काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएका छन् । एमालेले उनलाई सञ्चारमन्त्री बनाउने निधो गरेको स्रोतले जानकारी गराएको छ ।
यस्तै, एमालेले अर्थ मन्त्रालयमा विष्णु पौडेललाई लैजाने भएको छ । रक्षामा मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमा विद्या भट्टराई, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासनमा राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा बलराम अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देवेन्द्र दाहाललाई लैजान लागिएको एमाले स्रोतले जानकारी दियो ।
नेकपा (एमाले)का अध्यक्ष समेत रहेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आजै केही मन्त्रीले पनि शपथग्रहण गर्नेछन् ।