site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इम्बोस्ड नम्बर प्लेटबारे अख्तियारको चासो, उत्पादन र जडान प्रक्रिया अघि बढाउँदै विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम फेरि अघि बढाएको छ । विवादका कारण लामो समयदेखि अलपत्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी तयारी थालिएको विभागले जनाएको हो ।

इम्बोस्ड नम्बर प्लेट उत्पादन एवं जडानसम्बन्धी सम्झौताको अवधि अझै एक वर्षभन्दा बढी छ । ०८२ मंसिर ११ गतेसम्म ठेक्काको म्याद रहेकाले प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागलाई पत्राचार गरेको थियो । अख्तियारले यो सम्झौता प्रक्रियामा छानबिन गरिरहेको समेत बताइएको छ ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी काम अघि बढाइएको बताए । “हामीले इम्बोस्ड नम्बर प्लेट उत्पादन एवं जडानको काम अघि बढाएका छौँ, अब चाँडै यसको जडान हुन थाल्छ,” उनले भने ।

इम्बोस्ड नम्बर प्लेटका गाडीलाई ट्र्याक गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) गेट पनि दुई ठाउँमा सञ्चालनमा ल्याइएको उनले बताए ।

उनका अनुसार, काठमाडौं प्रवेश गर्ने नाका थानकोट र नागार्जुनमा आरएफआईडी गेट सञ्चालानमा ल्याइएको छ । उपत्यकाका पाँच ठाउँमा बनाइनुपर्ने यस्ता गेट अब साँगा, ग्वार्काे र बल्खुमा निर्माणको तयारी भइरहेको महानिर्देशक रिजालले जानकारी दिए । अमलेखगन्जमा पनि उक्त गेट बनाइँदै छ ।

इम्बोस्ड नम्बर प्लेट जडान गरिएका सवारीसाधन निगरानी गर्न सहज हुने १०० आरएफआईडी डिभाइसमध्ये पाँचवटा ट्राफिक प्रहरीलाई बुझाइएको विभागले जनाएको छ ।

पाँच लाख ८५ हजार उत्पादन, ७४ हजार जडान
हालसम्म पाँच लाख ८५ हजार इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको विभागले जनाएको छ । यीमध्ये करिब ७४ हजार प्लेट मात्र सवारीधनीले जडान गरेका छन् ।

सरकारले ०७९ साउन १ देखि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो । तर, यसम्बन्धी सम्झौता र प्रक्रियामा भ्रष्टाचार र महँगो भएको भन्ने टीकाटिप्पणीका कारण विवाद चर्किएपछि उक्त कार्य रोकिएको थियो ।

इम्बोस्ड नम्बर प्लेट जडानको काम फेरि अघि बढाउन खोजिए पनि यो टुंगोमा पुग्ने र २५ लाख सवारीसाधनमा राखिनेमा विभागकै अधिकारी आशंका व्यक्त गर्छन् ।

इम्बोस्ड नम्बर प्लेटको ठेक्का बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनी ज्वाइन्ट भेन्चरले पाएको थियो । ०७३ जेठ १७ गते ठेक्का सम्झौता गरिएको थियो । सुरुमा पाँच वर्षभित्र उत्पादन र जडान गरिसक्नुपर्ने सम्झौता थियो । विवादका कारण म्याद लम्बिएको थियो ।

०७४ फागुनमा इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा नभएर देवनागरी लिपि प्रयोग हुनुपर्ने भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको थियो । सर्वाेच्चले छिमेकी देशले अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राखेको र पारवहनलाई आधार मान्दै उक्त भाषा प्रयोग गर्न सकिने निष्कर्षसहित त्यो रिट खारेज गरेको थियो ।

चार अर्बको सम्झौता, फाइदा के ?
२५ लाख इम्बोस्ड नम्बर प्लेटका निम्ति त्यति बेला सरकारले भ्याटबाहेक चार अर्ब १६ करोड ७९ लाख ५० हजार रुपैयाँ (तीन करोड ८७ लाख ५० हजार अमेरिकी डलर)मा सम्झौता गरेको थियो । हालको अवस्थामा यो लागत डलरको मूल्य उकालोसँगै अझै बढेको छ । विभागबाट आपूर्तिकर्ता कम्पनीले करोडौँ रुपैयाँ भुक्तानी लिइसकेको छ । यो सम्झौतामा अनियमितता भएको भन्दै उजुरीपछि अख्तियारले छानबिन थालेको छ ।

आमनागरिकलाई आर्थिक बोझ थोपरिने इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारीसाधनको चोरी न्यूनीकरण हुने भनिएको थियो । प्लेट जडान गरेपछि बिगारेर निकाल्न मिल्ने र अन्यथा ननिक्लने बताइएको थियो ।

प्लेटमा राखिने रेडियो फ्रिक्वेन्सी रिडएबल स्टिकरलाई आरएफआईडी गेटले २०० मिटर परसम्म रातको समयमा समेत रिड गर्न सक्ने हुँदा कुन सवारी कहाँ गएको छ भनेर थाहा हुने जनाइएको छ । यसका निम्ति उपत्यकाका पाँचसहित देशका विभिन्न ठाउँमा १० देखि १५ आरएफआईडी गेट बनाइने विभागले जनाएको छ ।

सम्झौताअनुसार दुईपांग्रे सवारीको इम्बोस्ड नम्बर प्लेटको प्रतिशुल्क दुई हजार ५००, तीनपांग्रेको दुई हजार ९००, चारपांग्रेको तीन हजार २०० र ठूला सवारीसाधनको हकमा तीन हजार ६०० रुपैयाँ शुल्क तोकिएको थियो । दुईपांग्रे, तीनपांग्रे, साना तथा मझौला र ठूला सवारीसाधनबाट संकलित शुल्कमध्ये सरकारले क्रमशः ६००, ६०७, ८८० र एक हजार ११० रुपैयाँ राख्ने र बाँकी आपूर्तिकर्ता कम्पनीले नै लैजाने सम्झौता छ । इम्बोस्ड नम्बर प्लेटको महँगो मूल्य र विवादका कारण चार अर्बको सम्झौता के हुन्छ भन्ने निश्चित भने छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro