“आफ्नो त यस्तै सान सानो छ, जसोतसो निर्वाह चलाइएको छ,” साथीसँग दुखेसो पोख्यो घनश्यामले ।
“तिमीले त यही भए पनि बनायौ, आफू त उपत्यका छिर्नै सकिएन । छोइनसक्नुको जग्गा कसरी किन्नु ? जेनतेन किने पनि घर कसरी बनाउनु ?,” ज्ञानहरिले विवशता प्रकट गर्यो ।
बिहानी हिँडाइमा गफ गर्दै उनीहरू उकालो चढिरहेका थिए ।
“त्यो बेला ऋणधन गरीवरी भर्खर प्लटिङ गरेको एक टुक्रा लिइयो । पछि पहाडतिर भएको घरखेत बेचेर मुस्किलले त्यही सानो घर ठड्याइयो । बाआमा त गाउँ छोड्न मान्दै मान्नुभएको थिएन, बल्लतल्ल फकाएर ल्याएको हुँ,” घनश्यामले संक्षेपमा विगत सुनायो ।
“बाआमाको कुरा ठिकै त हो नि, बुढेसकालमा आफ्ना साथीसँगाती, इष्टमित्र छोडेर, आफूले पसिना बगाएर जोडेको श्रीसम्पत्ति छोडेर पराई भूमिमा बसाइँ सर्न कहाँ मान्छ त मनले ! आफ्नो गाउँको प्राकृतिक हावापानीमा स्वतन्त्र भई खेली खाएका बुढाबुढीलाई सहरको बन्द कोठामा ल्याएर राख्नु त जेल हाल्नुजस्तै त हो नि,” मनमा लागेको सर्लक्क सुनायो ज्ञानहरिले ।
असिनपसिन भएका उनीहरू डाँडोमा पुगेर सुस्ताए ।
“हेर, खत्तमै पारे नि दलेहरूले ! भएको सबै उब्जाउ जमिन प्लटिङ गरेर कंक्रिटको जंगल बनाए । अलिकति पारिलो घाम ताप्नु र स्वच्छ हावा खानु पनि दुर्लभै भयो यो सहरमा । कसरी टिक्ने हो अब !,” डाँडाबाट तलतिर नियाल्दै लाजै पचाएर दलेलाई सराप्यो घनश्यामले ।
(रुपन्देही)