site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुस–युक्रेन युद्धमा बन्दी बनेका नेपालीलाई फिर्ता ल्याउन अमेरिका र भारत गुहार्दै सरकार

काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा युद्धबन्दी बनेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारले अमेरिका र भारतसँग छलफल गरेको छ ।

परराष्ट्रमन्त्री आरजु राणाले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग युद्धबन्दी बनेका नेपालीलाई फिर्ता ल्याउने विषयमा छलफल गरेकी हुन् । 

“अनौपचारिकरूपमा हामीले नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतलाई भूमिका खेलिदिन पर्‍यो भनेका छौँ । रुसी साइडबाट लडेका नेपालीलाई रिहा गरिदन पर्‍यो भनेका छौँ,” परराष्ट्र मन्त्री राणाले बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भनिन् । 

Dabur Nepal
NIC Asia

उनका अनुसार रुसी सेनामा भर्ती भई युक्रेनसँग युद्ध लड्ने क्रममा हालसम्म ६ जना नेपाली नागरिकलाई युक्रेनले युद्धबन्दी बनाएको छ । उनीहरूलाई छुटाएर स्वदेश ल्याउन आफूले हरसम्भव प्रयास गरिरहेको उनले जनाइन् ।

“भारतीय राजदूत पनि मलाई भेट्न आउनुभएको थियो । उहाँहरूको युद्धबन्दी फर्काएर ल्याउने भन्ने कुरा भएको रहेछ । छलफल गर्दा तपाईंहरूले भन्नुभयो, हामी तपाईंहरूका नागरिक पनि ल्याइदिन्छौँ भन्नुभएको छ । यो अनौपचारिक छलफल हो,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

रुसलाई पनि आफ्ना युद्धबन्दी युक्रेनसँग आदानप्रदान गर्ने क्रममा नेपाली नागरिकलाई राख्न अनुरोध गरिएको उनले सुनाइन् । 

“हिजो काठमाडौंस्थित रुसी दूतावासका उपनियोग प्रमुख (डीसीएम) भेट्न आउनुभएको थियो । राजदूत बिरामी भएकाले उहाँ आउनुभएन । हामीले युक्रेनसँग युद्धबन्दी आदानप्रदान गर्दा युक्रेनमा युद्धबन्दी बनेका नेपालीलाई पनि समावेश गर्न अनुरोध गरेका छौँ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

जवाफमा रुसी दूतावासका डीसीएमले युक्रेनले युद्धबन्दी बनाएका ६ जना नेपालीमध्ये एक जनालाई बन्दी आदानप्रदानमा राखिएको जानकारी दिएका थिए । यो प्रक्रियामा अघि बढिसकेको उनले जनाइन् ।

युद्धका कारण रुसको विदेश मन्त्रालय निष्क्रिय र रक्षा मन्त्रालय बढी सक्रिय भएकाले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन अप्ठेरो परेको उनले बताइन् ।

“नेपाली फिर्ता ल्याउने सम्बन्धमा अझै पनि यसै गर्ने भन्ने कार्य योजना अघि बढ्न सकेको छैन । यसभन्दा अगाडि मे २०२४ मा नेपालीलाई भर्ती नगर्ने भन्ने रुसले अनौपचारिक निर्णय गर्नुभएको छ । जसकाकारण जाने क्रम रोकिएको छ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

उनले रुसी सेनामा भर्ती भएका नेपालीको यकिन संख्या आफूसँग नभएको स्वीकार गरिन् । हालसम्म रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेको संख्या ३४ पुगेको उनले जानकारी दिइन् । रुसले युद्धका क्रममा मृत्यु भएको शंकामा २२ जना नेपालीको डीएनए परिक्षणका लागि पठाएको समेत उनले बताइन् । डीएनए परीक्षणका लागि आएका सबैको मृत्यु भइसकेको तर औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

डीएनए परीक्षणका लागि आएको समेत जोड्द रुस–युक्रेन युद्धमा हालसम्म ५६ जनाको मृत्यु भइसकेको छ । 

“नेपालीलाई फिर्ता पठाउने सन्दर्भमा मस्कोस्थित नेपाली दूतावासले काम गरिरहेको छ । हालसम्म रुसी सेनामा ३२१ जना नेपाली रहेको रेकर्ड प्राप्त भएको छ । त्योभन्दा पनि धेरै छन् रे भन्ने छ,” परराष्ट्रमन्त्री राणाले भनिन् । 

उनका अनुसार हाल रुसी सेनामा भर्ती भई युद्धका क्रममा घाइने हुने नेपालीको संख्या पाँच छ । यसमध्ये एकजना नेपाल फर्किसकेका छन् । मस्कोस्थित नेपाली दूतावासले समन्वय गरी रुसी सेनामा भर्ती भएका १५० जनालाई नेपाल फिर्ता पठाएको जानकारी उनले समितिलाई दिइन् ।

“हाल रुसबाट उद्धारका लागि अनुरोध गर्ने ३२३ जना छन् । सम्पर्कमा नभई खोजी र फिर्ताका लागि निदेदन दिनेको संख्या ११६ छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गर्ने १६१ जना छन्,” परराष्ट्रमन्त्री राणाले बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro