site stats
बाह्रखरी :: Baahrakhari
देश
हेलिकोप्टर दुर्घटना : ‘एन्टीमोटम’ विधिबाट शव परीक्षण
दुर्घटनास्थलको दृश्य ।

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाका शव पहिचान गर्न केही दिन लाग्ने भएको छ । मृतक चिनियाँ नागरिकको ‘एन्टीमोटम’ विधिबाट परीक्षणका निम्ति विवरण संकलन गर्नुपर्ने भएकाले केही दिन लाग्ने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का फेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार, जलेर पाँचै शव चिन्न नसकिने अवस्थामा छन् । एन्टीमोटम परीक्षणका निम्ति परिवारले नमुना तथा विवरण उपलब्ध गराएपश्चात् ‘म्याचिङ’ थालिनेछ ।

“पाइलटका परिवारले विवरण उपलब्ध गराइसक्नुभएको छ, आज चिनियाँ नागरिकहरूको पनि विवरण संकलन गर्छौँ । भोलिदेखि मात्रै म्याचिङको कम हुन्छ । परिवारलाई बुझाउन अझै केही दिन लाग्छ,” उनले बाह्रखरीसित भने ।

शवको ‘पोस्टमार्टम’बाट मृत्युको कारण मात्र पत्ता लगाउन सकिन्छ । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको प्रस्ट कारण देखिएकाले यसमा एन्टीमोटम विधिबाट विभागले पहिचान प्रक्रिया अघि बढाएको उनले बताए ।

एन्टीमोटम विधिमा मृतकको औँठाछाप, दाँतको मेडिकल रिपोर्ट र अरू शारीरिक विवरणका आधारमा शव पहिचान गरिन्छ । यसरी सम्भव नभएमा डीएनए परीक्षणमार्फत पहिचान गर्नुपर्ने हुन्छ ।

बुधवार दिउँसो काठमाडौंबाट रसुवाका निम्ति उडेको एयर डाइनेस्टीको ९एन–एजेडी हेलिकोप्टर सूर्यचौरमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्