site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेचन झाको ‘गोप्य गिरफ्तारी’ले प्रहरीभित्र सल्किएको ‘भुसको आगो’ 

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने धन्दाको पर्दाफास २०७९ चैतमै भएको हो । उक्त प्रकरणमा पूर्वगृहमन्त्रीदेखि सरकारका सचिवसमेत गरी १९ जना उति बेलै पक्राउ परेका थिए । 

तर, भुटानी शरणार्थी प्रकरण त्यतिमै रोकिएन, तरंग निरन्तर छ । अझै शरणार्थी धन्दाका केही आरोपीहरू पक्राउ भएका छैनन् । उक्त प्रकरणमा थप आरोपी पक्राउ परेको खण्डमा पुनः अनुसन्धान गर्ने गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय हुँदै मुद्दा अदालत पुग्यो ।

यतिखेर भुटानी शरणार्थी प्रकरणका दुई आरोपी पक्राउ पर्दा फेरि तरंग ल्याएको छ ।  त्यति बेला जिल्ला अदालतले पक्राउ परेकी एक महिलाबाहेक अन्य सबैलाई पुर्पक्षका लागि जेल पठाउने आदेश गर्‍यो ।

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सन्देश शर्मा र मोरङका केशव दुलालसहित १९ जना थिए ।

गएको मंसिरमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, हरिभक्त महर्जन र रामशरण केसीलाई भने धरौटीमा छाड्ने आदेश गरेको थियो ।

टोपबहादुर रायमाझी, सचिव पाण्डेसहित सन्देश शर्मा र मोरङका केशव दुलालसहितका ११ आरोपी अझै थुनामै छन् । सुरुआती अनुसन्धानकै बेला फरार आरोपी पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र अर्का आरोपी बेचन झा पक्राउ परेपछि त्यसको पुनः तरंग सिर्जना भएको छ ।

थापा र झा संयोगवश एकै समय पक्राउ परेका हुन् । गत असार १५ मा पक्राउ परेका थापालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । झामाथि काठमाडौं प्रहरीले थुनामा राखी थप अनुसन्धान जारी राखेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार, झामाथि प्रहरीले लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान जारी राखेको छ ।

यद्यपि, प्रहरीको बयानमा झाले भुटानी शरणार्थी प्रकरणबारे आफूलाई कुनै जानकारी नभएको प्रतीक्रियाबाहेक अन्य बयान दिन मानिरहेका छैनन् । एक महिनायता उनी कहिले स्वास्थ्य अवस्था त कहिले अन्य बाहनाबाजी बनाएर प्रहरीको बयानबाट पन्छिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

कहाँ लुकेका थिए झा ?

बेचन झा लाई सुरुआती चरणको अनुसन्धानमै फरार प्रतिवादी बनाएर मुद्दा टुङ्ग्याउन सक्थ्यो । तर, उनलाई पक्राउ नगरी फरार प्रतिवादी बनाउँदा भुटानी शरणार्थीको अनुसन्धान अधुरो हुनसक्ने र राजनीतिक ‘कनेक्सन’ जोगिने आकलन प्रहरीले गर्‍यो ।

त्यसपछि प्रहरीले बेचन झाको तीनपुस्ते विवरण नखुलेको हुँदा, खुलेको बखत पुनः पक्राउ गरेर अनुसन्धान गर्ने कानुनी बाटो प्रहरीले कायमै राखेको थियो ।

झा र प्रतीक थापा सँगै पक्राउ परेका थिए । जिल्ला अदालतले थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ भने झाका हकमा प्रहरी थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको हो ।

पर्साको वीरगञ्ज महानगरपलिका–७ का झा पछिल्लो समय काठमाडौं–३२ मा बस्थे ।  तर, भुटानी प्रकरणमा अनुसन्धान सुरु भएसँगै उनी एकाएक गायब भए । उनमा आफू पनि पक्राउ पर्ने भय थियो ।

अनुसन्धानका खटिएका प्रहरीका अनुसार, उनी त्यही बेला काठमाडौं र पर्सा दुवै ठाउँ छाडी भारतको दिल्ली पुगे । प्रहरीले उनी दिल्ली पुगेको सबै सूचना प्राप्त गरिसकेको थियो । दिल्लीबाट पक्राउ गर्न समेत खोजियो । तर, त्यति बेला भारतीय प्रहरीको असहयोगका कारण उनी पक्राउ पर्न सकेनन् ।

उनी भारतमा बसेको खुले पनि पक्राउ गर्न नसकिएको भुटानी शरणार्थीको अनुसन्धान हुँदाका बखतका गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वीकार गरेका थिए । 

उनले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘‘बेचनको लोकेसन त्यहीबेला पत्ता लागेको थियो । तर, सहयोग नहुँदा हामीले पक्राउ गर्न सकेनौँ ।’’

झा दिल्लीस्थित आफ्नै छोरीको फ्ल्याटमा बस्दै आएका थिए । झाले अनामनगर घरमै विभंशु ब्रदर्स प्रालि चलाएका छन् । नेपालका अधिकांश हाइड्रोपावरको प्राविधिक ठेक्काको काम झाले गर्ने गरेका छन् ।

कसरी पक्राउ परे झा ?

करिब दुई वर्षसम्म फरार झा असार १५ मा पक्राउ परेका हुन् । तर, उनलाई प्रहरीको कुन कार्यालय वा युनिटले पक्राउ गर्‍यो, त्यो अझै खुलेको छैन ।  प्रहरी उच्च स्रोतका अनुसार, झालाई प्रहरीको विशेष ब्युरोको टोलीले पक्राउ गरेको हो ।

यद्यपि, प्रहरी महानिरीक्षकको सिधा निर्देशनमा चल्ने विशेष ब्युरोले प्रहरी महानिरीक्षकलाई झा पक्राउको रिपोर्टिङ नगरेको खुलेको छ ।विशेष ब्युरोको टिमबाहेक अन्य टोलीले झालाई पक्राउ गरेको आशंका गरिएको छ ।

प्रहरी उच्च स्रोतले भन्यो, “झा पक्राउ विशेष ब्युरोको अग्रसरतामा गरिए पनि विशेष ब्युरोमा कार्यरत प्रहरी कर्मचारीबाहेकको न्युनिटबाट खटाएर दिल्ली प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो ।”

पश्चिम नाकाबाट काठमााडौं ल्याइएका झालाई काठमाडौंसम्म पनि गोप्य रूपमा ल्याइएको खुलेको छ । काठमाडौं प्रहरीले १६ असारमा जारी गरेको विज्ञप्तिमा झालाई पक्राउ गरी पसिरसरको कार्यालयमा ल्याइएको उल्लेख छ । 

कुन ठाउँबाट पक्राउ गरिएको समेत उल्लेख गरिएको छैन । झा पक्राउबारे परिसरको टोली आफैँ गुमराहमा रहेको स्पष्ट देखाउँछ । उसो त, झा पक्राउको विषयले प्रहरी अधिकारीबीचको आन्तरिक विवाद समेत सतहमा ल्याइदिएको छ । 

झा पक्राउ पर्दा महानिरीक्षक (आईजीपी) प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको कार्यक्रममा भाग लिन अमेरिका पुगेका थिए । गत असार ११ मा आईजीपी बसन्तबहादुर कुँवरसहितको टोली अमेरिका उडेका थिए ।

उनी असार १८ मा मात्रै नेपाल फर्किएका हुन् । आईजीपी कुँवरको अनुपस्थितिमा निमित्त आईजीपीको भूमिकामा उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापा थिए ।

झा पक्राउले ल्याएको तरंग

झा पक्राउ पर्दा सरकारको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । प्रचण्ड नेतृत्वको मन्त्रिपरिष्दको गृहमन्त्रीमा थिए, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

तर, झा पक्राउ परेको दुई दिनपछि सत्ता समीकरण फेरबदलतिर गयो ।  संयोग कस्तो रह्यो भने कांग्रेस सभापति देउवा पत्नी आरजु राणा झा पक्राउ परेकै दिन असार १५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । 

त्यही भेटमा ओलीलाई प्रधानमन्त्रीको ‘अफर’ गरेर फर्किएपछि समीकरण बदलियो । प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन एमालेले फिर्ता लियो । असार २८ मा प्रचण्डले संसदमा विश्वसको मत नपाएपछि सरकार ढल्यो ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले त त्यही दिन सरकार ढल्नुको मुख्यकारण बेचन झा पक्राउ पर्नु नै भएको दाबी संसदमै गरे ।  गृहमन्त्री लामिछानेबाहेक माओवादी नेताहरूलेसमेत झा पक्राउ पर्दा आफूहरूमाथि पनि अनुसन्धान सोझिने डरले सत्ता समीकरण गरिएको दाबी गर्दै आएका छन् ।

शरणार्थी प्रकरणको अनुसन्धानको दायरामा आएका झासँग आरजु राणासहित केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नाम जोड्दै मुछिएको थियो । सत्ता समीकरण परिवर्तनपछि भने हाल प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा बनेका छन् । गृहमन्त्रीमा कांगे्रस नेता रमेश लेखक आएका छन् ।

कोपभाजनमा डीआईजी केसी

झा पक्राउ प्रकरणले प्रहरी संयन्त्रभित्र आन्तरिक षड्यन्त्रका घटना बाहिर आएका छन् ।  झा पक्राउ लगत्तै प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरिएको छ ।

डीआईजी केसीलाई दुई महिना पनि नपुग्दै प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज पठाइयो । 

उनको ठाउँमा अर्का डीआईजी राजन अधिकारीलाई लगियो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट जेठ १३ मा डीआईजीमा बढुवा भएका चारजनामध्ये केसीले विशेष ब्युरोको जिम्मा पाएका थिए ।

तर, प्रहरी नियमावलीविपरीत एक वर्षको कार्यकाल पूरा गर्न नपाउँदै उनी त्यहाँबाट हटाइएका हुन् । उनको सरुवालाई लिएर देशको चौथो ठूलो राजनीति दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमै विषय प्रवेश गराएको छ । 

उक्त पार्टीका सांसद हरि ढकालले साउन १३ मा प्रतिनिधिसभामा प्रश्न गरेका थिए, ‘‘अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई किन, केका लागि के उद्देश्य लिएर सरूवा गरियो ?’’ 

गृहमन्त्री र सरकार ‘कारण’ मागेका थिए । ढकालको बोलीले पनि केसीलाई लामिछाने ‘प्रयोग गरेको’ आशंका गर्ने ठाउँ दिएको छ । केही दिनअघि राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखकले डीआईजी केसीको सरुवाबारे स्पष्टीकरण दिनुपरेको थियो ।

मन्त्री लेखकले भनेका थिए, ‘‘उनी अब्बल प्रहरी अधिकारी हुन् । विशेष ब्युरोभन्दा अन्य प्रहरी अधिकारीलाई पनि अब्बल बनाउन प्रशिक्षण प्रतिष्ठान पठाइएको हो । उनको ठाउँमा फेरि डीआईजीलाई नै ल्याइएको छ । यो नियमित प्रक्रिया नै हो ।’’

शरणार्थी प्रकरणको सुरुआती अनुसन्धानमा केसी नै संलग्न थिए । यतिखेर झा लाई रिपोर्टिङबेगर पक्राउ गरेको आरोपपछि सरुवा गरिएको केही प्रहरी अधिकारी नै बताउँछन् ।

२०७९ पुसमा एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेका केसीले तीन महिनापछि २०७९ चैतदेखि नक्कली शरणार्थी प्रकरणमा जोडिएका आरोपीहरूलाई धमाधम पक्राउ गरेका थिए ।

त्यही प्रतिशोध साँध्न उनको सरुवा गरिएको टिप्पणी केही प्रहरी अधिकारी नै गर्छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत उनी ६ महिनामै सरुवा गरिएका थिए ।

झाको गोप्य गिरफ्तारीको रहस्य

केही प्रहरी अधिकारीले भने बेचन झाको गोप्य पक्राउको अन्र्तय भुटानी प्रकरणमा नाम जोडिएका केही शीर्ष तहकै नेता र प्रहरीकै अधिकारीविरुद्धको गम्भीर षड्यन्त्रलाई लिएका छन् । झालाई ‘चेन अफ कमाण्ड’ बाहिर गएर पक्राउ गरिएको उच्च प्रहरी अधिकारीले नै दाबी गरेका छन् । 

प्रहरीका अनुसार, झालाई असार १५ मा नेपाल भित्र्याइएको थियो । उनी असार १३ गते नै दिल्लीमा पक्राउ परेका थिए ।  पक्राउ गर्न दिल्ली पुगेको टोलीले झामाथि भारतमै राखेर बयान समेत लिए । तर, झालाई गोप्य रूपमा काठमाडौं ल्याइयो । झा नेपाल ल्याउँदासम्म निमित्त आईजीपी थापा र अमेरिकामै रहेका आईजीपी कुँवर दुवैलाई कुनै प्रहरी अधिकारीले रिपोर्टिङ गरेका थिएनन् ।

बरु झा पक्राउ गरिएको रिपोर्ट गृहमन्त्रीलाई गरिएको थियो । त्यतिबेला उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने थिए । झाको पक्राउबारे चासो राख्दै त्यसको जानकारीका लागि प्रधानमन्त्री दाहालले निमित्त आईजीपी थापालाई बालुवाटार डाकेका थिए । 

तर, थापाले झा पक्राउबारे सामान्य जानकारीबाहेक थप कुनै पनि रिपोर्ट मातहतका प्रहरी अधिकारीबाट प्राप्त नभएको र कुन न्युनिटले कसरी पक्राउ गरेको समेत जानकारी नभएको जवाफ दिँदै फर्किए ।

एक उच्च प्रहरी अधिकारीले त दाबीसहित बाह्रखरीलाई भने, ‘‘झालाई विशेष ब्युरोको कोर्डिनेसनमै नेपाल ल्याइएको हो । तर, आईजीपीलाई नै जानकारी नगराउनुको उद्देश्य चाहिँ खतरानाक छ ।’’

ती अधिकारीले थपे, ‘‘झालाई नेपाल ल्याउँदा बाटोमासमेत दबाब दिँदै आरजु राणा र आईजीपी कुुँवरविरुद्ध बयानमा बोल्न लगाउँदै दुवैलाई पक्राउ पुर्जी जारी गर्ने योजना थियो ।’’ तर, त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । 

त्यो योजनाको मुख्य योजनाकार तत्कालीन सरकार र गृह मन्त्रालय रहेको ती प्रहरी अधिकारीको दाबी छ । लामिछानेले आफूमाथि लागेको सहकारीको आरोप निस्तेज पार्न झालाई हतियारको रूपमा प्रयोग गर्ने कोसिस गरेको प्रहरी अधिकारी नै बताउँछन् ।

आईजीपी कुँवरलाई त्यही बयानकाण्डमा पार्दै हटाउने र आफ्नो योजनामा साथ दिने प्रहरी अधिकारीलाई आईजीपी बनाउने तयारीमा समेत उनी थिए ।  उक्त योजनामा प्रहरीका पूर्वउच्चअधिकारीहरू संलग्न रहेको आशंका पनि गरिएको छ । उनीहरूकै योजनापछि झालाई गोप्य रूपमा नेपाल ल्याइएको हो ।  त्यो 'ग्याङ'का सम्बन्धमा प्रहरी संयन्त्रले पनि अनुसन्धानको राडारभित्र राखेको जनाएको छ । 

उनीहरूले हालका आईजीपीलाई हटाएर सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई बनाउन केही समयदेखि नै लागेको केही प्रहरी अधिकारीले बताउँदै आएका छन् ।

एआईजी ज्ञवालीमाथि छानबिनको तरबार

बेचन झा पक्राउलगत्तै विशेष ब्युरोको नेतृत्वबाट डीआईजी मनोज केसीलाई हटाएको गृह मन्त्रायले एआईजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनाइएको छ ।

उनीहरू दुवैजना भुटानी शरणार्थी प्रकरणको सुरवाती अनुसन्धान अधिकारी हुन् ।  उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा केसीले नक्कली भुटानी प्रकरणका आरोपीलाई पक्राउ गर्न थालेका थिए ।

त्यति बेला ज्ञवाली उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख थिए । उनकै निर्देशनमा केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका आरोपीमाथि ‘एक्सन’ लिएका थिए ।

त्यति बेला पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ गर्दा पनि आईजीपी कुँवरलाई जानकारी नदिएको खुलेको थियो । झा पक्राउमा त्यही नीति अख्तियार गरिएको देखिन्छ । तर, ज्ञवालीविरुद्ध अरू नै शीर्षकमा उजुरी आएको उल्लेख गरी छानबिन समिति बनाएको प्रहरी प्रधान कार्यालयको दाबी छ ।

एआईजी ज्ञवालीमाथि अधिकांश उजुरी गृह मन्त्रालय र राज्य व्यवस्था तथा सुशासन समितिमार्फत परेको खुलेको छ । समितिका सभापति रामहरि खतिवडाका अनुसार, ज्ञवालीमाथि आर्थिक प्रभावमा परेर काम गरेकोदेखि अमेरिकी ग्रीनकार्ड तथा नागरिकतासम्बन्धी उजुरी परेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro