site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाबाट निकालिएका मुकुलसँग के छ अब विकल्प ? 

काठमाडौं । अन्ततः डा. मुकुल ढकालले पार्टी महामन्त्री पद गुमाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणका एक खम्बा ढकाल रास्वपाको साधारण सदस्य मात्र बाँकी छन् ।  मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उनलाई महामन्त्री र प्रवक्ताबाट पदमुक्त गरिदिएको हो । 

बैठकपछि पत्रकार सम्मेलन गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले महामन्त्री ढकाललाई पदमुक्त गरिएको जानकारी दिए ।  साथै उनलाई ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका दिइएको छ ।  यदी मुकुलले आफूलाई पार्टीमै फर्काउन चाहन्छन् भने ३५ दिनभित्र निवेदन दिएर पुनः पार्टीका संरचनालाई फेस गर्नुपर्नेछ । 

मंगलबारको केन्द्रीय समिति बैठकमा सहभागी एक केन्द्रीय नेताले मुकुलले अब पार्टीमा स्पेस गुमाइसकेको बताए ।  उनले ३५ दिने औपचारिकतामात्र भएको भन्दै पार्टी नयाँ महामन्त्रीको खोजीमा रहेको उनले बाह्रखरीसँग प्रतिक्रिया दिए । 

“औपचारिकता पूरा गरेका हौं । मुकुललाई पार्टीमा कुनै स्पेस छैन । किनभने उनी यो पार्टीका लागि लायक भएर निस्केनन्,” उनले भने । 

पार्टीको यो निर्णय सार्वजनिक भएसँगै डा. ढकालले पनि आफ्नो प्रतिकृया सार्वजनिक गरेका छन् । उनले पार्टी सभापति रवि लामिछाने क्लबबाट आफू निस्कासित भएको भन्दै घण्टी बज्न नरोकिने चेतावनीनै दिएका छन् । 

“रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,” उनले भनेका छन्,“रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि...”

उनलाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारबाही गरेको जानकारी दिएको छ । असार १९ गतेको केन्द्रीय समितिको बैठकले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित, अनुशासनहीन र पार्टी हित विपरीत काम गरेको भन्दै सात दिन निलम्वन गरेको थियो । 

ढकालले देशभर घुमेर पार्टीको पोजिसनबारे बनाएको प्रतिवेदमाथि छलफलको विषयमा असन्तुष्टि जनाएका थिए । 

उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुखमा टेप लगाएर बैठकमा बसेका थिए । साथै प्रतिवेदन र बैठकको एजेन्डा पनि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका थिए । बैठकअवधिभर उठेका प्रश्नको जवाफ नदिई महामन्त्री हिँडेको र मिडियामा नभएका कुरा ल्याएको भन्दै अनुशासन उल्लंघन गरेको ठहर पार्टीको थियो ।

त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन पार्टीले निर्देशन दिएको थियो । 

आयोगले असार २३ गते प्रतिवेदन बुझाएको थियो । मंगलबारको केन्द्रीय समिति बैठकले पार्टीको आचार संहिताको दफा ४ १ को क, ख, च, प, र फ एवं दफा ४ को उपदफा २ को ख, दफा ५ को क र ख, दफा ६ को क, ख र दफा ९ को क, ख, ग र घ समेत उल्लंघन भएको ठहर गरेको छ ।

केन्द्रीय अनुशासन आयोगले साधारण सदस्य नरहने र भविष्यमा सदस्यसमेत बन्न रोक लगाउने गरी हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिस केन्द्रीय समितिमा गरेको थियो । 

मुकुलको अबको विकल्प के ? 

मंगलबारको बैठकपछि केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकाल आफै पार्टीमा फर्कन चाहेजस्तो नदेखिएको बताए । सानो सिक्रीमा हात्ती बाँधिएको उदाहरण प्रस्तुत गर्दै रास्वपामा महामन्त्रीसँग सभापति नतमस्तक हुनु अचम्मको विषय भएको उल्लेख गर्छन् ।

सभापतिलाई सिक्रीमा बाँधिएको हात्तीको तुलना गर्दै उनले भनेका छन्, “पार्टीको आन्तरिक जीवनमा महामन्त्रीसँग सभापति यसरी नतमस्तक हुनुको कारण खोज्थेँ, भेट्दिन थिएँ । विधान अनुसार स्वतन्त्र भएर महामन्त्रीलाई काम गर्न दिनु, त्यसको स्वामित्व लिनु सही हुन्थ्यो । तर महामन्त्रीप्रतिको असीमित लगावले त्यस्तो मात्र देखिन्न थियो, सभापतिलाई सिक्रीमा बाँधिएको हात्ती जस्तो देखिन्थ्यो ।”

उनले आजबाट त्यो सिक्री टुटेको रास्वपा मुकुल क्लबबाट निस्किएर पूर्णरूपमा स्वतन्त्र भएको उल्लेख गरेका छन् ।
 
“पार्टीतिरको त्यो सिक्री आज टुटेको छ । बन्द कोठाको चुकुल खुलेको छ । मुकुल क्लबबाट निस्किएर पूर्णरुपमा स्वतन्त्र हुने बाटोमा लाग्नु भएकोमा बधाई छ, सभापतिज्यू !,” उनले थपे ।  

पार्टीबाट कारबाही भोगेका मुकुलले अब के गर्छन् भन्ने चासोको विषय भनेको छ । यो विषयमा उनी आफैँले मुख खोलेका छैनन् । ३५ दिनभित्र पुनः स्पष्टीकरण बुझाए पनि पार्टीमा स्पेस दिन नहुने मत बलियो छ । 

एक नेताका अनुसार मुकुलले पार्टीभित्र आफ्नो छुट्टै गुट चलाउने वा पार्टी फुटाएर लैजान सक्ने अवस्थामा थिएनन् र छैनन् । 

“महामन्त्रीको रूपमा हामीले मानेका थियौं । उहाँ अब फर्केर आउने सम्भावना छैन,” ती नेताले भने, “उहाँसँग पार्टी विभाजन गर्ने तागत पनि छैन । पार्टीमा हुँदा पनि उहाँले त्यो ल्याकत राखेको होइन ।”

पार्टीका अर्का एक सदस्यका अनुसार महामन्त्री ढकाल पछिल्लो समय बढी उत्तेजनामा आउने र घमण्डको पराकाष्ठा नाघेको आरोप लगाउँछन् । त्यसैले उनी र सभापतिबीच केही इगो थियो कि भन्ने आशंका गर्छन् ।

त्यसैले पनि उनी अब रास्वपामा फर्कने बाटो एकदमै साघुँरो भएको तर्क उनको छ । 

“अब दुर्गा प्रसाईंहरुको अभियानमा जोडिने हो कि पूराना दल एमाले वा अन्य कुनैमा गएर उहाँले राजनीति गर्ने हो त्यो उहाँले जान्नुहोला,” ती नेताले भने, “हामी नयाँ महामन्त्री बनाउँछौं र पार्टी अघि बढाउँछौं ।”

पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ भने लोकतान्त्रिक दलमा समस्याहरुको समाधान पनि लोकतान्त्रिक विधि प्रकृयाबाट समाधान गरिनुपर्ने बताउँछन् । फरक मतको पनि उत्तिकै सम्मान हुने भन्दै उनी विधि प्रकृया मान्दा ढकाललाई अझै आफूलाई स्पष्ट पार्ने अवसर पार्टीले दिएको बताउँछन् ।

राजनीतिमा यस्ता उत्तारचढाबलेनै परिपक्व राजनीतिक दल, राजनीतिक नेतृत्व र संस्कारयुक्त राजनीतिक अभ्यास स्थापित हुँदै जाने भनाइ उनको छ । 

“लोकतान्त्रिक दलमा विधि प्रकृया अनुसार समस्या समाधान हुँदै जान्छन् । यसरीनै हो विधि प्रकृया स्थापित हुने र संस्कारयुक्त राजनीतिको बलियो जग बस्ने,” उनले बाह्रखरीसँग भने, “उहाँ(मुकुल ढकाल) सँग ३५ दिन अझै समय छ । आफूलाई स्पष्ट पार्नुहुन्छ र आफैले बनाएको दललाई जनताको सेवक बनाएर अघि बढाउनुहुन्छ भन्ने विश्वास मलाई छ ।”

उनले अब पार्टीले के गर्छ भन्ने विषयमा भने ३५ दिन पर्खने र परिस्थिति जस्तो निर्माण हुन्छ त्यसैअनुसार निर्णय गरेर अघि बढ्ने जानकारी दिए ।  
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro