site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदीको रसिया भ्रमण– युक्रेनलाई झड्का, अमेरिका असन्तुष्ट

युक्रेन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणका सम्बन्धमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तिखो प्रतिक्रिया दिएका छन् ।

जेलेन्स्कीले सो भ्रमणलाई भारी निराशाजनक भएको टिप्पणी गरेका छन् । 

उनले सोसल मिडिया एक्समा लेखेका छन्, “यसबाट धेरै निराशा भयो । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका नेता एक यस्तो दिनमा मस्कोमा विश्वकै सबैभन्दा अपराधीसँग  गला लगाएको देख्नु शान्ति प्रयासका लागि ठूलो झड्का हो ।”

Argakhachi Cement Island Ad

मोदीको मस्को भ्रमण यस्तो बेलामा भएको छ सोही दिन रुसले युक्रेनको राजधानीमा नै आक्रमण गरेको थियो । 

त्यसमा पनि बाल अस्पताललाई लक्षित आक्रमण भएको थियो । 

यही समयमा अमेरिकाको राजधानी वाशिङटनमा नर्थ एटलान्टिक सन्धि संगठन(नेटो)को बैठक चलिरहेको थियो । 

यस्तो अवस्थामा पश्चिमका मिडिया र नेताहरु मोदीको मस्को भ्रमणको बारेमा प्रश्न उठाइरहेका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारको  जवाफ दिने क्रममा भारत र रुसको सम्बन्धलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

युक्रेनमाथि रुसको हमलापछि भारतलाई पश्चिमा जगतले रुससँग दूरी बनाएर राख्न आग्रह गर्दै आएको छ । 

अर्कातर्फ भारतले यो दबाबको सामुन्ने झुक्न अस्वीकार गरेको छ र आफ्नो पुरानो साथीसँग रक्षा र अन्य आर्थिक सम्बन्धमा रोक पनि लगाएको छैन । मोदी फेब्रुअरी २०२२मा युक्रेनमाथि रुसी हमलापछि पहिलोपटक मस्को पुगेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मोदीको रुस भ्रमण सम्बन्धी प्रश्नमा भनेका छन्, “हामी मोदीको टिप्पणीलाई हेर्नेछौं कि उनको रुससँगको वार्तामा के कुरा भयो । तथापि हामी यो मामिलामा प्रष्ट छौं कि भारत र रुसको सम्बन्धलाई लिएर हामी चिन्तित छौं ।”

उनले भनेका छन्, “हाम्रो अपेक्षा छ कि भारत वा अन्य मुलुक जो रुससँग सम्बन्ध अघि बढाइरहेका छन् उनीहरुले राष्ट्रपति भ्लादिमिर पुटिनका सामुन्ने स्पष्ट गरुन कि युक्रेनको सम्प्रभुता र क्षेत्रीय एकतालाई लिएर संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान हुनु जरुरी छ ।”

भारतका प्रधानमन्त्री मोदी जब गएको सोमबार मस्को पुगेका थिए पुटिनले आफ्नो घरमा उनलाई न्यानो स्वागत गरेका थिए । दुवैले एक अर्कासँग गला मिलाएका थिए । 

थिंक ट्यांक रेड कर्पोरेसनमा इन्डो प्यासिफिक मामिलाका विशेषज्ञ डेरेक जे ग्रासम्यानले ७ जुलाईमा मोदी र पुटिनले गला मिलाएको पुरानो तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका थिए, “सोमबार मोदीले सायद नै पुटिनलाई गला लगाउनेछन् वा चुम्नेछन् ।”

तर, सोमबार उनीहरुले गला मिलाएको तस्बिर देखेपछि डेरेकले फेरि लेखेका छन्, “मेरो अनुमान गलत थियो कि मोदी र पुटिन गला लगाउने छैनन् । पुटिन एक युद्ध अपराधी हुन् । मलाई लागेको थियो कि भारत युक्रेनको मामिलामा नैतिक रुपमा  कायम रहनेछ ।”

उनले भारतले आफ्नो हितमामात्रै भरोसा गर्ने गरेको जनाउँदै मोदी र पुटिनले गला मिलाउनु अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदीमा गएर त्यहाँका राजकुमारसँग गला मिलाउनुजस्तै भएको उल्लेख गरेका छन् । 

उनले बाइडेन र मोदी दुवै आफ्नो देशलाई लोकतान्त्रिक बताउने र त्यसका मूल्यको कुरा गर्ने भए पनि दुवैले राष्ट्रिय हितलाई सबैभन्दा माथि राख्ने गरेको बीबीसीले समाचारमा जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्