विराटनगर । खुला चौरमा बडेमानका बर–पिपल र निमका गाछी छन् । त्यसकै मुन्तिर विराटनगरको उखरमाउलो गर्मी छल्न कोही मानिस ढल्किएका छन् । कोही मस्त निद्रामा छन् । गफिँदै चिसो ‘आईसक्रिम’ को स्वादमा रमाइरहेका विद्यार्थी उत्तिकै छन् । गाछी फेदमा केहीबेर सुस्ताउने र आ–आफ्नो गन्तब्य लागिरहेका बटुवा प्रशस्तै देखिन्छन् ।
अलि पूर्वतिरको ठूलो पिपलकै आडमा टाँसिएको मन्दिरमा दुई महिला पूजा गर्न व्यस्त छन् । नजिकै भिमसेनको मन्दिर छ । त्यसकै परिसरमा सिमेन्टका मुड्का बिछ्याउन ज्यामी काम गरिरहेका छन् ।
पुरानो ढलान उप्काएर त्यहाँ नयाँ बनाउने काम शुरु भएको छ । तर मन्दिर बन्द छ । नजिकैको नारायण र हनुमान मन्दिरका ढोका पनि खुलेका छैनन् । तर, धूप र अगरबत्तीबाट उठेको धुवाँको सुगन्ध महसुस गर्न सकिन्छ ।
निरन्तर चलिरहेको बटुवा र सवारी साधनको ओहोर–दोहोरबीच बिहीबार दिउँसो विराटनगर महानगरपालिका–१० स्थित संसारी माई मन्दिर परिसरको पुग्दा रुखको छायाँले केही शितल महसुस हुन्थ्यो ।
उत्तरपट्टीको भागमा मानिसको चहलपहल देखिन्थ्यो । छेवैमा टाँसिएको भानु मोरङ मेमोरियल विद्यालय खुलेको देखिएन । संसारी माई परिसरमा हार मिलाएर अशोकका बिरुवा रोपिएका छन् । तिनलाई इँटाले अड्याइएको छ ।
सन्सारी माई परिसरको ठीक दक्षिणपट्टी टाउको पोल्ने घामले होला कमैमात्र मानिस छन् ।
एउटा ठेलामा पुच्का बेच्न बसेका व्यापारीकहाँ एकाध मात्र ग्राहक पुगेको देखिन्छ । नजिकै मोटरसाइकल–गाडी पार्किङमा राख्ने र लैजाने मानिसको चहल पहल छ । त्यहीँ नजिकै एउटा सालिक मुन्तिर बटुवा निदाइरहेका छन् ।
केही पूर्वपट्टी एउटा ढल्न लागेको टिनको छाप्रो छ । त्यहाँ सिकुवामा दुई जना माग्ने सुस्ताएका छन् । एक जना मस्त निद्रामा छन् ।
ढल्नै लागेको त्यो संरचनाको टिनको छानो बाँधिएको इँटाले अड्याएको छ । उत्तरपट्टी एउटा निजी कलेजको विज्ञापन पोतिएको छ । दक्षिणतिर मिचाहा झार र बुट्याउनले संरचना ओगटेको छ ।
यो संरचना विराटनगरमा गीत–संगीत र कलाको जग बसालेको भानु मोरङ सांस्कृतिक समिति भानुकला केन्द्रको हो ।
यहाँको जग्गा विवादका कारण विराटनगरमा कलाको जग बसाल्ने एउटा संरचना निर्जन र निस्काम बन्न पुगेको छ । पहिले गीत संगीत प्रशिक्षण हुँदा आवाज बाध्य वादनको आवाज निल सदन रोडसम्म सुनिन्थ्यो । अब त्यस्तो केही चहलपहल छैन ।
कसरी खुल्यो सांस्कृतिक समिति ?
साविक विराटनगर–१३ हाल विराटनगर–१० मा अवस्थित भानु मोरङ सांस्कृतिक समिति र संसारी माईस्थानबीच लामो समयदेखि जग्गा विवाद चलिरहेको छ । यो विवादका कारण कला र संस्कृतिको बिजारोपण भएको स्थान नै उजाड बन्ने खतरा देखिएको छ । कतिपय संरचना भत्काइएको छ । केही पुरानो भएर लथालिङ्ग छन् ।
समिति र मन्दिरको सिमानालाई पूर्व–पश्चिम सडकले छुट्याएको छ । यो विवाद कानुनी लडाइँमा पुगेर हाल सर्वोच्चमा विचाराधीन छ ।
नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवर्धन गर्ने मनसायले २०१९ सालमा कला अनुरागी चर्तुभुज आशावादीले भानु मोरङ सांस्कृतिक समिति स्थापना गरेका थिए ।
२०२८ सालमा संस्था दर्ता भयो । त्यसयता विराटनगरमा यो केन्द्रबाट धेरै नाम कहलिएका कलाकारको ‘करिअर’ बनाउन कोषेढुंगा सावित भयो । चुर्तुभुजका छोरा प्रचण्ड पौडेल भन््छन्, “त्यही इतिहास बचाउन हामी सर्वोच्च अदालतको ढोका ढक्कढक्याइरहेका छौं । संस्थाको जग्गा अरुले नै दाबी गर्दै अस्तित्व नामेट गर्न खोजेपछि हामी निरन्तर मुद्दा लडिरहेका छौं ।”
चर्तुभुज जीवित छैनन्, तर कथाकार देवकुमारी थापाले २०६० असार २९ गते शिलान्यास गरी संगीतकार शम्भुजित बास्कोटाले २०६१ असार २९ मा अनावरण गरेको उनको शालिक भानुकला केन्द्रको परिसरमा एक्लै ठिंग उभिएको छ ।
लाग्छ, उनी भनिरहेका छन्, ‘यहाँ किन हारमुनियम, मादल अनि तबला गुन्जिरहेको सुनिँदैन ?’ उनको निधन २०५९ सालमा भएको थियो ।
अग्रजहरूको साथ र सहयोग लिएर भानु मोरङ सांस्कृतिक समितिको भगिनी संस्थाका रूपमा २०३७ सालमा भानु कला केन्द्र स्थापना गरियो । त्यसबेला अन्तर्राष्ट्रिय कलाकार र साहित्यकारको सम्मेलन एवं जमघट भयो ।
“भारतीय राष्ट्रपति पुरस्कार विजेता दमयन्ती जोशी, लभु महाराज, जल तरंग वाथक, केएल सुदलगायत कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार विराटनगर आउनु भएको थियो, अरुबेला पनि धेरै गतिविधि भए तर, अहिले भने त्यहीँ बनेको संरचना न्याय र अभिभावकत्व खोजिरहेको छ,” पौडेलले भने, “त्यहाँ बनाइएको खुला स्टेजको कुनै रौनक नै छैन ।”
विवाद नसुल्झिँदा संस्थाकै अस्तित्व संकटमा परिरहेको उनले सुनाए ।
विगतमा आशावादीकै अगुवाइ सांस्कृतिक समतिबाटै संसासी माईस्थानका लागि केही जग्गा दिइएको थियो । पहिले ढुंगाको थात थियो । पछि–पछि मन्दिरको स्वरूप दिइयो ।
वरपर भीमसेनसहित अन्य मन्दिर बनाइयो । भिसमेन मन्दिर प्रजातान्त्रिक योद्धा तोरेन्द्रमानसिंह प्रधान र तत्कालीन मन्दिर समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।
यस्तो छ जग्गा सम्बन्धी तथ्य
संस्थाका अनुसार २०४२ सालमा नापी हुँदा संसारी माईस्थानसमेतका मन्दिरलाई २ कठ्ठा जग्गा दिने योजनामा आशावादी थिए । तर, मन्दिरका तर्फबाट कोही नआएपछि सबै १० कठ्ठा भन्दा बढी जग्गा नै संस्थाले आफ्नै नाममा राख्यो ।
नापीपछि जग्गाको मूल्यांकन बढेपछि भने चलखेल शुरु भएको सामाजिक अभियन्ता तथा साहित्यकार देवी पन्थी बताउँछन् ।
विनानिर्णय २०४७ सालमा संस्थाका तत्कालीन सचिव स्व. राजकुमार पोखरेललाई फकाएर मालपोत कार्यालयबाट दुवैलाई मिलाएर संसारी माईस्थान तथा भानु मोरङ सांस्कृतिक सेवा संघ बनाइयो ।
प्रतिष्ठित संस्थालाई नै विलय गराउने प्रपञ्च भइरहेको भन्दै संस्था जीवित रहेको र दुवैको अलग–अलग अस्तित्व रहेको जिकिरसहित सर्वोच्चमा मुद्दा पर्यो ।
सर्वोच्चले २०५१ सालमा विलय ठीक नभएको निष्कर्ष दिंदै संयुक्त संस्था बनाउने निर्णयलाई बदर गरिदिएपछि भानु मोरङ सांस्कृतिक समिति नामक संस्था पुनः जाग्यो । सबै जग्गा आफ्नै रहेको भन्दै संस्थालाई विपक्षी बनाएर २०५२ सालमा जिल्ला अदालत मोरङमा मन्दिरको नामबाट पुनः मुद्दा पर्यो ।
अदालतले जग्गा सबै भानुकै रहेको र मन्दिर संस्थाबाटै संरक्षित छ भन्ने फैसला गरिदिएपछि भानुका नाममा लालपुर्जा पनि बन्यो ।
मुद्दा हाल्ने पक्ष भने जिल्लाको फैसलाविरुद्ध ३५ दिनभित्रमा पुनरावेदनका लागि नगएको तर पछि संसारी माईस्थान मन्दिर संरक्षण समितिका नाममा २०६९ सालमा पुनः राजेश मास्केले जिल्ला अदालतमै मुद्दा दर्ता गरे ।
पुनरावेदन गर्न पाउने म्यादसमेत गुजारेर बसेको पक्षले जिल्ला अदालतमैं पुनः मुद्दा दायर गर्यो । दर्ता नै गर्न नमिल्ने अवस्थामा मुद्दा दायर भएको पौडेलको दाबी छ ।
“पहिले २ कठ्ठा दिँदा लिदैनौं भन्नेहरूले संस्थाको सबै जग्गा हडप्ने प्रपञ्च गर्नु भएको छ,” पौडेलको आरोप छ ।
मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्था मन्दिर संरक्षण समितिका नाममा स्कुल बस पार्किङ गर्न दिने, वरपर पर्खाल लगाउने र घेराबार गर्ने जस्ता काम भएको उनको भनाइ छ ।
जग्गाको स्वामित्व कसको ?
भानु मोरङ सांस्कृतिक समितिले आफ्नो जग्गामा अनधिकृत रुपले अरुले नै विना सूचनासंरचना निर्माण गरेको भन्दै आपत्ति जनायो ।
विराटनगर १३ (घ) सिट नं १७८–०७४३–२३ बमोजिम कित्ता नं १६ र १७ को ८ कट्ठा १९ धुरमा भएको घर, टहरा संसारी माई स्थान मन्दिर र अन्य मन्दिर समितिको नाममा दर्ता भएपनि कित्ता नं १७ मा रहेको भिमसेन मन्दिरको पूर्वपट्टीको जग्गामा राजेश मास्केलगायत व्यक्तिले एक्कासी संरचना निर्माण सुरु गरेका थिए ।
यो जग्गामा समिति र संसारी माई स्थानको विवाद पुरानै हो । २०४७ सालमा संसारी माई स्थान र समिति एक आपसमा बिलय गराइएको थियो । तर २०५१ मा सर्वोच्चले यो बिलय बदर गरिदिएको थियो । ०५२ मा सबै जग्गाको हक आफ्नै रहेको भन्दै मुद्दा पर्यो । तर अदालतले सबै जग्गा समितिकै रहेको र मन्दिर भने संरक्षित रहेको फैसला गर्यो । पूर्जा भानुकै नाममा बन्यो ।
स्वामित्वको मुद्दा भने सर्र्वोच्चमा विचाराधीन छ । समितिका तर्फबाट प्रचण्ड पौडेलले आफूहरूको जग्गामा संसारी माइ स्थान रहेको बताए । विराटनगर महानगरपालिकाले मुद्दा विचाराधीन रहेकोले समितिको नाममा रहेको जग्गामा संरचना निर्माण रोक्न भन्यो ।
संरचना निर्माणविरुद्ध समितिले निवेदन दिएपछि राजेशकुमार मास्केका नाममा विराटनगर महागनरपालिकाको कानुन तथा न्याय शाखाले २०७९ भदौ १५ गते एउटा पत्र लेख्यो ।
जसमा भानु मोरङ सांस्कृतिक समितिले संस्थाको जग्गाको विषयमा निजहरूले फैसला बदर भनी सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको र सो मुद्दा हाल विचाराधीन अवस्थामा रहेकोमा सो जग्गामा निर्माण कार्य गरिरहेको भनी निवेदन दर्ता हुन आएकाले त्यो निर्माण कार्य तत्काल रोकी जग्गामा संरचना बनाउनुको कारणसहित प्रमाण लिइ तीन दिनभित्र कार्यालयको कानुन शाखामा उपस्थित हुन जानकारी गराएको थियो ।
को हुन् आशावादी ?
आशावादीको जन्म २००१ मंसिर १ गते भएको हो । उनको मृत्यु २०५९ साल साउन ४ गते भयो । आशावादी उनको उपनाम हो । यही नामले प्रख्यात छन् ।
आशावादी नयाँ कलाकार खोज्ने र उनीहरूलाई प्रशिक्षित गराउन सक्रिय थिए । जीवनभर प्रतिभाको खोजी गरे । उनले तत्कालीन समयमा अन्तर्राष्ट्रिय मैथिली नाटक सम्मेलन सात पटकसम्म गरेको कवि धीरेन्द्र प्रेमर्षिले आफ्नो एउटा आलेखमा उल्लेख गरेका छन् ।
२०४९ सालतिर आफूले मैथिली कवि–लेखकको परिचय बनाएको र ‘पल्लव’ पत्रिकाको सुरुआत गरेको उल्लेख गर्दै चतुर्भुजकै संगतमा नेपालका परम्परागत संगीत र नृत्यबारे बुझ्ने अवसर पाएको लेखेका छन् ।
२०२३ सालमा सोभियत रूसमा भएको एउटा कार्यक्रममा मोटो शरीर भएका आशावादी घण्टौ नाचेको देखेर मञ्चबाट सोझै अस्पताल लगेर परीक्षण गरिएको थियो ।
कवि प्रेमर्षिले उल्लेख गरेका छन् । आशावादीका हजुरबुबा सितारवादक थिए । पछि रूसी चिकित्सकहरूले आशावादीमा वंशानुगत गुणकै कारण लामो समय नाच्न सकेको भन्ने निश्कर्ष निकालेको छोरा प्रचण्ड पौडेलले सुनाए ।
चर्तुभुज आशावादीले संकलन गरेका नृत्यहरू पंचायतकालदेखि नै प्रमाण पत्र तह (आईए) को पाठ्यक्रममा समावेश छन् । नारायाण गोपाल, गोपाल योञ्जन, गितार नगेन्द्र थापा र चर्तुभुज आशावादीलाई नेपाली गीत संगीत तथा कलाको क्षेत्रमा एउटा रथको चारपांग्रा भन्ने गरिन्छ ।
शिव श्रेष्ठ, मिना श्रेष्ठ, नविन श्रेष्ठ, दिपाश्री निरौला, मनोहरि थापा र अन्य धेरै कलाकार भानु मोरङ सांस्कृतिक समितिका प्रशिक्षितहरू हुन् ।