुटु जलिरहेछ... गाऊ, दुई सय रुपैयाँ दिन्छु भन्नुभयो । मैले भक्तराज आचार्यको नाम पनि सुनेको थिइनँ । गीतको त कुरै भएन,” प्रकाशले  गरिबी र अभावले कतिसम्म मान्छेलाई दिलचस्पी रहेकै विषयबाट पनि टाढा धलेल्छ भन्ने सानो उदाहरण सुनाएका थिए, “दुई सय रुपैयाँ दिने भनेपछि साथीहरूसँग भनेर गीत सुनेर भक्तराज आचार्यको मुटु जलिरहेछ... भोलिपल्टै गाएँ । दुई सय रुपैयाँ लिएँ ।” 

यसोभन्दा उनको अनुहार अलिकति भए पनि उज्यालिएको थियो । 

कक्षा ३ मा पढ्दा जोवाना स्टुवर्ड बेलायती नागरिकसँग उनको भेट भयो । उनले अंग्रेजी पढाउने प्रबन्ध मिलाएदिएकी थिइन् । ती जोवानाले प्रकाशलाई काठमाडौं ल्याब्रोटोरी स्कुलमा पढ्ने व्यवस्था मिलाइदिइन् । 

कक्षा ४ मा बल्ल एबीसीडी पढ्न थालेका प्रकाशलाई ल्याब्रोटरी स्कुलमा अंग्रेजी माध्यमबाट पढ्नु पर्नेभयो । 

‘तोरीका फूल’ देखे उनले । पढाई छोड्दिऊँ कि जस्तो लाग्यो । कुखुरा बनाएर दण्ड दिन्थे शिक्षकले । उनले एक कक्षाको अंग्रेजी पुस्तक खोजेर पढ्न थाले । 

उनी राति अबेरसम्म बसेर ‘भ्वाइस अफ अमेरिका’को ‘हेलो अमेरिका’ भन्ने कार्यक्रम सुन्न थाले । 

जसले अंग्रेजी बोल्न सिकाउँछ । अरुलाई रेडियो राख्न र सुन्न स्कुलले दिँदैन थियो । तर, प्रकाश रेडियो राख्न पाउने र सुन्न पाउने सर्तमा ल्याब्रोटरी स्कुल भर्ना भएका थिए ।

उनलाई अंग्रेजी सिक्नु थियो । बीबीसी र सीआरईले सिकाउने अंग्रेजी भाषाको कार्यक्रम पनि नछुटाई सुन्न थाले ।  प्रकाशलाई जोवानालाई आफूलाई अंग्रेजी पढ्न गाह्रो भएको बताए ।  उनले विलियम रोवर्ट नामक शिक्षक नै राखिदिइन् प्रकाशका लागि । प्रकाश आफैँले आफैँलाई प्रश्न गर्थे अनि जवाफ पनि उनी आफैँ दिन्थे अंग्रेजीमै । 

भाषा बुझ्दै गए । लेख्न र पढ्न पनि अब्बल हुँदै गए । सुरुमा अंग्रेजी नजानेको देखेर साथीहरू हाँस्थे ।  कक्षा ८ मा पुग्दा प्रकाश अंग्रेजीमा यसरी तेज भइसकेका थिए, कि स्कुल नै टप गरिदिए । 

अनुशासनमा स्कुल कडा थियो । एकातिर होमवर्क गर्नुपथ्र्यो अर्कातिर म्युजिकप्रति प्रकाशको भोक ।  उनी संगीतको साधना गर्दा होमर्वक छुट्थ्यो । टिचरले सोध्थे ।  प्रकाश भन्थे, ‘सर एउटा गीत प्राक्टिस गरेको होमर्वक गर्न भ्याइनँ । बरु सुन्नुस् न भन्दै गीत गाएर सुनाउँथे । पनिस्मेन्ट पाउनबाट जोगिन्थेँ ।’

कक्षा ८ मा पढ्दा नेपाल टेलिभिजनमा ‘व्राइटर तिम्रो स्वर मेरो गीत’ नामक प्रतियोगिता सुरु भयो । प्रकाशलाई त्यो प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास थियो । दुर्भाग्य त्यो कार्यक्रम टप–१२ मा पुगेपछि बन्द भयो । 
“प्रतिस्पर्धा नै जित्छु भन्ने लाग्न थालेको थियो, शो नै बन्द भएपछि बबुल टुथपेस्ट मै चित्त बुझाएँ,” प्रकाशले त्यो भेटमा दुःख सुनाएका थिए । 
 
कक्षा १० मा पढ्दा ‘डिजेवल स्टार’ कार्यक्रम आयोजना भयो । त्यसमा प्रकाश दोस्रो भए । एउटा गीत रेकर्ड गर्ने अवसर पाए ।  गीत रेकर्ड पनि गरे (विसं.२०६२) । तर, प्रकाश आफैँलाई गीत मन परेन । उनले त्यो गीत रेडियोलाई बजाउन नै दिएनन् । 

०६९ मा एसएसली पास गरे । सगरमाथा मल्टिपल कलेज पढ्न थाले । बिहानको कक्षा थियो ।  दिनभर समय कसरी कटाउने भन्ने तनाव हुन्थ्यो । त्यही समय ‘साउथ एसियन स्टार नेपाल’ नामक सिङगिङ रियालिटी शो इमेज च्यानलले आयोजना गर्नेभयो । प्रकाशले आवेदन दिए ।
 
चार हजारले अडिसन दिएको उक्त शोमा प्रकाशले जगदिश समालको ‘जव दिन ढल्दै गयो...’ गाए । सुरुमै क्लासिकल गाएर राम्रो प्रभाव पार्ने उनको योजना थियो । नभन्दै निर्णायक राजु सिंह, विजय मुनाल र ऋमा गुरुङ प्रभावित भए, उनको गायनबाट । 

प्रकाश टप–५० मा पुगे । त्यहाँ उनले जगदिशकै ‘अलिअलिभन्दा भन्दै धेरै पिउने भइसकेछु...’ गाए । टप–२० मा रामकृष्ण ढकालको मेरो खुकुरीको नौलो कथा...’ गाइदिए ।  प्रकाशले गाएको सुनेर रामकृष्ण ढकाल ‘मैलेभन्दा यो गीत राम्रो गाउने को आएछ भनेर प्रकाशलाई भेट्नै आए । पछि ‘ढकाल सुमधुर साँझ–३’मा प्रकाशले सहकार्य गर्ने अवसर पाए । 

टप–१० मा ‘१९७४ एडी’को ‘जसो गर जे भन जता सुकै...’ गाए । त्यो गीतले प्रकाश रक गीत पनि गाउनसक्ने प्रतिभा हुन् भन्ने पुष्टि गरिदियो । प्रकाशले ‘साउथ एसियन स्टार नेपाल’ नै जितिदिए । 

० ० ०

नेपालबाट भारतको कोलकता गए । त्यहाँ उनले वेष्ट इङलिस प्रोनाउनसेसन टाइटल जिते ।  कलकतामा उनले केही अनुभव संगाल्ने अवसर पनि पाए । जुन नेपाल बाहिरको पहिलो नौलो अनुभव थियो उनका लागि । तर त्यहाँ उनले राम्रोभन्दा पनि नराम्रो अनुभन धेरै संगाले । 

“त्यो शोको विनर म हुन्थेँ । तर त्यहाँ केही सर्तहरू राखिए, जसका कारण म विनर हुन सकिन,” उनी तीतो विगत सुनाएका थिए । 
 
कस्तो सर्त ?

“अमुल सापकोटा, आसुसेन लामा र म थियौँ नेपालका तर्फबाट । हामीलाई त्यहाँ सुरुमै हेपियो । अंग्रेजी नआउने होला, हिन्दी कि नेपाली बोल्नुपर्छ होला हैन भनियो । मैले मलाई हिन्दी आउँदैन कि अंग्रेजी कि नेपाली बोल्नुपर्छ भनेँ,” प्रकाशले भनेका थिए, “मैले एमएलटीआरको एक्ट्रस भन्ने गीत गाएपछि त्यहाँको प्रोडुसर श्रुतीले नेपालीहरू कि रिक्सा चलाउने कि ढोकामा बस्ने मात्रै हुन्छन् भनेको इङलिस बोल्ने पनि हुँदारछन् भनेपछि मलाई झन रिस उठ्यो । मैले तपाईंको अनएजुकेटेड नेपालीसँग मात्रै संगत रहेछ । एजुकेटेड नेपालीसँग संगत गर्ने भए काठमाडौं आउनस् भनिदिएँ ।” 

त्यसपछि उनीहरू प्रकाशसँग झनै रिसाए । उनले लगातार अंग्रेजी गीत मात्रै गाए । उनले हिन्दी गीत पनि गाउँछु भनेर चारवटा हिन्दीका ट्रयाक पनि लिएर गएका थिए । तर उनले अंग्रेजी मात्रै गाए । 

प्रकाशले पछि आफैँले केही अनुभूत गरेको सुनाएका थिए, “देशप्रेमको भाव यति धेरै थियो कि अहिले सम्झँदा लाग्छ उग्र राष्ट्रबाद थियो ममा त्यो समय । युनिभर्सल सोनी बीएमजीको चारवटा एल्बम रद्ध गरेर म नेपाल फर्किएँ ।”

प्रकाशले भेटमा यो पनि सुनाएका थिए, “मलाई छुट्टै राखेर भने, हिन्दी गीत गाऊ र आइएम वोर्न इन कलकला भन फ्ल्याट र गाडीको चावी तेरै हो भनेर लोभ देखाए । म नेपालकै हुँ, नेपाली नागरिक नै हुँ । म यसो गर्न सक्तिनँ भनेपछि उनीहरूले मलाई फोर्थ बनाइदिए ।”

तीनचोटी स्ट्यान्डिङअवेसन पाएका प्रकाश चौथो हुँदा तीनपटक डेन्जर जोनमा पुगेका बंगलादेशका सुभो प्रथम भएका थिए । प्रकाशका अनुसार उनले भनेका थिए, ‘आइएम वोर्न इन कलकोता ।’

प्रकाशको गायन प्रतिभा चुलिँदै गयो । म्युजिक कम्पनीहरू उनलाई लगानी गर्न तयार भए । ०६५ मा पहिलोपटक ‘दिब्य दृष्टि’ एल्बम निष्कियो उनको । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले सितलनिवासमै विमोचन गरेको एल्बम थियो त्यो । तर त्यो एल्बममा समावेश गीत खासै चलेनन् । 

०६६ मा आफूले कम्पोज गरेको गीत रेकर्ड गर्दा कस्तो हुँदोरहेछ भनेर रिवेल क्रिएसनमा पुगेका थिए । त्यहाँ राजनराज शिवाकोटीसँग उनको भेट भयो । उनले आफूसँग एउटा गीत रहेको भन्दै गाउने हो भनेर सोधे । ढुङ्गा खोज्दा देउता पाए झैं भयो प्रकाशलाई । 

गीत रेकर्ड भयो । त्यही गीत त हो, ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ...।’ गीत रातारात हिट् भयो । प्रकाशको जिन्दगीले यू–र्टन लियो । यही गीतबाट उनले अन्नपूर्ण र कालिका एफएमको बेष्ट न्यूआर्टिस्ट अवार्ड जिते । 

रिवेलले फेरि प्रकाशमाथि लगानी गर्यो । ०६७ मा ‘प्रकाश’ नामक एल्बम आयो । यो एल्बमका ‘तिम्रै हातको सिन्दुर लाउँछु...’, ‘हृदयभित्र...’, ‘कतिञ्जेल बस्नु सहेर पीडा...’ लगायत गीत लोकपिय भए । ०६८ मा ‘श्रद्धाञ्जली’ नामक एल्बम निष्कियो रिवेलकै लगानीमा । नातीकाजी, शिवशंकर र गोपाल योञ्जनको सम्मानमा उनीहरूको कम्पोजिसनमा उदितनारायण झाले गाएका गीत रिमेक गरिएको थियो, त्यो एल्बममा । 

जसको ‘तिमीलाई देखेर...’ र ‘बल्लबल्ल भेटभको दिन...’ हिट भयो । रिवेलकै लगानीमा ‘प्रकाश–२’ एल्बम आयो । यसको ‘खली...’ बोलको गीत सुपरहिट भयो ।  त्यसपछि उनले थुप्रै गीत गाए । स्टेज कार्यक्रममा प्रस्तुति दिए । 

० ० ०
सुरुमा गीत गाउने रहर थियो प्रकाशलाई, कालान्तरमा त्यो रहर पूरा भयो । अंग्रेजी बोल्ने धोको थियो, त्यो पनि पूरा भयो । 

त्यसपछि उनले देखेको सपाना थियो, अमेरिका जाने । उनले भनेका थिए, त्यहाँ बस्न होइन । ‘अमेरिका गट ट्यालेन्ट’मा प्रतिस्पर्धा गर्न । त्यहाँ अंग्रेजी गीत गाउने योजना थियो उनको । ‘इफ टुमरो...’, र ‘नो प्रमिसेस..’ सुरुमा गाउने उनको योजना थियो । 

गीत गाउन सक्ने प्रकाशमा प्रतिभा थियो । शोमा अब्बल प्रस्तुति दिने आत्मविश्वास पनि थियो । तर केवल उनलाई अभाव थियो त केवल पैसाको । गट ट्यालेन्टका लागि आर्थिक सहयोगको खोजस्मा थिए उनी । 

उनले भनेका थिए, ‘म बाह्रखरीका पाठकमार्फत सबैलाई भन्छु, म मेरो इमेल आइडी उचबपबकजतद्दघछ२नmबष्।िअयm मा अथवा मेरो फेसबुकमार्फत मसँग सम्पर्कमा आएर मलाई सहयोग गर्न सक्नुहुन्छ । यो अपिल विश्वभर रहेका सबै नेपालीसामु गर्न चहान्छु ।’

“गट ट्यालेन्टमा मैले हेर्दाहेर्दै फिलिपिनीले २० मिलियन यूएस डलर लिएर गए,” प्रकाशले हाँस्दै सुनाएका थिए, “मलाई त टेन्सन नै भयो नि ! उसले जितेर त्यति ठूलो अमाउन्ट लग्यो भनेर होइन त्यति धेरै पैसा भए त एकातिर मेरो गुमेको दृष्टि फर्काउनका लागि उपचार खर्चको जोहो हुनेथियो । अर्कातिर मेरो पहिचान पनि विस्तार हुने थियो । २० मिलियन नै मैले ल्याउन नसके पनि अडिसन मात्रै पार गरे पनि त्यो मेरा लागि हलिउडमा एउटा खुट्किलो हुनेछ । किनकि अमेरिकामा नेपालमा जस्तो ब्लाइन्ड भएकै आधारमा विभेदको शिकार हुनु पर्दैन ।”

सन् २०१८ को मेमा कार्यक्रम सुरु हुँदै थियो । प्रकाशले अप्रिलसम्म पुगिसक्नुपर्ने थियो । त्यसका लागि करिब तीन लाख रुपैयाँ प्रकाशलाई सहयोगको खाँचो थियो । त्यही सहयोगका लागि उनले आह्वान गरेका थिए । 
 
प्रकाशलाई रंगीन संसार हेर्ने रहर थियो । पैसा भयो भने त्यो सम्भव पनि थियो । डाक्टरले उनको आँखाको उपचार सम्भव रहेको बताएका थिए । तर अड्काएको थियो उपचार खर्चले ।  टोकियो युनिभर्सिटीमा र पुसान हस्पिटल कोरियामा पनि प्रकाशले आफ्नो आँखा चेक गराएका थिए । 

नेपालमा पनि देखाएका थिए । उनीहरूले प्रकाशको आँखा र मस्तिष्कको कनेक्सन टुटेको बताएका थिए । जुन नयाँ आँखा फेरर जोड्नुपर्छ ।  उनले सुनाए अनुसार यो उपचार अष्ट्रियाबाहेक अन्य देशमा सम्भव थिएन । उनकै शब्दमा भियानास्थित मिसनाइज हस्पिटलले मात्रै प्रकाशलाई संसार देखाउन सक्थ्यो । 

“मेरोजस्तो ६ वटा केस मिसनाइज हस्पिटलले सल्टाएको छ रे !, यसका लागि हस्पिटलको फि मात्रै ५० लाख रुपैयाँ लाग्छ भनेको छ । यसका लागि कलेक्सन गर्नका लागि हो म गट ट्यालेन्टमा जान लागेको,” अनामनगरको एक स्टुडियोमा आफ्ना योजना सुनाउँदा प्रकाशको मुहारमा संसार देख्ने आशामा खुसीका लाभा दोडिएको प्रष्टै देखिन्थ्यो ।

अर्को सपना सबैभन्दा धेरै भाषामा गीत गाएर गिनिज बुकमा रेकर्ड लेखाउने धोको थियो ।  प्रकाश २० भाषामा स्पेनिसले राखेको रेकर्ड २१ भाषामा गाएर तोड्ने सपना साँचेर बसेका थिए ।  सन् २०१८ सम्म प्रकाश आठवटा भाषामा गीत गाउन सक्थे ।  

अहिले नेपालीसँगै चाइनिज, थाई, अंग्रेजी, हिन्दी, वंगाली, फ्रेन्च भाषामा गीत गाउने उनी जर्मनी, आइस्ल्यान्डिकलगायत युरोपकै विभिन्न देशका भाषामा गीत गाउने सोच रहेको सुनाउथे । 

उनलाई सहयोग जुटेन । गट ट्यालेन्टमा जाने उनको रहर पूरा भएन । 

गट ट्यालेन्टमा जाने रहर पूरा नहुनु भनेको संसार हेर्ने उनको चाहनामा बादल लाग्नु थियो, जुन उनको आँखामा एक वर्षको छँदै डम्म लागिसकेको थियो । आँखामा लागेको बादललाई उनले उघार्न सकेनन् । 

त्यसपछि प्रकाश पंक्तिकारसँग सम्पर्कमा रहिरहे । कुनै गीत रकेर्ड भएर भिडियो बने उनी फेसबुक म्यासेन्जरमा लिंक पठाउँथे । र भन्थे, सुनेर प्रतिकृया पाउँ है सर । 

म गीत सुन्थेँ । छोटो न्युज बनाउँथे । अन्तिम पटक सन् २०२३ को डिसेम्बर ७ को बिहान साढे १० बजे उनले म्यासेन्जरमा फोन गरे । 

आफू अमेरिका जाने तयारीमा रहेको र त्यसका लागि डकुमेन्ट बलियो बनाउन समाचारको कटिङ चाहिएको बताउँदै भने, “... मैले एउटा बलियो फिलोसफी भएको गीत रेकर्ड गरेको छु, त्यसको समाचार बनाएर प्रकाशन गरिदिनुपर्‍यो ।”

मैले भनेँ, “भिडियोको लिंक मलाई इनबक्स गर्न मिल्छ ?” 

उनले उताबाट भने, “भिडियो त बनिसकेको छैन सर, रेकर्ड मात्रै भएको हो । अर्को सातासम्म भिडियो बन्छ, अहिलेलाई रेकर्ड भयो भनेर मात्रै समाचार बनाइदिनुपर्‍यो ।” 

बोलचाल भइरहने व्यक्ति । नख्खुमा रहेको उनको कोठामै पुगेको थिएँ । त्यहाँबाट उनलाई स्कुटरमा राखेर जावलाखेलको बुद्ध एयरको अफिसमा पुर्‍याएको थिएँ । 

उनी बारामा स्टेज कार्यक्रममा जाने तयारीमा थिए । त्यसैका लागि उनी टिकटका लागि त्यहाँ पसेका थिए ।  त्यहाँबाट अनामनगरको स्टुडियोमा छोडर म पुनः थापाथलिस्थित बाह्रखरीको कार्यालय फर्किएको थिएँ । 
फोनमा कुरा भइरहन्थ्यो । उनले सहयोग मागे । गीत रेकर्ड भएको समाचार बनाउने/प्रकाशन गर्ने सामान्यतया सञ्चारमाध्यममा अभ्यास हुँदैन । त्यसैले म विलखबन्धमा परेँ । 

“...त्यसैले म सकेसम्म प्रयास गर्छु, सर । तर हुन्छ नै भन्न सक्तिनँ,” मैले उनलाई भनेँ । 

सायद उनले मेरो बाध्यतालाई बुझे, त्यसपछि त्यसका लागि फेरि आग्रह गरेनन् । 

उनै प्रकाशलाई अचानक शनिबार अबेर राति केही संगीतकर्मीले पत्याउनै नसकिने दुखद् घटना भन्दै तस्बिर राखेर श्रद्धान्जली लेख्न थाले । पंक्तिकारले अमेरिकन गट ट्यालेन्टमा गएर शो जित्ने र त्यही पैसाले आँखाको गुमेको ज्योति फर्काएर रंगीन संसार हेर्न प्रकाशको चाहना अधुरो रहेको झल्झल्ती आँखामा आइरह्यो । 

(प्रकाशसँग ६ वर्ष अगाडि गरेको कुराकानीका आधारमा तयार पारिएको सामग्री ।)  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro