भुरेटाकुरे राजहरूका पालामा सनकमा शासन चल्थ्यो । ‘अन्धेर नगरी चौपट राजा’जस्ता अनेकौं किस्सा अझै प्रचलित छन् । दुर्भाग्य, नेपालका दुईवटा महानगरमा एक्काइसौं शताब्दीमा पनि मध्ययुग सम्झाउने घटना दोहोरिएका छन् ।
वीरगन्जको सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गरेको भन्दै वीरगन्ज महानगरपालिकाले आइतवार तीनवटा उद्योगको प्राङ्गणमा फोहोर फयाँकिदिएको छ । पटकपटक कारबाही गर्दा पनि उद्योगहरूले नटेरेपछि फोहोर थुपारिएको दाबी गरिएको छ ।
गत जेठ १२ गते काठमाडौं महानगरपालिकाले पनि सडक डिभिजन कार्यालय र बबरमहलस्थित सडक विभाग छिर्ने गेटअगाडि फोहोरको थुप्रो खसालेको थियो । चक्रपथ भत्काएर अलपत्र छाडिएकाले त्यसरी फोहोर फालेको दाबी गरिएको थियो ।
सिर्सिया नदीमा फोहोर फाल्ने उद्योगलाई कारबाही गर्ने अधिकार वीरगन्ज महानगरपालिकालाई छ । यस्तै, चक्रपथ निर्माणमा सरकारी लापरबाहीसमेतका कारण ढिलो हुँदा काठमाडौंका जनताले भोगेको सास्तीमा महानगरपालिकाले आक्रोश व्यक्त गर्नु पनि स्वाभाविकै हो ।
परन्तु, काठमाडौं र वीरगन्ज महानगरपालिकाका प्रमुखहरूले कारबाहीका नाममा अपनाएको तरिका भने आधुनिक शासन सुहाउँदो भएन । निर्वाचित जनप्रतिनिधहरूले शासनका नाममा यस्तो मध्ययुगीन असभ्य बर्बरता प्रकट गर्दा लोकतन्त्रकै उपहास भएको छ ।
सम्भवतः संसारका कुनै पनि महानगरपालिकामा यस्तो बहुलठ्ठीपूर्ण सनक देखाउने जनप्रतिनिधि छैनन् होला । वीरगन्ज र काठमाडौंको ‘फोहोर काण्ड’मा महानगरपालिकाका प्रमुखहरू नै संलग्न रहनु अर्को आश्चर्य र चिन्ताको विषय हो ।
महानगरपालिका प्रमुखहरूले जनताको स्वास्थ्यप्रति देखाएको चिन्ता जति सराहनीय छ उनीहरूले अपनाएको विधि उत्तिकै गलत र निन्दीय छ । उनीहरूले अपनाएको विधिले त मालिकको नाकमा झिँगा बस्यो भनेर तरबारले नाकै काटिदने बाँदरको हर्कत सम्झाउँछ ।
काठमाडौं वा वीरगन्ज महानगरपालिका प्रमुखहरू लोकतान्त्रिक विधिबाट निर्वाचित जनप्रतिनिधि हुन् । यसैले उनीहरूले विधिका आधारमा मात्र शासन गर्नुपर्छ । यसरी नै विधिको शासनको उपेक्षा गर्ने हो भने संविधानले तिनको अधिकार जोगाउन सक्नेछैन ।
अटेर गर्ने उद्योगहरूलाई महानगरपालिकाले हदैसम्मको कारबाही गर्न सक्छ । कानुनी प्रक्रिया पूरा गरेर बन्द नै गराउन वा सार्न लगाउन सक्छ । तर, कारखानाका मजदुरलगायत अरू जनताको स्वास्थ्यमा समेत असर पर्नेगरी फोहोरमैला थुपार्नु अर्को अपराध हो ।
आशा गरौँ, काठमाडौं र वीरगन्ज महानगरपालिकाले देखाएको यस्तो असभ्य हर्कत अरू पालिकाहरूले गर्नेछैनन् । काठमाडौं र वीरगन्जका महानगरपालिकाका प्रमुखहरूले पनि भविष्यमा यस्तो उर्बौलो सनक नदोहोर्याउन् । नेपाल मध्ययुगमै अल्झिएर बसेको देख्न नपरोस् !