site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

बेनी । म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटरभन्दा बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक  कालोपत्र र चार किमी सडक ढलान भएको हो । 

सडक स्तरोन्नति आयोजनामार्फत सडक ढलान, कालोपत्र र पहुँच विस्तारको काम भएका पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेश सरकारमार्फत सञ्चालित रणनीतिक महत्वको बेनी–दरबाङ सडकखण्डअन्तर्गत मङ्गला गाउँपालिका–२ सिमबाट तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म तीन किमी सडक डीबीएसडी कालोपत्र गरिएको कार्यालय प्रमुख पौडेलले बताए । 

‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’अन्तर्गत गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी डीबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान भएको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । 

मालिका गाउँपालिकाको केन्द्र दरवाङको उपल्लो बजारमा ४२४ मिटर सडक कालोपत्र भएको छ ।

मालिकाको केन्द्र दरवाङबाट सोही पालिकाको वडा नं ५ फेदी हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्म छ किमी सडक स्तरोन्नति गर्ने काम यसै वर्ष सकिएको छ । नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धवलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बनेको स्थानीयवासी किरण थापाले बताए । 

कार्यालय प्रमुख पौडेलका अनुसार एक वर्षमा म्याग्दीमा दुईवटा मोटरेबल पुल, एक झोलुंगे पुल, ३१  कल्भर्ट र १२ कजवे निर्माण गरिएको छ । ११ किलोमिटरभन्दा बढी नयाँ सडकको पहुँच निर्माण भएको छ । रासस

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्