site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गौना, गाँती, विखण्डित प्रवाह र स्वस्थ बालबालिका 

गाँती
(संस्मरण : ध्रुवचन्द्र गौतम)
नेपाली साहित्यमा आविष्कारी आख्यानकारका रूपमा परिचित छन् डा. ध्रुवचन्द्र गौतम । निरन्तर सात दशकदेखि साहित्य लेखनमा समर्पित शब्दशिल्पी गौतमको उपन्यास होस् अथवा कथा, नाटक होस् वा संस्मरण अथवा फुटकर अखबारी लेखन नै किन नहोस्, अधिकांश पाठकका लागि खोजीको साहित्यिक खुराक हुन्छ, त्यो । यसअर्थमा डा. गौतम धेरै पढिने सर्जक हुन् । ८० को उमेर छिचोलिसक्दा पनि साहित्यकार गौतमको कलम कागजमा दगुरेको दगुरै छ । 

उनै अग्रज स्रष्टाको संस्मरणकृति हालै पाठकमाझ आएको छ, ‘गाँती’ । जसलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको छ । उहिले उहिले जाडो बढ्नासाथ केटाकेटीलाई चिसोबाट बचाउन गाँती बाध्ने चलन थियो । अचेल गाँती बाँध्ने चलन हराएको छ । तर, डा. गौतमको संस्मरणात्मक कृति गाँतीको शीर्षकले नै उनका पाठकलाई मिठो न्यानो अनुभव गराएको हुनुपर्छ । 

‘गाँती’को ब्लर्बमा प्रकाशन संस्थाले लेखेको छ, ‘ध्रुवचन्द्र गौतमको यो कृति ‘गाँती’ संस्मरणात्मक हो जसमा आफ्नो बाल्यकालीन स्मृति र विशेषतः आमासँग जोडिएका सहृदयताका अनेक रोचक प्रसङ्गहरू उल्लेख छन् । मधेसको वीरगन्ज र आसपासमा निकै चलनचल्तीमा रहेको ‘गाँती’ आजको बदलिँदो समयमा त्यति देख्न छाडिएको छ ।’

Dabur Nepal

पाँच दर्जन बढी साहित्यिक कृतिहरूका सर्जक डा. गौतमको ‘गाँती’ले उनको स्मृतिभित्र मात्रै पुर्‍याउने नभएर पाठकलाई तत्कालीन समयको बारेमा पनि जानकारी दिनेछ ।

कृतिभित्र एउटा प्रसंगमा उल्लेख छ, ‘हाम्रो गुरुको स्कुलमा पनि बिहीबार छुट्टी नै हुन्थ्यो । पढ्न पर्दैन थियो । बिहान स्कुल जानुपर्दथ्यो । बिफैया पूजा हुन्थ्यो । म जुरुक्क उठेर आँखा मिच्दै पुग्थेँ । मुख पनि धोयो जसोतसो, हतारमा, अनि कुद्यो ।...’ (पृष्ठ — १०७)

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित २६४ पृष्ठको यस संस्मरणात्मक कृतिको मूल्य ५९५/– रुपैयाँ राखिएको छ ।

०००

विखण्डित प्रवाह
(कथासंग्रह : नवराज रिजाल)
साहित्यमा क्रियाशील नवराज रिजाल मूलतः कथाकार हुन् । उनको सक्रियता साहित्यिक पत्रकारितामा पनि रहेको छ । उनी मासिक रूपमा साहित्यिक पत्रिकाको प्रकाशन गर्छन्, ‘नवप्रज्ञापन’ ।

उनै रिजालको केही समयअघि बजारमा आएको कथाकृतिको दोस्रो संस्करण हो ‘विखण्डित प्रवाह’ । १७ वर्षपछि रिजालले यसको दोस्रो संस्करण ल्याएका हुन् । 

लेखकीयमा कथाकार रिजाल लेख्छन्, ‘...मेरो प्रेरणाको मूल स्रोत अरू कोही नभएर म नै हो । हो, उसैको निर्देशमा म लेख्ने जमर्को गरिरहेको छु । यहाँभित्र केवल मेरा मनका कुरा छन् ।...’

कृतिभित्र भूमिकामा साहित्यकार गोपाल अश्कले लेखेका छन्, ‘२०३९ सालदेखि आख्यानसाहित्यमा निरन्तर क्रियाशील र गतिशील रहँदै आएका रिजालको पहिचान एक सशक्त सामाजिक यथार्थवाद कथाकारका रूपमा रहेको छ । यिनले आफ्ना कथामा प्रस्तुत परिस्थितिबाट सिर्जना भएका विसङ्गतपूर्ण क्षण र अनुभूतिहरूलाई देखाउने काम गरेका छन् ।...’

प्रकाशकीयमा केशवप्रसाद पराजुली लेख्छन्, ‘प्रस्तुत संग्रहमा १८ थान कथा छन् । अधिक कथाहरूमा तराईको सन्दर्भ र प्रसंग जोडिएर आएको छ । यो आञ्चलिक साहित्यको विशेषता नै हो ।...’

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १६८ पृष्ठको यस कृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

गौना
(उपन्यास : माधव प्याकुरेल)
पछिल्लो समय तराई मधेसको कथावस्तुलाई समेटेर प्रकाशनमा आएको सामाजिक उपन्यास हो— ‘गौना’ । यस उपन्यासका सर्जक हुन् माधव प्याकुरेल । यसअघि उनको एउटा अर्को उपन्यास ‘गुलरको फूल’ बजारमा आइसकेको छ ।

उपन्यासकार प्याकुरेल आफ्नो लेखकीयमा लेख्छन्, ‘२०७२ सालमा प्रकाशन भएको गुलरको फूलको दोस्रो भाग भने पनि हुन्छ । यो उपन्यास अवरजन (सबाल्टर्न)को यथार्थ वृत्तान्त हो । अवरजन भनेको समाजको सबैभन्दा तल्लो तप्का अर्थात् सर्वसाधारण मानिस हुन् । गरिब, दलित, उत्पीडित, कमजोर राज्यले नचिनेका यस्ता अनेक विशेषताले चिनिने भुइँमान्छेको यो वर्ग सदैव शासित, शोषित र शोककुल रहन्छ । यो उपन्यासमा सम्पूर्ण पात्र नै अवरजन भएकाले रचनाभरि तिनकै सकसपूर्ण संसार र जीवनलाई सकार गरिएको छ ।’

कृतिको ब्लर्बमा साहित्यकार दुर्गाप्रसाद श्रेष्ठले लेखेका छन्, ‘गौना तराई  प्रदेशको सुगन्धले र समस्यामा केन्द्रित भएको उपन्यास हो । यो उपन्यास हृदयस्पर्शी घटनाबाट उत्पन्न संवेदनाले परिपूर्ण छ ।...’

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित २४६ पृष्ठको यस उपन्यासको मूल्य ५५०/– रुपैयाँ राखिएको छ ।

०००

स्वस्थ बालबालिका 
(स्वास्थ्य आलेख : डा. सुमनराज ताम्राकार)
साहित्य लेखनमा निरन्तर सक्रिय रहँदै आएका चिकित्सक डा. सुमनराज ताम्राकार पेसागत विषयको लेखनमा पनि उत्तिकै सक्रिय छन् । उनको त्यही सक्रियताको नतिजाले पुस्तकाकार स्वरूप लिएर आएको छ ‘स्वस्थ बालबालिका’ ।

मेरो भनाइमा लेखक ताम्राकार लेख्छन् : ‘...यस पुस्तकमा शिशुको जन्मदेखि १५ वर्षसम्मका बालबालिकाको स्वास्थ्य समस्यालाई सचित्र एवं संक्षिप्त तवरमा वर्णन गरिएको छ । यस पुस्तकको स्वअध्ययनबाट नै बालबालिकालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने मेसो मिल्छ । त्यसैगरी बालबालिकालाई लाग्न सक्ने विभिन्न खाले स्वास्थ्य समस्या समयमै पहिचान गरी घरमै गर्न सकिने उपचार विधि र कति बेला चाहिँ कुन चिकित्सककहाँ जँचाउन लाने भन्ने जानकारी पनि मिल्छ ।’

आम सरोकारको विषयमा लेखिएको यो महत्त्वपूर्ण पुस्तकमा नवजात शिशुको हेरचाहदेखि दाँत, खोप, खानपान, बालबालिकामा देखिने रोगहरूबारे ८१ वटा शीर्षकमा सानासाना चित्रांकित आलेख प्रस्तुत छन् ।

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित २०४ पृष्ठको यस पुस्तकको मूल्य ३९५/– रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro