site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विमानस्थलभित्रै ठूला दुर्घटना : प्राधिकरणको भूमिकामाथि सधैँ प्रश्न
SkywellSkywell

काठमाडौं । साउन ९ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पर्‍यो । प्राविधिक बोकेको जहाजमा रहेका १९ मध्ये पाइलटबाहेक बाँकी १८ जनाको मृत्यु भयो । ०७४ फागुन २८ गते त्रिभुवन विमानस्थलमै युएस बांग्ला एयर दुर्घटना हुँदा ५१ जनाले ज्यान गुमाए । यस्तै ०६९ जेठ १ गते जोमसोम विमानस्थलमा अग्नि एयरको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो ।

विमानस्थलभन्दा टाढा जहाज दुर्घटना हुँदा सवार यात्रुहरूलाई उद्धार गर्न समय लाग्ने भए पनि विमानस्थलमै हुँदा अपवादबाहेक अन्य देशहरूले यात्रुहरूको उद्धार दू्रत तवरले गर्ने र क्षति कम हुने गरेका छन् । तर नेपालको विमानस्थलभित्रै ठूला दुर्घटना हुँदा पनि क्षति भने बढी नै हुने गरेको छ । 

सौर्यको पछिल्लो दुर्घटना विश्वमा सबैभन्दा सुरक्षित मानिने हवाई सेवा नेपालको हकमा भने जोखिमपूर्ण हुँदै गएको देखाउँछ । 

KFC Island Ad
NIC Asia

विमानस्थलभित्रै ठूला दुर्घटना हुँदा यसले नेपालको हवाई क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा समेत नराम्रो सन्देश गएको छ । युरोपियन युनियनले नेपालको हवाई क्षेत्र उसले निर्धारण गरेको हवाई सेफ्टीअन्तर्गत नभएपछि सन् २०१३ देखि कालोसूचीमा राखेको छ ।

त्यसो त, अन्य देशमा हवाई दुर्घटना नहुने होइन, तर नेपालको सन्दर्भमा बढी नै दुर्घटना भएका तथ्यांक छन् । 

Royal Enfield Island Ad

विमानस्थल आसपासमै दुर्घटनाको कुरा गर्दा हालसम्म चारवटा विदेशी विमान र १४ वटा स्वदेशी कम्पनीकै दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाउँछ । यी दुर्घटनामा ११९ जनाको मृत्यु भएको छ । 
विदेशीतर्फ युसएस बांग्लाको ५१ र थाइ एयरवेजको १ गरी ५२ जनाले ज्यान गुमाएका छन् । बाँकी ६७ जनाले स्वदेशी विमानमा यात्रा गर्दा ज्यान गुमाउन पुगे ।
    
यी दुर्घटना नेपालको विमानस्थल आसपासमै भएका हुन् । विमानस्थलमा विमान दुर्घटना हुँदा कसरी उद्धार गर्ने भनेर क्यानले विमानस्थल बन्द गरेर तालिम दिँदै आएको छ ।  अचानक विमान दुर्घटना भएको अवस्थामा आगलागी हुँदा त्यसलाई नियन्त्रणमा लिन सबै संरचना तयारी अवस्थामै हुन्छन् । 

सन् २०२४ को जनवरीमा मात्रै जापानको हानेडा विमानस्थलमा जापान एयरलाइन्सको फ्लाइट ५१६ दुर्घटना भयो । विमानस्थलमा रहेको अर्को विमानसँग ठोकिएर भएको दुर्घटनामा ३७९ यात्रुको सकुशल उद्धार भयो । 

सो विमानका सदस्यलाई ठोकिएको १८ मिनेटभित्र सबै सदस्यको उद्धार भएको थियो । ठोकिएको अर्का विमानमा रहेका ६ जनामध्ये ५ जनाको भने मृत्यु भएको थियो । 

नेपालको हवाई सुरक्षामा ‘सेफ्टी कल्चर’को कमी रहेको क्याप्टेन केबी लिम्बु बताउँछन् । “दुर्घटनापछि हुने सेकेन्ड सेकेन्डको ढिलाइले पनि असर पार्छ,” उनले भने, “अरु देशको तुलनामा हाम्रो ‘इफिसेन्सी’ पनि कम भएको कारण पनि क्षति ठूलो हुने गरेको छ ।”

उद्धारका लागि चाहिने सामग्रीहरूको कमी, पर्याप्त तालिम नहुनुलगायातका कारण पनि नेपालको विमानस्थलै दुर्घटना हुँदा पनि बढी क्षति हुने गरेका लिम्बु बताउँछन् । 

“हाम्रोमा उद्धारका लागि चाहिने सामग्रीहरूको पनि कमी होला । यस्तै वर्षमा एकपटक आधा घण्टा प्लेन बन्द धुँवा उडाएर तालिम दिने गरेको पाइन्छ । यसलाई बढाएर ६–६ महिनामा गर्ने हो कि,” उनले भने । 

विमानस्थलको रनवेमै दुर्घटना भएको अवस्थामा उद्धारमा केही सहज हुने र अन्य स्थानमा दुर्घटना हुँदा त्यहाँसम्म पुग्न समस्या हुने गरेको र पछिल्लो सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पनि त्यही समस्या दोहोरिएको सेवानिवृत क्याप्टेन वाई के भट्टराई बताउँछन् । 

“दुर्घटना भनेको कसैले अनुमान गर्न नसकिने भवितब्य हो । यसमा कहाँ हुन्छ र कहिले हुन्छ भन्ने जानकारी कसैलाई हुँदैन,” उनी भन्छन्, “हाम्रो विमानस्थल समथर मैदान होइन, त्यसकारण पनि यसको उद्धारमा समस्या भएको होला । जमिन उबडखाबड छ । त्यहाँसम्म फायर भेहिकलहरू पुग्न समस्या होला ।”

दुर्घटनापछि उद्धारको प्रभावकारितामा नेपाली प्राविधिकहरू अन्य देशको तुलनामा केही कमी भएको हुन सक्ने उनी बताउँछन् । 

“हाम्रोमा भौगोलिक कारणले पनि ‘इफिसेन्सी’मा कमी भएको हुन सक्छ” उनले भने । 

क्यानको भूमिकामाथि प्रश्न

सौर्य एयरलाइन्सको विमान दुर्घटनासँगै नेपालको हवाई सुरक्षा विषयमा चौतफी आलोचना भएपछि संसदीय समिति र संसदमा समेत नागरिक उड्ययन प्राधिकरण (क्यान)को भूमिका माथि प्रश्नै प्रश्न उठेका छन् । पटक–पटक विमान दुर्घटना हुन थालेपछि क्यानको भूमिकाप्रति नै सासंदहरूले प्रश्न उठाएका हुन् ।

साउन १० गते प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा क्यानले नै विमान सुरक्षा जाँच गर्ने र उसले नै दुर्घटनाको छानबिन गर्ने हुँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) रहने धारणा सांसदहरूले राखेका थिए । त्यसैले यो दुवै कामका लागि छुट्टाछुट्टै निकाय हुनुपर्नेमा उनीहरूले जोड दिए । 

विमान सुरक्षा जाँच गर्न र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । सांसद प्रेम सुवालले नेपालमा आउने विमानहरू पुरानो भएर दुर्घटना भएको हो कि, भन्ने प्रश्न गर्दै यसको राम्रोसँग छानबिन हुनुपर्ने बताए । 

“पुराना विमान चलाउने हत्यारा हुन् कि होइन ?,” सांसद सुवालले यसबारे सरकारले प्रष्ट पार्नुपर्ने तर्क राखे ।

नेपालमा विमान दुर्घटना भएपछि मात्र छानबिन समिति बन्ने र पाइलटलाई दोषी देखाउने गरेको सांसद उदयशमशेर जबराको भनाइ छ । 

“छानबिन समिति बन्यो प्रतिवेदन बुझायो अनि सेलायो,” उनले भने, “अन्य देशमा विमान दुर्घटना हुँदा त्यसमा छानबिन गरेर एक्सन हुन्छ तर नेपालमा भने पाइलटलाई दोषी देखाएर सेलाउँछ ।”

उनले बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा नेपाल सरकार दोषी हो कि होइन भनी प्रश्न गरे । “आजसम्म विमान दुर्घटनामा क्यानका कुनै कर्मचारीलाई कारबाही भएको छ ?,” उनले प्रश्न गरे, “हाल क्यानले नेतृत्व भइरहँदा यस अवधिमा १०० जनाभन्दा बढी मानिस मरिसके । उसले यसको दोष लिनु पर्दैन ?”

क्यानले नै नियमन र छानबिन गर्ने हुँदा यसमा स्वार्थ बाँझिने टिप्पणी उनको छ । नेपालमा हवाई दुर्घटनामा १००–२०० मर्नु सामान्य हो भनेर बस्ने गरेको कारण यो समस्या भएको उनको भनाइ छ ।

छानबिन हुँदासम्म हालका क्यान निर्देशक अलग बस्नुपर्ने उनले बताए । एयर सेफ्टीमा सरकारले बजेट कम गरेको उनको आरोप छ । 

“हाम्रोमा भनसुन चल्ने गरेका कारण पनि दुर्घटना भयो । दुर्घटनापछि एउटै निकायले छानबिन गर्ने पनि त्यही भयो,” सांसद जबराले भने ।

रास्वपा सांसद शिशिर खनालले नेपालमा हवाई सुरक्षाको विषय निकै पेचिलो बनेको बताए । हवाई सुरक्षाको विषयमा कसरी अघि बढ्ने भन्ने कुरा मुख्य रहेको उनको भनाइ छ । “क्यानले नै हवाई सुरक्षा गर्दा यसले स्वार्थको द्वन्द्व बढेको छ,” सांसद खनालले भने, “हिजोको दुर्घटनालाई मात्र हेर्ने होइन क्यानमा पछिल्लो नेतृत्व आएपछि दुर्घटना बढेको छ ।”

नेपालमा मानवीय त्रुटि वा पाइलटको गल्ती भनेर छाड्ने गरिएको कारण पनि यस्ता दुर्घटना बढ्ने गरेको खनालको आरोप छ । हालसम्म भएको दुर्घटनाको जिम्मेवारी क्यानले लिने महानिर्देशक प्रदीप अधिकारीले बताए । 

“हालसम्म भएका दुर्घटनाको क्यानले जिम्मा लिन्छ । तर यसमा डिफाइन हुनुप¥यो । कुनै पाइलटलाई नजाउँ भनेको ठाउँमा गएर दुर्घटना हुँदा पनि त्यसलाई अब क्यानकै भन्ने हो भने क्यानले त्यसको जिम्मा लिन्छ,” उनले भने, “पोखराबाट जोमसोम फ्लाइटमा क्यानको रिक्वयरमेन्ट के छ भने बादलभित्र छिर्न पाउनुहुन्न भन्छ । तालिममा कुनै कमी नहुने सेफ्टी पाइलट, इन्स्टक्टर पाइलट बादलमा छिरिदिनु भयो । अब मैले कहाँबाट जिम्मा लिने ? तर डीजीको हिसावले म त्यो पनि जिम्मा लिन्छु ।”

यस्तै आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले हवाई दुर्घटनाका विषयमा क्यान, सरकार र हवाई यातायात सेवाप्रदायक कम्पनीको भूमिकामाथि प्रश्न गरे । 

सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले नागरिक उड्डयन प्राधिकरणको औचित्यमाथि प्रश्न गरे ।  ०७७ सालमा राष्ट्रियसभामा दर्ता गरिएको नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा विधेयक कहाँ थन्किएको छ ? भन्दै उनले प्रश्न गरे । 

“क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण) के गरेर बसेको छ ? हवाई दुर्घटनाको जिम्मेवारी कसले लिन्छ ? राष्ट्रियसभामा गएको विधेयक कहाँ थन्किएर बसेको छ ? तत्काल विधेयक प्रतिनिधिसभामा ल्याइयोस्,” उनले भने ।

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङदेनले सौर्य एयरलाइन्सले ‘सी चेक’ गर्न पोखरा लैजानुपर्ने, काठमाडौंमा हुन नसक्ने कारण के हो ? भन्दै प्रश्न गरे । उनले यसतर्फ नियामक निकायको ध्यान जान जरुरी रहेकामा जोड दिए । 

“त्यति धेरै संख्यामा कर्मचारी जान र गैरप्राविधिक जानुपर्ने, को–को जाँदै छन् भनेर हेर्नुपर्दथ्यो कि थिएन ? असम्बन्धित मानिसहरू किन गए ? नियामक निकायको लापरवाही देखिन्छ‚” उनले भने ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्र राय यादवले नेपालको आकाश असुरक्षित भएको उल्लेख गरे । आकाश सुरक्षित गर्न सरकारले के–के काम गरेको छ, कसरी सुरक्षित हुन्छ सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले माग गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लले सौर्य एयलाइन्सको दुर्घटनामा गम्भीर भएर गहन विश्लेषण गर्नुपर्ने बताए । 

“उड्डयन प्राधिकरणले जिम्मेवारी पूरा गरेको छैन । विमान कम्पनीले पनि चरम लापरवाही गरेको छ,” उनले भने “घरमा सात दिन साइकल राख्दा त चेक गरेर मान्छेले चलाउँछ भने महिनौँ ग्राउन्डेड भएको विमान चेक नगरी कसरी उडाएको ?”

उनले ‘ह्यांगर’ खाली हुँदाहुँदै किन पोखरा लैजान खोजिएको ? भन्दै यही कारणले १८ जनाले ज्यान गुमाएको बताए । 

उनले ‘ग्राउन्डेड’ विमान कुदाएर लैजान नसकिने भन्दै किन चेक नगरी, क्यानको अनुमति नलिई विमान उडाइयो ? भन्ने प्रश्न गरे । 

उनले परम्परागत रूपमा आयोग बनाइएको भन्दै पाइलट बाँचेको अवस्थामा प्राविधिक त्रुटि भनेर उन्मुक्ति दिन नमिल्ने र दोषीलाइ कडा कारबाही गर्न माग गरे ।

यस्तै, सांसद राजेन्द्र बजगाईंले सौर्य एयरलाइन्सको विमान र त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गरे । त्यस्तो अवस्था आउन नदिन सरकारलाई ‘रुलिङ’ गर्न उनले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराए ।

“नेपालको हवाई सेवाको लागि सरकारसँग परामर्श गरेर सम्माननीय सभामुखज्यूले यस विषयमा रुलिङ नै गर्नुपर्छ । हुन त बस दुर्घटनाको विषयमा सरकार अनुत्तरित छ । हामीले आधा झन्डा झुकायौँ सवाई सेवा दुर्घटनाको सन्दर्भमा । तर, ६५ जनाको ज्यान गएको बस दुर्घटनाको बारेमा विभेद भयो भन्ने पनि प्रश्न उठेको छ,” उनले भने ।

नेकपा (एमाले)की सचेतक सुनीता बरालले हवाई र सवारी दुर्घटना हुन नदिन सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताइन् । उनले हवाई दुर्घटना हुन नदिन नागरिक उड्डयन प्राधिकरणलाई सचेत गराउन पनि सरकारलाई सुझाव दिइन् ।

“हवाई दुर्घटना र सडक दुर्घटनाबारे विशेष ध्यानाकर्षण हुन जरुरी छ । सरकारले विशेष ध्यान दिन जरुरी छ । आज यात्रालाई मृत्युको गन्तव्य हो कि भन्ने परिकल्पना गरेर हिँड्नुपर्ने जुन अवस्था छ, यो असाध्यै दुःखद पक्ष छ । हवाईमार्गबाट दुई मिनेट पनि उड्न नपाउँदै भएको दुर्घटनाले हामीलाई विक्षिप्त मात्रै बनाएको छैन, ठूलो क्षति व्यहोर्नुपरेको छ,” उनले भनिन्, “त्यसकारण यो क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई यो विषयमा विशेष ध्यानाकर्षण गराउन, यो निकायसँग सम्बन्धित व्यक्तिहरूलाई खबरदारी गर्न, नियमन र अनुगमनलाई विशेष प्रभावकारी बनाउनका लागि नीतिगत रूपमा नै विशेष ध्यानाकर्षण गराउन जरुरी छ भन्ने कुराको अनुभूति भएको छ ।”

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले ‘जहाज दुर्घटना हो कि हत्या ?’ भन्दै प्रश्न गरे । “दुर्घटना हो कि हत्या हो ? त्यो दुर्घटना सामान्य होइन ।  ‘सी’ चेकका लागि काठमाडौंमा नै व्यवस्था भएको भए सायद दुर्घटना हुँदैनथ्यो होला । ‘सी’ चेकका लागि जाने जहाजमा पाइलट, कोपाइलट र प्राविधिक इन्जिनियरबाहेक अनबोर्ड गर्न पाइँदैन । त्यसमा १९ जना कसरी अनबोर्ड भयो ? त्यसको जिम्मेवारी कसले लिने ?,” उनले प्रश्न गरे ।

उनले विमानमा असम्बन्धित क्षेत्रका महिला, बच्चा र आईटी इन्जिनियर रहेकोप्रति पनि प्रश्न गरे । यादवले नेपालको आकाश सुरक्षित बनाउन राज्य जिम्मेवार बन्नुपर्ने बताए । उनले प्राधिकरण विधेयक मन्त्रिपरिषद्मा लुकाइएको भन्दै आपत्ति जनाए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसमेत रहेका यादवले ‘मृत्युमा पनि वर्गीय विभेद’ भएको भन्दै आपत्ति जनाए । “मृत्युमा पनि वर्गीय विभेद । बसमा दुर्घटना भएर मृत्यु हुनेको राज्यबाट बेवास्ता । तर, हवाइ जहाज दुर्घटनामा हुने खाने वर्गको मृत्यु हुँदा आधा झन्डा झुकाइएको, शोक मनाएको स्थिति छ । जनमानसमा नकारात्मक विमर्शको उठान भएको छ,” यादवले भने । उनले भविष्यमा यस्तो विभेद नगर्नसमेत आग्रह गरे ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उक्त दिन काठमाडौंबाट पोखराका निम्ति नियमित ‘सी चेक’ उडानका क्रममा सौर्यको ‘सीआरजे–२००, ९एन–एएमई’ विमान दुर्घटनामा परेको मन्त्री पाण्डेले बताए । १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट उड्दा सामान्य अवस्थामा बायाँ मोडिँदै पश्चिमतिर उड्नुपर्ने थियो । तर, विमान उड्नेबित्तिकै धावनमार्गबाट दाहिने मोडिन गई विमानस्थलको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको उनले जानकारी गराए ।

“उक्त दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त उडानका क्याप्टेन गम्भीर घाइते भई हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकबाट प्राप्त भएको छ” उनले भने ।

विदेशी यमनी नागरिकबाहेक मृतकका परिवारले शव बुझिसकेको जानकारी उनले दिए । उनका अनुसार, यमनी नागरिकको शव व्यवस्थापनका निम्ति नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको छ । शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सबाट उपलब्ध गराएको छ ।

दुर्घटनाकै दिन बेलुका बसेको मन्त्रिपरिषद्को बैठकबाट पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को व्यवस्थाबमोजिम कार्य सुरु भइसकेको जानकारी उनले दिए ।

“आयोगले दुर्घटनास्थलको स्थलगत निरीक्षण गरेको तथा ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर संकलन गरी डाटा रिडआउट, डाउन एन्ड एनालाइसिसको लागि तयारी गरिरहेको छ‚” उनले भने ।

मन्त्री पाण्डेले सी चेक उडानका क्रममा भएको दुर्घटनाको बिमा व्यवस्था सम्बन्धित वायुसेवा संस्थाले खरिद गरेको बिमा नीतिअनुसार नै हुने भन्दै थपे, “सौर्य एयरलाइन्स प्रालिको दुर्घटनासम्बन्धी एभिएसन हल एन्ड स्पेयर्स अल रिक्स, एभिएसन लाइविलिटी, पर्सनल एक्सिडेन्ट एन्ड हल वार इन्स्योरेन्स प्रालिमा रहेको छ । यस इन्स्योरेन्स पोलिसीका अतिरिक्त एयरलाइन्सबाट सात लाख रुपैयाँबराबरको सामाजिक सुरक्षा कोष समेत बिमा रहेको जानकारी प्राप्त भएको छ ।”

उनले दुर्घटनामा मृत्यु भएका प्राविधिक मनुराज शर्माकी श्रीमती प्रिजा खतिवडा (ऊर्जा मन्त्रालयको कम्प्युटर अपरेटर) सौर्य एयरलाइन्समा ‘पार्टटाइम’ अपरेटरका रूपमा कार्यरत रहेको जानकारी सौर्य एयरलाइन्सबाट प्राप्त भएको बताए । उनीहरूका छोरा (बालक अधिराज शर्मा)को काठमाडौंमा हेरचाह गर्ने कोही नभएकाले आमाबुबासँगै लगिएको मन्त्री पाण्डेको भनाइ थियो ।

उनले सौर्य एयरलाइन्सबाट मृतकका परिवारलाई थप सुविधा व्यवस्था गर्न मन्त्रालयमा उक्त कम्पनीका अध्यक्षसँग छलफल गरिएको बताए । सौर्य एयरलाइन्सका तर्फबाट परिवारका सदस्यलाई दक्षता र योग्यताबमोजिमको रोजगारीको प्रतिबद्धता गरिएको पनि उनले सदनलाई जानकारी दिए ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro