site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय गोताखोर के गर्दैछन् ? किन भेटिँदैनन् त्रिशूलीमा खसेका सवारी साधन ? 
SkywellSkywell

काठमाडौं । १२ दिनदेखि त्रिशूली नदीमा बेपत्ता दुईवटा बसको अवस्था अझै अज्ञात छ । असार २८ गते बिहान साढे तीन बजे काठमाडौंबाट गौर जाँदै गरेको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बस एकसाथ त्रिशूली नदीमा खसेका थिए ।

भरतपुर महानगरपालिका–२९ नारायणी–मुग्लिन सडक खण्डको सिमलतालमा आएको पहिरोमा परेर बस त्रिशूलीमा पुगेका हुन् ।  दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए । त्यसमध्ये तीन जना जीवितै फेला परेपनि ६२ जना बेपत्ता भए ।

हालसम्म २४ जनाको शव फेला परेको छ । अन्यको अवस्था अझै अज्ञात छ । बेपत्ताहरुको जीवितै भेटिने सम्भावना सकिएको उद्धारमा खटिएका सुरक्षा अधिकारीको भनाइ छ ।

Dabur Nepal
NIC Asia

त्रिशूलीमा नदीमा बेपत्ता वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना यात्रु र काठमाडौंबाट गौर जाँदै गरेको गणपती वाग्मती प्रदेशको ०३–०११ ख २४९५ नम्बरको बसमा २७ जना यात्रु सवार थिए ।

हराइरहेका बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली सोही दिनदेखि त्रिशूलीमा निरन्तर खटिएका छन् । तर, बस अझै फेला पार्न सकेको छैन ।

त्रिशूली नदीमा पानीको उच्च बहाब र धमिलो पानीका कारण बसहरुको खोजी कार्यमा कठिनाइ भइरहेको खोजीमा सक्रिय गोताखोरहरुले बताउँदै आएका छन् । बस र यात्रुको खोजी तीव्र पार्न सरकारले भारतीय गोताखोरको टोलीको समेत सहयोग मागेको थियो ।

भारत सररकाले १२ जनाको उद्धार टोलीलाई नेपाल पठाएको छ ।  आइतबारदेखि भारतीय टोलीले समेत त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीको कार्य थालिसकेका छन् । १२ जनामध्ये चारजना गोताखोर र आठजना प्राविधिक रहेको चितवन प्रहरीले जनाएको छ ।

भारतीय टोलीसँग पनि छैन अत्यधुनिक प्रविधि

बेपत्ता बसहरुको खोजीका लागि भारतीय टोली आए पनि उनीहरुसमेत सशस्त्र प्रहरी बलकै भरमा त्रिशूलीमा होमिएका छन् ।  भारतीय टोलीले समेत सशस्त्र प्रहरीले प्रयोग गरेको प्रविधि बाहेक अन्य कुनै नयाँ प्रविधि ल्याएको छैन ।

पानीमुनि रहेको वस्तुको आकृति देखिने सोनार क्यामेरा बाहेक अन्य उपकरण उनीहरुसँग समेत छैन । चितवन प्रहरीका अनुसार सशस्त्र प्रहरीले नै प्रयोग गरेको सोनार क्यामरा भारतीय टोलीले पनि प्रयोग गरेको छ । त्यो बाहेक अन्य अत्यधुनिक प्रविधि भने छैन । भारतीय टोलीले समेत दुईवटा सोनार क्यामेरा ल्याएका छन् ।

बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीले दुईवटा सोनार क्यामेरा, र्‍याफबोट र मोटरबोट प्रयोग गर्दै आएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बलले बस पहिरोमा परेको सिमलतालदेखि ८० किलोमिटरको दूरी गोलाघाटसम्म निरन्तर गोताखोरको टोली खटिएको छ ।

गोलाघाटदेखि दक्षिणतर्फभने राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले जंगली जनावर र गोहीका कारण गोताखोरको टोली नदीमा पस्न सक्ने अवस्था नरहेको डीएसपी थापाको भनाइ छ । त्रिशूली र नारायणी नदीको संगमस्थाल देवघाटभन्दा दक्षिणतर्फको भागमा गोही भएकाले पनि डुबेर खोजी गर्न कठिनाइ भएको छ ।

पूर्वगृहमन्त्री सवार स्करपियो नै ८ वर्षदेखि बेपत्ता

त्रिशूली नदीमा खसेका बस बेपत्ता भएको यो पहिलो घटना होइन । यसअघि २०४९ साल मै झापा हुँदै काठमाडौं आउँदै गरेको स्वाभिमान परिवहनको बस समेत त्रिशूलीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ४२ जना यात्रुसमेत बेपत्ता भएका थिए । यद्धपी उक्त बसको विवरण भने कुनै पनि निकायले राखेको छैन ।

त्यो बाहेक २०७३ असोज ९ गते मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किदै गरेको पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार बा९च १५३१ नम्बरको स्करपियो त्रिशूली नदीमा खसेको थियो ।

पूर्वगृहमन्त्री घिमिरेसहित उनको परिवारका सदस्य सवार स्करपियो चितवन दारेचोकस्थित घोप्टेभिरबाट खसेको थियो । त्यसमा सवार सबैको शवसमेत फेला पर्न सकेन । स्करपियोको खोजीका लागि सरकारले बंगलादेशबाट समेत गोताखोरको टोली मगाएको थियो ।

तर, बंगलादेशको टोली त्रिशूली नदीको बहाबका कारण नदीभित्र नै पस्न नसकी फर्किएको थियो ।  त्यस्तै २०७४ असार ९ गते राति साढे एक बजे चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आएको पहिरोमा परी डिउटिमै खटिएको प्रहरीको स्कारर्पियो र मालबहाक ट्रक नै त्रिशूलीमा खसेको थियो ।

प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित चारजना सवार ना १ झ१३९० नम्बरको स्करपियो र ना५ख ७८२७ नम्बरको मालबाहक ट्रक बेपत्ता भएको थियो । चारजनाको शव फेला परे पनि स्करपियो र ट्रक भने फेला परेन ।

त्यसरी नै २०७९ वैशाख २५ मा ग १ त४८९८ नम्बरको ट्याक्टरसमेत त्रिशूलीमा खसेको थियो । ट्याक्टर चालक इच्छाकामना–१ का मगर सिंह चेपाङ र ट्याक्टर अझै बेपत्ता छन् ।

किन भेटिँदैनन् त्रिशूलीमा खसेका सवारी साधन ?

सशस्त्र प्रहरी बलका गोताखोरका अनुसार त्रिशूलीमा खसेका बसहरु बेपत्ता हुनुको प्रमुख कारण नदीको बहाब नै बढी हुनु हो । वर्षाको समयमा खस्ने सवारी साधनहरु अधिकांश भेटिँदैनन् ।

वर्षामा खसेका सवारी साधनहरुलाई नदीको बहाबले बगाउँदै विभिन्न ठाउँमा पुर्‍याउने र हिउँदमा सवारी साधनका टुक्राटाक्री भेटिने गरेको चितवन प्रहरीका डीएसपी भेषराज रिजालले जानकारी दिए । 

पानीको बहाबका नदीमा खसेका गाडीको टुक्रा फेला परे पनि हिउँदसम्म चिन्नै नसकिने हुने उनको भनाइ छ ।

त्रिशूली नदी गहिरो र पानीको बहाबका कारण नदीभित्रका ढुंगाहरुमा ठोक्किएर सवारी साधनको स्वरुप बिग्रिने तथा ढुंगाकै कापहरुमा अड्किँदा सवारी साधन भेटिने सम्भावना न्युन हुने डीएसपी रिजालको भनाइ छ ।

उनी भन्छन्, “अहिले त्रिशूली नदीको बहाब प्रतिघण्टा ८० देखि एकसय किमीसम्मको गतिमा छ । यस्तो बेला बसहरुका पाटपुर्जा टुक्राटाक्री भएर हराउने तथा बालुवाभित्रै पुरिने सम्भावना बढी हुन्छ । अहिलेकै हराएका बसहरुको अवस्था पनि त्यही हुन सक्छ । तर पनि अन्तिम समयसम्म खोजी कार्य भने जारी राखिनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu