site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैनिक चारजना काठको बाकसमा फर्किन्छन्, सरदर क्षतिपूर्ति १० लाखमात्रै !

काठमाडौं । वैदेशिक रोजगारीमा दैनिक दुई हजारभन्दा बढी नेपाली जान्छन् । जानेमध्ये करिब चारजना नेपाली मृत अवस्थामा स्वदेश फर्किन्छन् । 

जाँदा जहाजको सिटमा बसेर गएका उनीहरु फर्कदा काठको बाकसमा फर्किन्छन् । अर्थात् वैदेशिक रोजगारीमा गएकाहरुमध्ये प्रत्येक दिन औषतमा चार जनाले विदेशी भूमिमा ज्यान गुमाउने गरेका छन् । 

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०–८१ मा ७ लाख ४१ हजार २९७ जना नेपाली वैधानिक तरिकाले (श्रम स्वीकृति लिएर) वैदेशिक रोजगारीमा गएका थिए । 

दैनिक औषतमा २ हजार ३० जनाभन्दा बढी रोजगारी खोज्दै विदेश गएको देखिन्छ ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०–८१ वैदेशिक रोजगारीका क्रममा १ हजार ३५५ जनाको मृत्यु भएको छ । अर्थात् रोजगारी खोज्दै विदेश गएकामध्ये दैनिक ३.७१ जनाको मृत्यु विदेशी भूमिमा भएको देखिन्छ । 

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।  कमाउन गएका परिवारको सदस्यको मृत्यु हुँदा नेपालमा रहेका परिवारमाथि पीडा र बोझ दुवै बढ्दो छ ।  पीडित परिवार रोजगारदाता कम्पनी र वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने क्षतिपूर्ति रकममा आफन्तको मृत्युको दिएको पीडा लुकाउन बाध्य छन् । 

वैदेशिक रोजगार बोर्ड र कन्सुलर सेवा विभागबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो तीनवर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ४ हजार ४२ जनाको मृत्यु भएको छ । 

उक्त अवधिमा मृत्यु भएकाको परिवारलाई रोजगारदाता कम्पनी, बिमा कम्पनी र बोर्डले क्षतिपूर्ति स्वरुप ४ अर्ब ९ करोड ४६ लाख ७० हजार ३३३ रुपैयाँ उपलब्ध गराएको छ ।

यो तथ्याङ्कले औषतमा मृत्यु भएको एउटा परिवारले औषतमा १० लाख १३ हजार ३० रुपैयाँ प्राप्त गरेको देखिन्छ । मृतकका परिवारले क्षतिपूर्ति दुई ठाउँबाट पाउँछन्– एउटा रोजगारदाता कम्पनी र अर्को वैदेशिक रोजगार बोर्ड । 
रोजगारदाता कम्पनीले बिमाको आधारमा क्षतिपूर्ति रकम सम्बन्धित देशमा रहेको नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा पठाउँछन् । विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उक्त क्षतिपूर्ति रकम पीडित परिवारसम्म पुर्‍याउने गर्छ । बोर्डले भने सीधै पीडित परिवारलाई रकम उपलब्ध गराउँछ । 

“श्रम अवधिभित्र या श्रम अवधि सकिएको एक वर्षभित्र मृत्यु भएको रहेछ भने पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप ७ लाख रुपैयाँ आर्थिक सहायता बोर्डले उपलब्ध गराउँछ । श्रम अवधि सकिएको एक वर्षपछि मृत्यु भएको भए पीडित परिवारलाई २५ हजार रुपैयाँ प्रदान गरिन्छ,” वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बाह्रखरीसँग भने । 

गत आर्थिक वर्ष २०८०–८१ मा रोजगारदाता कम्पनीले पठाएको र बोर्डले दिएको रकम समेत जोड्दा मृतकका परिवारलाई १ अर्ब ९ करोड १९ लाख ९५ हजार ३९४ रुपैयाँ उपलब्ध गरिएको छ ।  यसवर्ष १ हजार ३५५ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीका त्रममा भएको थियो । 

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलेका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा क्षतिपूर्ति बापत ६६ करोड ४८ लाख ७० हजार ३९४ रुपैयाँ विदेशबाट प्राप्त भएको थियो । यो बाहेक बोर्डले उक्त अवधिमा मृत्यु भएकाको नजिकको आफन्तलाई ४२ करोड ७१ लाख २५ हजार रुपैयाँ उपलब्ध गरेको थियो । 

“विदेशबाट प्राप्त हुन आएको क्षतिपूर्ति रकम हामी सम्बन्धीत जिल्ला प्रशासन कार्यालय (जिप्रका)मा पठाउँछौं, जिप्रकाले सम्बन्धित परिवारलाई क्षतिपूर्ति रकम हस्तान्तरण गर्छ,” महानिर्देशक पौडेलले भने । 

नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक रेमिट्यान्स हो । 

नेपाल राष्ट्रबैंकका अनुसार पछिल्लो करिब १६ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुले नेपालमा कुल ११०.१३ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । यो वैधानिक तरिकाले नेपाल भित्रिएको रकम मात्र हो । 

गत आर्थिक वर्ष २०८०–८१ को पहिलो ११ महिनामा मात्र १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीमा गएकाहरुले पठाएका थिए ।  अघिल्लो आर्थिक वर्ष २०७९–८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । 

यस्तो रेमिट्यान्समा वैदेशिक रोजगारीमा गएकाहरुले काम गरेर पठाएको रकमा मात्र जोडिदैन, त्यसमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुले पाउने क्षतिपूर्ति रकम पनि जोडिएको हुन्छ । 

अर्थात् ‘मृत्युको रेमिट्यान्स’ पनि जोडिएको हुन्छ । आफू मरेर भए पनि पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानीरहेका छन् वैदेशिक रोजगारीमा जानेहरुले । विभागका महानिर्देशक पौडेलका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा २ अर्ब १७ करोड ६२ लाख ६६ हजार ३३३ रुपैयाँ क्षतिपूर्ति वापत विदेशबाट प्राप्त भएको छ । 

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–७९ मा ७० करोड ७० लाख ५४ हजार ९६४ रुपैयाँ, २०७९–८० मा ८० करोड ४३ लाख ४० हजार ९७५ रुपैयाँ र २०८०–८१ मा ६६ लाख ४८ हजार ७० हजार ३९४ रुपैयाँ विदेशबाट क्षतिपूर्ति बापत प्राप्त भएको छ । 

बोर्डका प्रवक्ता ढकालका अनुसार पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति स्वरुप २ अर्ब ६५ करोड ६१ लाख २७ हजार रुपैयाँ आर्थिक सहायता बोर्डले उपलब्ध गरेको छ । 

बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ, २०७८–७९ मा ८३ करोड ६० लाख ९९ हजार रुपैयाँ, २०७९–८० मा ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ र २०८०–८१ मा ४२ करोड ७१ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति रकम वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको नजिकको व्यक्तिलाई उपलब्ध गरिएको छ । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार बितेको १६ वर्षमा (आ.व. २०६५–६६ देखि २०८०–८१ सम्म) ६५ लाख १३ हजार ४६२ जना नेपाली श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् । उक्त अवधिमा १३ हजार ४९७ जना नेपालीले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन् भने ११०.१३ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro