काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेनिसतर्फ नोभाक जोकोभिचले स्वर्णपदक जितेका छन् । आइतबार भएको फाइनलमा सर्बियन स्टार जोकोभिचले स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै स्वर्ण जितेका हुन् ।
३७ वर्षीय जोकोभिचले पेरिसमा खाचाखच दर्शकमाझ यो वर्षको फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन अल्कारेजलाई ७–७ (७–३) र ७–६ (७–२) ले पराजित गरे । टेनिसमा सबैखाले प्रतियोगिता गरी कुल २४ उपाधि जितेका जोकोभिचको ओलम्पिक स्वर्ण भने यो पहिलो हो ।
जितपछि अल्कारेजलाई अँगालो हालेका जोकोभिच त्यसपछि भावुक बन्दै कोर्टको बीचमा घुँडा टेकेर अडिएका थिए ।
योसँगै जोकोभिच एकलतर्फ सबै ग्रान्डस्लामसहित ओलम्पिकमा स्वर्ण जित्ने पाँचौँ खेलाडी बने । जोकोभिचअघि राफेल नाडाल, सेरेना विलियम्स, आन्द्रे अगासी र स्टेफी ग्राफले सबै उपाधि जितेका थिए ।
“यो जित्ने मेरो चाहना र इच्छाहरू सबैलाई यस जितले उछिनेको छ । कोर्टमा सर्बियन झन्डा, सर्बियन राष्ट्रिय गान र घाँटीमा स्वर्णपदक हुनु, मलाई लाग्दैन यो भावनालाई कुनै पनि कुराले जित्न सक्छ,” जितपछि जोकोभिचले भने ।