काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मन्त्री छनोट गर्दा प्रदेश कार्यसमितिलाई बेवास्ता गरिएको भन्दै केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै बुधबार उनले पार्टीबाट सरकारमा पठाउने व्यक्तिहरूको छनोट गर्दा प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधानविपरीत मन्त्रीहरू पठाइएको बताएका छन् ।
उनले देउवालाई निर्णयमा पुनर्विचार गर्न पनि आग्रह गरेका छन् । आम कार्यकर्ताको भावनाविपरीत मन्त्रीहरू छनोट भएको जनाउँदै उनले असन्तुष्ट कार्यकर्ताको बृहत् भेला गरी यथोचित निर्णयमा पुग्ने चेतावनी पनि दिएका छन् ।
"निर्णयलाई पुनर्विचार गर्न नेपाली कांग्रेस केन्द्रीय नेतृत्वलाई हार्दिक आग्रह गर्दछौँ । अन्यथा वैधानिक प्रक्रियाविरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका साथीहरूसँग बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने कुरा जानकारी गराउँदछु," उनले भनेका छन् ।
प्रदेश सभापति पुन शेखर कोइराला निकट हुन् ।