सर्लाही । बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलंगवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलंगवा नगरपालिका–१२ स्थित नहरमा आइतबार ज२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् ।
उपचारका निम्ति उनीहरूलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५ का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षीया छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११ वर्षीया छोरी अंशुकुमारी छन् । तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै टयाक्टर चालक चक्रघट्ट गाउँपालिका–८, औरहीका ३० वर्षीय रामबालक राय फरार छन् । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कंदै गरेका यात्री दुर्घटनामा परेका हुन् । रासस