काठमाडौं । तीन महिना अघिसम्म पूर्वमन्त्री मोहम्मद अफताब आलम जेलमुक्त भइन्छ कि भन्ने झिनो आशाले कैद जीवन भोगिरहेका थिए ।
२०६४ चैतको संविधानसभा चुनावको अघिल्लो साँझ रौतहटको राजापुरस्थित फरहदवामा बम बनाउँदा बनाउँदै विस्फोट भयो । उक्त घटनाका घाइते ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा उनी पक्राउ परेका थिए । उनी कांग्रेस उमेदवार थिए ।
घटनाको १२ वर्षपछि पक्राउ परेका आलम यतिखेर ललितपुरस्थित नख्खु कारागारमा छन् ।
२०७६ असोजमा रौतहटबाट पक्राउ परेका आलम रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो । तर सुरक्षाका कारण देखाउँदै प्रहरीले आलमलाई ललितपुरको नख्खु कारागार ल्याएको हो ।
पक्राउ पर्दाका बखत आलम रौतहट–२ बाट प्रतिनिधिसभाका कांग्रेस सांसद थिए ।
उनी पूर्वश्रममन्त्री पनि हुन् । २०८१ वैशाखमा भने जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई बम बिस्फोट घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।
अब उच्च र सर्वोच्च अदालतले जिल्लाको फैसलाविरुद्ध कुनै पुनरवलोकन नगरे उनी २५ वर्ष जेलभित्र बस्नुपर्ने हुन्छ । जेलबाहिर हुँदा रवाफका साथ हिँड्ने आलम नख्खु कारागारमा रवाफका साथ बसेका छन् ।
आलम दिनभर धेरैजसो समय कोठाभित्रै बिताउँछन् । कोठाबाहिर निस्कदा भने निजी सुरक्षा गार्डसहित निस्कने गर्छन् ।
कारागार स्रोतका अनुसार, आलम आफैँले कारागारभित्र अन्य अपराधमा जेल पुगेका एक दर्जन युवाहरूलाई तलबसहित गार्ड राखेका छन् । उनलाई नख्खु कारागारको सीआरसी ब्लक–२ को दोस्रो तलामा राखिएको छ ।
ठीक आलमकै जस्तै बम काण्डमा दोषी ठहरिएका अर्का राजनीतिक अपराधकर्मी पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) पनि हाल नख्खु कारागारभित्रै छन् ।
उनी जनकपुर बम काण्डका प्रमुख योजनाकार मानिन्छन् । साहलाई पनि जिल्ला अदालत धनुषाले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । २०६९ वैशाखमा जनकपुरधामको रामानन्द चोकमा मिथिला आन्दोलनका क्रममा बम विस्फोट भएको थियो ।
जहाँ पाँचजनाको ज्यान गएको थियो । तल्कालीन धनुषा जिल्ला न्यायाधीश राजेशकुमार कटुवालको इजलासले साहसहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
साह २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट धनुषा–४ मा विजयी भएका थिए । त्यसपछि दोस्रो संविधानसभामा तत्कालीन सद्भावना पार्टीका तर्फबाट धनुषा–३ मा विजयी भएका थिए । साह भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बनेका थिए ।
जनकपुरमा हुने ठूला आपराधिक गतिविधिमा संलग्न भएको आरोप लाग्ने गर्थ्यो । साहले निर्वाचन जित्दा स्वचालित बन्दुकबाट तीन राउन्ड फायर गर्दै खुसीसमेत मनाएका थिए । २०७१ सालदेखि उनी कारागारभित्र छन् ।
ध्यान गर्छन् साह
सञ्जय साह र अफताव आलम दुवै मधेस प्रदेशका हुन् । यसबाहेक उनीहरूबीच केही समान विशेषता पनि छन् । उनीहरू दुवै आपराधिक पृष्ठभूमिका राजनीतिकर्मी हुन् । जेल जीवन भोग्नुभन्दा पहिला उनीहरू दुवै मधेसमा आ–आफ्नो दबदबा राख्न चाहन्थ्ये ।
आलम कांग्रेस र साह तत्कालीन जनअधिकार फोरममा थिए । सञ्जय विद्यार्थीकालदेखि गुण्डागर्दीमा सक्रिय थिए । जनकपुर बम काण्डबाहेक अन्य अपराधमा समेत उनी संलग्न छन् । तर, दुवैलाई जेल पुर्याउने अपराधका कारण भने बम विस्फोटनका घटना बन्यो । नख्खु कारागारले आलमलाई सीआरसी र साहलाई बीआरसी भवनमा राखेको छ ।
उनीहरूलाई सँगै राख्दा सुरक्षा जोखिम बढ्न सक्ने आलकन गरेर कारागार प्रशासनले छुट्टाछुट्टै भवनमा राखेको हो । उनीहरू दुवै दिनभर आफ्ना कोठामै बस्छन् ।
आलमको तुलनामा सञ्जय अलि बढी अध्यात्मतिर लागेको देखिएको कारागार प्रमुख मीत्रलाल शर्माको भनाइ छ । उनीहरू दुवै कोठाभित्र टीभी हेरेर बस्छन् । साह बिहान मर्निङ्गवाकमा निस्कने र ध्यानमा बस्ने गर्छन् ।
आलम भने बाहिर साँझपख निस्कन्छन् । आलम हिँड्दा उनका अघि–पछि युवाहरू हुन्छन् । उता सञ्जयका साथमा पनि युवाहरू नै हुन्छन् । युवाहरूलाई साथमा राखेर रवाफ देखाउने उनीहरूको शैली कारागारमा पनि उस्तै छ ।
बैंकिङ कसूरमा जेल जीवन गुजारेर भर्खरै छुटेका एक कैदीका अनुसार, आलमले मासिक तलब दिई केही युवाहरू आफ्नो साथमा राखेका छन् । ती व्यक्ति भन्छन्, ‘‘साह पनि युवाहरूलाई प्रभावित पारी आफ्नो साथमा राख्ने र ध्यानमा बस्दा तिनलाई राख्छन् । आलम र साह कारागारभित्र ‘को शक्तिशाली ?’ प्रतिस्पर्धा चले जस्तो देखिन्छ ।’’
कारागार प्रमुख शर्मा पनि उनीहरूसँग नजिकिन पाए हुन्थ्यो भन्ने भाव अन्य कैदीहरूमा देखिएको बताउँछन् । उनले भने, ‘‘बडीगार्ड नै त राख्न मिल्दैन । उनीहरूले बडी गार्ड राखेको विषयमा हामीलाई जानकारी छैन । तर, अन्य कैदीको तुलनामा उनीहरूसँग नजिकिन अन्य कैदीहरू खोज्छन् ।’’
शर्माका अनुसार, आलम र साह दुवैलाई भेट्न बाहिर पनि चिनिने अनुहार नै धेरै आएको देखिन्छ । जन्मकैदकै सजाय हुँदा पनि अलाम र साह दुवैमा हिनताबोध नदेखिने भर्खरै बाहिरिएका एक बन्दी बताउँछन् ।