काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका प्रकरणहरू छोप्नका लागि बनेको बताए । संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरूको बुझाइ रहेको स्पष्ट पारे । प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको उल्लेख गरे ।
“गिरिबन्धुको छोप्नुपर्ने भयो, एकजना भाउजूको पनि छोप्नुपर्ने भयो, । भुटानी शरणार्थी काण्डको छोप्नुपर्ने भयो । यस्ता कुरा भन्ने आइरहेको छ । त्यो नहोस् । त्यो उहाँहरूमाथि लागेको आरोप गलत ठहरियोस् । तर, आम रूपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन । प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्दछ । प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि । गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ,” उनले भने ।
सांसद पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरू सम्मिलित हुनेकुरा नसोचेको र आफूहरूको आवश्यकता पनि दुई दललाई महसुस नभएको अनुभव आफूले गरेको बताए ।