site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

विकासको रहरले ल्याएको विनाशको भयावह परिणाम देखिन थालेको छ । मनसुनी वर्षा सुरु हुनेबित्तिकै बाढीको कहर मच्चिएको थियो । त्यसपछि पहिरोले धेरैको ज्यान लियो । पछिल्ला दिनहरूमा पहिरोका कारण सडक क्षतविक्षत र यातायात अस्तव्यस्त हुनपुगेको छ ।

खोला र नदीहरूमा आउने बाढी पहिलेभन्दा बढी विनाशकारी हुनुमा प्रकृतिमात्र दोषी छैन । खोला, नदी किनारमा अतिक्रमण र जलाधार क्षेत्रको निर्मम दोहन अर्थात् मानवीय कारण पनि उत्तिक दोषी छ । यसमा विश्व तापक्रम वृद्धिको पनि भूमिका रहेको मानिन्छ ।

सडकहरूमा गएको पहिरो र त्यसबाट भएको क्षतिका लागि भने मूलतः मावीय क्रियाकलाप नै दोषी छ । विशेषगरी २०६३ सालपछि गाउँगाउँमा मोटर पुर्‍याउने होड नै चल्यो । यही होडले जन्माएको ‘डोजरे विकास’ विकास अहिले भयावह विध्वंशको मूल कारक बन्यो ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस वर्ष मनसुनको सुरुमै भएको पहिरोजन्य विध्वंशमा प्रत्यक्ष वा परोक्षरूपमा डोजरे सडकहरूको भूमिका देखिएको छ । यस्तै गलत डिजाइन र निर्माणमा भएका अनियमितताबाट पनि सडकहरू क्षतविक्षत हुनपुगेका हुन् । आउँदा वर्षहरूमा स्थिति झन् भयावह हुने निश्चितै छ ।  

यसैगरी यातायात सेवाको नियमन र व्यवस्थापनप्रति सरकारी उदासीनताले पनि दुर्घटना थप भयावह हुनेगरेको देखिन्छ । उदाहरणका लागि चितवनको सिमलतालमा पहिरोका कारण नदीमा खसेका यात्रुवाहक बसमा सुरुमा टिकट नकाटेका कति यात्रु थिए भन्ने कुनै कागजबाटै खुल्दैन । 

यसैगरी अहिले वर्षाको पूर्वानुमान गर्ने प्रविधि अपेक्षाकृत बढी भरपर्दो भइसकेको छ । हाम्रा अधिकांश सडक कलिला पहाड खोस्रेर बनाइएकाले ठूलो पानी पर्दा पहिरोले थुनिने जोखिममा हुन्छन् । तर, यातायात सेवा सञ्चालनमा भने जोखिमअनुसार हेरफेर गरिँदैन ।

अधिकांश विध्वंश मूलतः मानवीय त्रुटि र कमजोरीका कारण भएकाले राज्य संवेदनशील हुने हो भने रोक्नै नसके पनि क्षति कम गर्न सकिन्छ । विकाससम्बन्धी धारणामा परिवर्तन गरी वातावरणीय सुरक्षालाई प्राथमिकता दिने नीति अभ्यासमै अपनाउनु सम्भवतः  यसमा पहिलो कदम हुनसक्छ । 

आफ्नो गाउँमा मोटर पुगोस् भन्ने चाहनालाई अन्यथा ठान्नु न्यायोचित हुँदैन । तर, यस्तो जनचाहना पूरा गर्दा अहिले जसरी प्रविधिक र वातावरणीय पक्षको उपेक्षा गरिनु आत्मघाती हुन्छ ।  यसैले  राज्यले नै यथासम्भव सबै गाउँसम्म सडक पुर्‍याउने योजना बनाउनुपर्छ । 

 सडक निर्माण जटिल प्राविधिक काम हो भने वातावरणीय मापदण्ड पालना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । जनताको रहर पूरा गर्नैका लागि अधिकांश स्थानीयतहले अपनाउने गरेको ‘डोजर ड्राइवर इन्जिनियरिङ’लाई पूरै बन्देज लगाउनु पनि उत्तिकै आवश्यक देखिन्छ ।

साथै, राजमार्गहरूको विस्तारको साटो नयाँ बाटो खोल्ने विकल्पमा पनि गम्भीर हुनु आवश्यक छ । पहाडी क्षेत्रमा एउटै फराकिलो भन्दा धेरैवटा वैकल्पिक सडकहरू बनाउनु बुद्धिमानी हुने देखिन्छ । अहिले त एउटा बाटो बन्द हुनेबित्तिकै आपूर्ति शृङ्खला नै बन्द हुनपुग्छ । 

उदाहरणका लागि बल्लबल्ल स्थिर हुँदैगरेको मुगलिङ-नारायणघाट सडक विस्तारका नाममा खोस्रेर खलबल्याउनुको साटो पारिपट्टि अर्को सडक बनाएको भए रणनीतिक दृष्टिबाट पनि उचित हुन्थ्यो । यस्तै पहिरोको जोखिमको विस्तृत अध्ययन गरी रोकथामका उपाय बेलैमा अपनाउनुपर्थ्यो । 

अहिले बनाइएकामध्ये अधिकांश डोजरे सडक इन्जिनियरिङका दृष्टिमा सवारी चलाउनै अनुपयुक्त मानिन्छन् । तर, तिनलाई बन्द गरेर पनि समस्या समाधान हुँदैन । यसैले अहिलेका डोजरे सडकको प्राविधिक अध्ययन गरेर तिनलाई पहिरो नियन्त्रण हुनेगरी वातावरणमैत्री बनाउन प्राथमिकता दिनुपर्छ ।

प्राविधिक र वातावरणीय मापदण्ड पूरा हुँदै नहुने सडक भने बन्दै गर्नुपर्छ । सिमलतालको पहिरोको मूल कारण मुगलिङ-नारायणघाट सडकमाथि बनाइएका डोजरे सडकहरू हुनसक्छन् । ठूला राजमार्ग बिगार्नेगरी बनाइएका सडक र खनिएका खानीबन्द गर्न  पनि ढिलाउनु हुँदैन ।  

राज्यका तीनै तहका शासकहरू अहिलेजस्तै डोजरे विकासमा अल्झिने हो भने आउँदा दिनमा झन् भयावह विपत्ति भोग्नुपर्ने विश्चित छ । अहिलेकै अवस्था रहिरहेमा डोजरे सडकमात्रै होइन ठूला राजमार्ग पनि धेरै समय नटिक्ने जोखिम बढ्दै जाने निश्चित प्रायः देखिन्छ ।     
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro