काठमाडौं । सिनेमाको क्वालिटी (गुणस्तर)को मापक के हो ? अथवा चलचित्रलाई के आधारमा राम्रो/नराम्रो भन्ने ? कुन चलचित्र राम्रो वा नराम्रो भनेर समीक्षा, सिनेमाको हाइप, बक्सअफिस कलेक्सन अथवा अरू केहीले निर्धारण गर्छ ?
नेपालको सन्दर्भमा धेरैले चलचित्रको मापक बक्सअफिस कलेक्सनलाई मान्छन् । जति धेरै पैसा कमायो त्यति सिनेमा राम्रो ! बक्सअफिसमा जुन सिनेमाले धेरै कमाउँछ, त्यही नै राम्रो हो भन्ने धेरैको बुझाइ छ । यसैलाई चलचित्र सफलता र असफलताको मुख्य मापक मान्ने गरिएको छ ।
बक्सअफिस, समीक्षा र वर्डअफ माउथ सकारात्मक भए त्यही चलचित्र राम्रो ठान्नेको संख्या नेपालमा अधिक छ । कतिपय देशमा सिनेमाको मापकलाई लिएर फरक ढंगले बहस सुरु भएको लामै समय भए पनि नेपाली मेकर बक्सअफिसमै अल्झिरहेको यथार्थ छ ।
सिनेमाको असली मापक ‘फुटफल’ रहेको बहस भारतसम्मै आइसक्यो । र, यसलाई स्वीकार पनि गरिएको छ । तर, यसले नेपालमा कहिले प्रवेश पाउँछ ? नेपाली मेकरले यसलाई कहिले स्वीकार गर्छन् ?
फुटफल भनेको सिनेमा हेर्न कति खुट्टा (व्यक्ति) हलमा पुगे भन्ने हो । कमाइ गरेकै आधारलाई मात्र सिनेमाको सफलता (सक्सेस) मान्न नहुने फुटफलको मान्यता हो । जति धेरै मान्छे सिनेमा हेर्न हलमा पुग्छन्, त्यसलाई सफलता मान्नुपर्छ भन्ने फुटफलको अवधारणा हो ।
“कुनै सिनेमाको टिकट महँगो छ भने थोरै व्यक्तिले हेरे पनि बक्सअफिसमा धेरै कलेक्सन भएको हुनसक्छ । तर, सस्तो टिकट भएको हलमा धेरैले हेरे पनि बक्सअफिसमा थोरै पैसा कलेक्सन भएको हुनसक्छ,” निर्देशक मनोज पण्डित भन्छन्, “फुटफलले बक्सअफिसमा कति टिकट बिक्री भयो अथवा कति पैसा कलेक्सनभन्दा पनि कुन सिनेमा हेर्न हलमा धेरै दर्शक पुगे त्यो सफल चलचित्र हो भन्छ ।”
यसले टिकट बिक्रीभन्दा पनि कति दर्शक सिनेमा हेर्न हलमा पुगे भन्ने पक्षलाई जोड दिन्छ । जुन सिनेमा हेर्न धेरै दर्शक हलमा पुग्छन्, त्यही नै सफल भन्ने पक्षलाई फुटफलले केन्द्रमा राख्छ ।
“बक्सअफिस कलेक्सनले एउटा सिनेमालाई सफल भनिरहेका बेला फुटफलको तथ्यांकले अर्कोलाई भन्न सक्छ,” निर्देशक नरेशकुमार केसी भन्छन्, “कुनै सिनेमा काठमाडौंका महँगा हलमा थोरैले हेरे पनि धेरै पैसा कलेक्सन गरिरहेका हुन सक्छन् । तर, कतिपय सिनेमा सिंगल स्क्रिनमा धेरैले हेरेर पनि थोरै कलेक्सन भइरहेको हुनसक्छ ।” कलेक्सनलाई मापक मान्दा धेरैले हेरेर पनि थोरै कमाएका चलचित्र सफलताको मान्यता पाउनबाट वञ्चित भइरहेका हुनसक्छन् ।
फुटफलको तथ्यांकले मोफसलमा चलेका सिनेमा पनि काठमाडौंमा चलेकाभन्दा हिट अथवा सफल हुन सक्छन् । सिनेमा पैसाको नम्बरमा भन्दा पनि हेर्ने दर्शकका आधारमा सफल र असफल हुन् भन्ने मान्यतालाई फुटफलले अघि सार्छ ।
“१६ करोड कलेक्सन गरेको ‘महाजात्रा’ सफल कि १० करोड ग्रस गरेको ‘बोक्सीको घर’ भनेर हेर्दा बक्सअफिसलाई आधार मान्ने हो भने महाजात्रा हो,” मनोज भन्छन्, “तर, काठमाडौंमा दुई हजार पर्ने टिकट काटेर महाजात्रा धेरै हेरेका रहेछन्, तर मोफसलमा २०० रुपैयाँ टिकट काटेर बोक्सीको घर हेर्ने धेरै रहेछन् भने फुटफलले बोक्सीको घरलाई सफल मान्छ ।”
फुटफलको तथ्यांक पनि बक्सअफिस डाटाबाटै आउने हो । त्यसैले केही ‘म्यानुपुलेट’ भने हुनसक्छ । यसको उदाहरणका रूपमा कुनै कलाकारका फ्यानले आफ्नो मन पर्ने एक्टरको चलचित्र रिलिज हुँदा पूरै शो बुक गरिदिन सक्छन् । यदि, कसैले यसो गरे बक्सअफिस कलेक्सन बढ्छ । तर, फुटफल कमजोर हुन्छ । नेपालमा पनि फ्यान तथा शुभेच्छुकले आफ्नो मन पर्ने कलाकारका सिनेमाका केही शो बुक गरिदिने चलन सुरु भइसकेको छ ।
भारतमा यो ट्रेन्डकै रूपमा विकास भएको छ । त्यहाँ ठूला स्टारका चलचित्र रिलिज हुँदा उनीहरू जोडिएका कर्पोरेट हाउसले पूरै सहरको सिनेमा हलका शो केही दिन बुक गरिदिन्छन् ।
यसरी टिकट बिक्री र बक्सअफिसमा पैसा जम्मा भए पनि हलमा दर्शक हुँदैनन् । यसले फुटफलको तथ्यांकमा केही तलमाथि हुन्छ ।
कतिपय निर्माताले आफ्नो चलचित्र दर्शकले मन पराएको भनेर देखाउने बिजनेस प्लानअन्तर्गत आफैँले शो बुक गर्ने गरेका छन् । यो ट्रेन्ड नेपालमै पनि चलिसकेको छ । यस्ता घटनाले सिनेमाको बक्सअफिस कलेक्सन प्रभावित हुनसक्छ । त्यसैले कति दर्शकले हलमा गएर हेरे, सफलताको मापन त्यसले गर्नुपर्छ भन्ने मान्यताको विकास भएको हो ।
“अब हामीले पनि बक्सअफिसको कलेक्सनका आधारमा सिनेमा सफल भयो भनेर रमाउने र अन्तिम मापक नै यही हो भनेर मान्नुभन्दा पनि कति दर्शकले हेरे, त्यसतर्फ ध्यान दिनुपर्छ,” मनोज भन्छन्, “सिनेमाको कलेक्सन धेरै तरिकाले हुन्छ । त्यसैले बक्सअफिस कलेक्सनलाई नै सफल सिनेमा भन्न सकिँदैन । फुटफललाई आधार मान्नुपर्छ । तर, यसलाई पनि कसरी म्यानुपुलेट हुनबाट जोगाउने त्यसतर्फ विश्वले नै सोच्नुपर्छ ।”
करोडौँको कलेक्सन हुने बजारमा केही शो कसैले बुक गर्दैमा त्यसले ठूलो असर भने नगर्ने निर्देशक नरेश बताउँछन् । २० करोड कमाउने चलचित्रले शो नै बुक गरेर कति कलेक्सन गर्ला र ? प्रश्न गर्दै उनी अगाडि थप्छन्, “बढीमा दुई/चार लाख होला । त्यसले फुटफलमा धेरै असर गर्दैन । तर, यो तथ्यांक फुटफलमा नजोडिए झनै राम्रो हुने थियो ।”
सिनेमा कलात्मक पक्ष भएकाले पैसाभन्दा पनि कतिले हेरे/रुचाए भन्नेलाई जोड दिनुपर्ने उनको धारणा छ । फुटफलले यसैलाई जोड दिन्छ ।
दर्शकले प्रत्यक्ष टिकट काट्नेबाहेक चलचित्रले डिजिटल राइट्स, स्पोन्सर, शुभेच्छुकको सहयोग, हल बुकलगायतबाट पनि आम्दानी गर्छन् । त्यसैले सिनेमाको सफलताको मापक फुटफललाई मान्न थालिएको हो ।
फुटफललाई आधार मान्दा भारतको हालसम्मकै सबैभन्दा सफल चलचित्र ‘शोले’ हो, जसको फुटफल १८ करोड २५ लाख थियो । आईएमडीबीका अनुसार, यसअन्तर्गत दोस्रोमा ‘बाहुबली–२’ छ, यसको फुटफल १० करोड ७७ लाख थियो । तेस्रोमा ‘मदर इन्डिया’ छ, यसको फुटफल १० करोड थियो । तर, भारतीय मिडियामा फुटफलको सूचीमा एकरूपता छैन । विभिन्न मिडियाले फुटफलको सूचीमा भिन्नभिन्न सिनेमालाई राखेको पाइन्छ ।
वि.सं. २०७९/०८० मा नेपालको सबैभन्दा धेरै फुटफल भएको चलचित्र ‘छक्का पञ्जा–४’ हो, यसको फुटफल ६ लाख २९ हजार ७५० थियो । चलचित्रको ‘जारी’को फुटफल ६ लाख १९ हजार २२१ थियो ।
‘प्रेम गीत–३’ को फुटफल दुई लाख ६९ हजार ८०८ थियो । चलचित्र ‘महापुरुष’को फुटफल दुई लाख ४७ हजार ७२८ थियो ।
२०७९/०८० को एक वर्षमा ५७ नेपाली चलचित्र रिलिज हुँदा कुल २७ लाख १६ हजार २१७ फुटफल थियो । उक्त वर्ष ‘छक्का पञ्जा–४’ को फुटफल सर्वाधिक धेरै हुँदा सबैभन्दा कम ‘सिवानी’को थियो, यसको फुटफल पाँच थियो । अर्थात्, यो सिनेमा हेर्न पाँच मात्र दर्शक हलमा पुगेका थिए ।