site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लेखा समितिमा व्यवसायीले भने– बिनाप्रमाण कसरी महसुल तिर्ने ?

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको छलफल सार्वजनिक लेखा समितिमा पुगेको छ । संघीयसंसद्अन्तर्गतको लेखा समितिले बिहीबार डेडिकेटेड तथा ट्रंकलाइनको विवादमा उद्योगीसँग छलफल गरेको हो । 

लामो समयदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रंकलाइनको विवादमा पटक–पटक लाइन काट्ने, जोड्ने विषय भएपछि यसको निरुपणका लागि लेखा समितिले छलफल गरेको हो ।

समितिमा सांसद लेखनाथ दाहालले डेडिकेटेड तथा ट्रंकलाइन राष्ट्रिय समस्या भइसकेको र यसलाई अदालतले पनि असुल गर्नू भनेर भनिसकेको अवस्थामा छलफलभन्दा पनि बक्यौता उठाउनु पर्नेमा जोड दिए । “यो छलफल केका लागि छ भन्ने म सभापतिसँग प्रश्न गर्न चाहन्छु,” उनले भने, “अदालतले नै महसुल उठाउनु भनेको अवस्थामा महसुल उठाउन पर्छ ।”

लाल आयोगको प्रतिवेदन गोलमटोल रहेको र मन्त्रिपरिषद्ले समेत आठ अर्ब ३६ करोड असुल गर्नु भनेको हुँदा कार्यान्वयन गर्नुपर्ने बताए ।

सांसद अमनलाल मोदीले यसअघि मिनेन्द्र रिजालको संयोजकत्वमा बनेको समितिले नै स्पष्टरूपमा उठाउने प्रतिवेदन दिएको हुँदा महसुल उठाउनु पर्नेमा जोड दिए । लाल आयोगको प्रतिवेदन सरकारले राम्रोसँग सार्वजनिक नगरेको र उक्त आयोगको प्रतिवेदन समितिलाई उपलब्ध गराउन माग गरे ।

डेडिकेटेड तथा ट्रंकलाइन गम्भीर र संवेदनशील विषय भएकाले नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गरेर त्यसको विषयमा धारणा बनाउनुपर्नेमा कांग्रेस सांसद सञ्जय गौतमले जोड दिए । उद्योगी र प्राधिकरण दुवैको कुरा सुनेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

उद्योगीहरूलाई नै गलत देखाउने गरी भाष्य निर्माण भएको सांसद तारा लामाले बताए । जनताले डेडिकेटेड तथा टं«क लाइन बुझ्न नसकेको र यसबारे दुवै पक्षसँग बसेर धारणा बनाउनुपर्ने बताए ।

यता, सांसद गोकुल बास्कोटाले उद्योगीहरूले विद्युत् प्रयोग गरेको डाटा नै नभएको भन्ने कुरा सुनेको बताए । यो डाटा कसरी डिलिट भयो सो सम्बन्धमा बुझ्नुपर्नेमा जोड दिए । 

आम्दानी नै नभएको रकम आम्दानी भएको भनेर कर तिर्नु गम्भीर विषय भएकाले पर्याप्त छलफल हुनुपर्ने बास्कोटाले जोड दिए । तथ्यांक बुझेर र पूर्ण जानकार भएपछि मात्रै यस विषयमा समितिले निर्णय गर्नुपर्ने उनले बताए । 
 
सांसद मनीष झाले आफ्ना नेता आएपछि गएर फोटो खिचाउने र ज्ञापनपत्र बुझाउने जस्ता कार्यले पनि हालसम्म यो समस्या हल नभएको बताए । “९ वर्ष पुरानो विवाद हालसम्म स्पष्ट हुन सकेको छैन । यसमा दुवै पक्ष दोषी छ,” उनले भने, “कुनै कम्पनीले डाटा छैन, मैले तिर्न पर्दैन भनेर भन्छ भने त्यो गलत छ । मसँग केही प्रमाण पनि छ ।”

उद्योगी पशुपति मुरारकाले उद्योगीले महसुल तिर्दिनँ नभनेको र यसमा आफूहरूले प्रमाण मात्रै खोजेको बताए । प्राधिकरणले प्रमाण दिएमा सबै उद्योगीहरू महसुल तिर्न तयार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योगीले महसुल तिर्न कुनै कञ्जुस्याइँ नगरेको र प्राधिकरणले पर्याप्त प्रमाण दिएमा तिर्न सधैँ तयार रहेको बताए । “उद्योगीहरूले तिर्दिन भनैकै छैनन् । बिनाप्रमाण कसरी महसुल तिर्ने ?,” उनले भने, “हामीलाई प्रयोग गरेको डाटा दिओस् कुनै पनि उद्योगको बक्यौता बाँकी हुँदैन । ” 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro