छिमेकी बङ्गलादेशमा बबन्डर भइरहन्छ - कहिले प्राकृतिक कहिले राजनीतिक ! यसपटक राजनीतिक बबन्डर मच्चिएको छ । विद्यार्थी आन्दोलनका कारण सोमवार प्रधानमन्त्री शेख हसिना वाजेद अन्ततः पदमात्र होइन देशै छाडेर भाग्न विवश भइन् ।
केही सातादेखि बङ्गलादेशमा विद्यार्थीहरूले ‘आरक्षण’का विरुद्ध आन्दोलन गरिरहेका थिए । शेख हसिनाको सरकार भने विद्यार्थीसँग संवाद गर्नुको साटो आन्दोलनको दमनमा लाग्यो । परिणामस्वरूप, प्रधानमन्त्रीले नै देशबाट भाग्नु पर्यो ।
बङ्गलादेशको राजनीति कता लाग्ला भनेर अनुमान गर्नु हतार हुन्छ । त्यहाँ नागरिक शासकलाई हटाएर विगतमा धेरैपटक सेनाले शासन हातमा लिएको थियो । यसपटक पनि सेना अगाडि सरिसकेको छ ।
रक्तरञ्जित हुनेगरेका थिए पहिलेका सत्तापलट । बंगबन्धु कहलिएका मुक्तिसंग्रामका नायक तथा प्रथम राष्ट्रपति शेख मुजिवकै सन् १९७५ मा सपरिवार हत्या गरिएको थियो । बंगबन्धुकी छोरी हसिना भाग्यले बाँचेकी थिइन् ।
यसपटकको आन्दोलनको सम्भवतः सही आकलन गर्न सकिनन् शेख हसिना वाजेदले । उनले ठानेको हुनुपर्छ – अस्तित्वको सङ्कटमा परेको विपक्षबाट उनको शासनलाई कुनै खतरा छैन । यसैले उनलाई कसैले रोक्न सक्तैनन् ।
हुन पनि शेख हसिनाको कार्यकालमा बङ्गलादेशले दक्षिण एसियाका अरू मुलुकले भन्दा धेरै आर्थिक सामाजिक विकास गरेको छ । प्रतिव्यक्ति आयमात्र होइन नागरिकको क्रयशक्तिका साथै बङ्गलादेशको अन्तर्राष्ट्रिय प्रभाव पनि बढेको देखिन्छ ।
यस्तै आवधिक निर्वाचनबाट पनि आवामी लिगले कानुनी वैधता हासिल गरेको थियो । प्रधानमन्त्री शेख हसिना वाजेदले बेलैमा आवामी लिगकै कसैलाई सत्ता हस्तान्तरण गरेकी भए सम्भवतः उनले देशै छाडेर भाग्नुपर्ने पनि थिएन ।
एकछत्र राज गर्ने चाहनामा उनले बङ्लादेशमा लोकतन्त्रको आवरणमा एकदलीय अधिनायकवादी शासन चलाइन् । विपक्षविहीन निर्वाचनबाट पाएको बहुमतलाई निषेधको अस्त्र बनाइन् । सायद, यसैको परिणामस्वरूप उनले यसरी भाग्नु परेको हो ।
विद्यार्थी आन्दोलन आरक्षण खारेजीको मागमा भए पनि मूलतः हैकमवादी शासनको विरुद्धमा थियो । समयको पदचाप सुन्न चाहेको भए सम्भवतः बङ्गलादेशमा लोकतान्त्रिक सुधारहरू सुरु गरिन्थ्यो । आन्दोलनकारीसँग संवाद सुरु हुन्थ्यो ।
यसपटक नयाँ पुस्ताले सत्ता होइन भविष्यको खोजीमा विद्रोह गरेको थियो । तर, यसलाई पनि उनले विपक्षी राजनीतिक दलहरूले विगतमा गर्नेगरेका आन्दोलनहरूजस्तै ठानिन् । फलस्वरूप, बङ्गलादेश राजनीतिक सङ्कटमा पर्यो ।
बङ्गलादेशको यस बबन्डरको बाच्छिटा छिमेकतिर पनि आइपुग्न सक्छ । नयाँ पुस्ताको आकांक्षा र आवाज पुराना राजनीतिक नेताहरूले नबुझ्ने प्रवृत्ति दक्षिण एसियामा शासनप्रति जनअसन्तोष बढ्दै जो गएको छ ।
बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा मुक्तिवाहिनीका योद्धाहरूको ठूलो योगदान रहेको थियो । स्वतन्त्रतापछि उनीहरूको सम्मानमा राज्यले सरकारी सेवा र सुविधामा आरक्षण सुरु गर्यो । त्यही आरक्षण अहिलेको असन्तोषको झिल्को बन्न पुग्यो ।
राजनीतिक योगदानको मूल्य राज्यबाट असुल गर्ने मानसिकता दक्षिण एसियाको साझा रोग हो । नेपाल, बङ्गलादेशलगायत अधिकांश मुलुकमा राजनीतिक योगदानको मूल्य असुल गर्ने अनेकौँ उपायहरू अपनाइएको देखिएको छ ।
राजनीतिक सङ्घर्ष देखे भोगेर हुर्केको पुस्ताले त्यसलाई सहजरूपमा ग्रहण गरे पनि नयाँ पुस्ता राजनीतिक योगदानको साउँब्याज तिर्न तयार देखिँदैन । मुक्तिवाहिनीका सन्तानलाई आरक्षण दिने सरकारी निर्णयविरुद्धको विद्रोह यसैको उदाहरण हो ।
कुनै बेला राजनीतिक सङ्घर्षमा सामेल भएबापत आजीवन राज्यबाट विशेष सुविधा खोज्ने र दिनेहरूले बङ्गलादेशको बबन्डरबाट सिक्नु र आत्मालोचना गर्नु उचित हुनेछ । चुनावमा पाएको बहुमत वा कुनै कानुनले पनि नागरिकको प्राकृतिक अधिकार खोस्ने अनुमति दिँदैन भन्ने हेक्का रहोस् !