काठमाडौं । तरकारी र पशुपंक्षीको मासु राम्रोसँग पकाएपछि त्यसमा प्रयोग गरिएका सबै विषादी वा जिवाणु नष्ट हुन्छन् भन्ने आम बुझाइ छ । तर, कतिपय एन्टिबायोटकका कणहरू कुनै पनि विधिबाट पूर्ण रूपमा नष्ट नहुने विज्ञहरू बताउँछन् ।
वीर अस्पतालकी माइक्रोबायोलोजिष्ट ज्योती आचार्यका अनुसार तरकारी होस् या माछामासु पकाए पनि एन्टिबायोटिकको सानो अवशेष रहिरहन्छ । त्यति मात्र नभइ फोहोरको रूपमा फालिएको औषधि, माटोमा मिले त्यसमा उब्जिएका खाद्यन्न र पानीमा अवशेष भए बिनाप्रशोधन पानी पिउँदासम्म पनि असर गर्नसक्छ ।
यसरी रहिरहेका अवशेषले मानव शरीरमा नकारात्मक असर नै पुर्याउँछन् । यस्तै, अवशेषको असरले कुनै पनि रोगविरुद्ध दिइने औषधिलाई निष्प्रभाव बनाइदिन्छन् । रोगविरुद्ध दिइने औषधिलाई तिनै जिवाणुहरूले प्रतिरोध गरेको अवस्थालाई (एन्टि माइक्रोबियल रेसिस्टेन्स्) एएमआर भनिन्छ ।
एएमआरको अवस्थामा जिवाणुहरू निष्क्रिय हुनुको साटो झनै बलियो भएर औषधिलाई निष्प्रभावी बनाइरहेका छन् । बरु जिवाणुले औषधिको प्रभाव पर्न नदिन विभिन्न रसायनहरू उत्पादन गर्न थाल्दछन् ।
एएमआर अहिले नेपालको र विश्वव्यापी स्वास्थ्य चुनौती बनिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार एएमआर सन् २०१९ मा विश्वभर १.२७ मिलियन जनसंख्याको मृत्युको प्रत्यक्ष र ४.२७ मिलियन जनसंख्याको मृत्युको अप्रत्यक्ष कारण थियो ।
यही अवस्था रही रहे सन् २०५० सम्ममा वार्षिक एक करोड जनसंख्याको मृत्यु एएमआरका कारण हुने डब्लूएचओको प्रक्षेपण छ ।
एएमआरको असरबाट बच्न कुनै पनि जीवाणुका कारण हुने कुनै पनि रोगमा बिनापरीक्षण औषधिको प्रयोग नगर्न आचार्य सुझाव दिन्छिन् ।
कुनै कडा समस्या नै भए पनि कल्चर जाँच गराएर त्यसको रिपोर्टका आधारमा मात्रै औषधि लिन उनी अनुरोध गर्छिन् । “चिकित्सकले दिएको एन्टिबायोटिक औषधि पूरा समय प्रयोग गरौँ आफूले प्रयोग गरेको औषधि अरुलाई बिनापरीक्षण सिफारिस नगरौँ” आचार्यको सुझाव छ ।