अचेल राजनीतिक जुलुसहरूमा उहिलेजस्तो ‘यसपालिको हैजा फलानालाई लैजा’ भन्ने नारा सुनिन छाडेको छ । राजनीतिक नेता कार्यकर्ता बढी शिष्ट र सभ्य भएकाले भन्दा पनि हैजा भनिने सरुवा रोगको प्रकोप साम्य भएकाले त्यस्तो नारा लाग्न छाडेको भान परेको थियो । हैजा हराएको होइन रहेछ ।
यस वर्ष भने काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा गरी २७ जनालाई हैजा लागेको सरकारी अभिलेखबाटै पुष्टि भएको छ । सम्भवतः यो सङ्ख्या अझै बढी छ । कारण, हैजा लागेका सबै स्वास्थ्य संस्थामै नपुगेको हुने सम्भावना पनि देखिन्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएअनुसार ललितपुरमा दुई साताअघि हैजा देखिएको थियो । हिजो आइतवार प्युठानमा दुई जनामा हैजा देखिएको छ । हैजा मूलतः प्रदूषित पानी र खानाबाट सर्ने हुनाले बेलैमा सावधानी नअपनाए यसले महामारीको रूप लिन सक्छ ।
खानेपानीको स्रोत प्रदूषित भएर हैजा फैलने जोखिम सबैभन्दा धेरै हुन्छ । अर्थात् नेपालजस्तो ढल निकास तथा सरसफाइको व्यवस्था राम्रो नभएको र स्वच्छ खानेपानीको पनि अभाव भएको अनि व्यक्तिगत सरसफाइमा ध्यान नदिइने समाजमा हैजाले महामारीकै रूप लिनसक्छ ।
काठमाडौंमा खानेपानीको पाइपमा ढलको फोहोर मिसिएकाले हैजाको सङ्क्रमण भएको हुनसक्ने मानिएको छ । खोलाबाट ल्याएर खानेपानी वितरण गरिने ठाउँहरूमा खोलामा दिसा गरिँदा पनि हैजाका कीटाणु फैलन सक्छन् । यस्तै, फोहोर पानीमा पाइने माछा, घुँगी, गँगटाआदिबाट पनि हैजा सर्न सक्छ ।
हैजा मान्छेबाट सोझै मान्छेमा सर्ने घटना बिरलै हुने हुनाले मूलतः व्यक्तिगत र सामूहिक सरसफाइमा बढी ध्यान दिइएमा सङ्क्रमणबाट जोगिन सकिन्छ । तर, औसत नेपालीको वैयक्तिक सरसफाइप्रतिको हेलचेक्य्राइँ गर्ने बानीका कारण हैजा नियन्त्रण निकै जटिल हुनसक्छ ।
यसैले हैजाबाट ठूलो क्षति हुन नदिन यसको सङ्क्रमण नियन्त्रण, जनचेतना जागरण तथा तत्काल उपचारको बहुपक्षीय अवधारणा अपनाइनु आवश्यक देखिन्छ । नेपालजस्तो मुलुकमा हैजाले महामारीको रूप लिने जोखिम बढी भएकाले यसलाई स्वास्थ्य सङ्कटका रूपमा सम्बोधन गरिनुपर्छ ।
विशेषगरी खानेपानीलाई प्रदूषित हुन नदिन पानी वितरण प्रणालीमा ध्यान दिएर शुद्धीकरणका उपायहरू युद्धस्तरमा अपनाइनु आवश्यक छ । यस्तै, ढल निकासको व्यवस्था भएका ठाउँमा खानेपानीमा ढल मिसिन नदिन सावधानी अपनाउनु जरुरी हुन्छ । क्लोरिन हाल्ने, उमालेर खानेजस्ता पानी स्वच्छ बनाउने अपनाउन सके पनि सङ्क्रमण रोक्न सहयोग पुग्छ ।
धेरै नेपालीले खाना हातैले खाने गर्छन् । खाना खानुअघि हातको फोहोर पूरै सफा गर्न भने धेरैले अल्छी गरेको देखिन्छ । खाना खानुअघि साबुन पानीले राम्ररी हात धोएमात्र पनि हैजालगायत धेरै सङ्क्रामक कीटाणुबाट जोगिन सकिन्छ । यस क्रममा खुला दिसा नगर्नेलगायत व्यक्तिगत सफाइ चेतना फैलाउन पनि ध्यान दिनुपर्छ ।
हैजाको सङ्क्रमण सुरु भइसकेकाले यसलाई सामान्यरूपमा नलिई निगरानी र जाँचको विशेष व्यवस्था गर्न ढिलो नहोस् । सङ्क्रमणको जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि खोप अभियान चलाउने, उपचार शिविर सञ्चालन गर्ने र विशेष उपचार टोली खटाउने काममा पनि ढिलो गरिनु हुँदैन ।
यस क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहलाई पनि परिचालन गर्न अग्रसरता देखाओस् । एक्काइसौं शताब्दीमा पनि हैजाको महामारी फैलियो र मान्छेको ज्यान गयो भने राज्य असफल ठहरिनेछ । त्यसो हुन नदिऊँ । भनिदिऊँ - यसपालिको हैजा कसैलाई नलैजा !