site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बेचन झा पक्राउ परेपछि कांग्रेस–एमाले बेचैन : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी–इस्टेटको विषयले संविधान संशोधनको विषय ल्याइएको दाबी गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अहिलेसम्म गुपचुप राखेको विषयमा प्रश्न गरे ।

“अपारदर्शी प्रकारको सहमति गर्नुभएको हाम्रो निष्कर्ष छ । दुईवटा दलमा के कस्ता सहमति भए, त्यो आधिकारिक रूपमा बाहिर आएको छैन । मिडिया ट्रायलको निमित्त उहाँहरूले ट्विट र अरु मेन्सन गर्नुभएको छ । मध्यरातमा अमुक घरमा भएको सम्झौतामा के छ हामीले हेर्न पाएका छैनौँ,” उनले भने, “यतिका दिनसम्म गुपचुप राख्नुपर्ने के भयले काम गरिराखेको छ ?” 

Argakhachi Cement Island Ad

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दिनभर छलफल गरी अर्को सहमतिका लागि ड्राफ्ट बनाउन नेताहरू खटाउनु कुन नैतिकता हो भनि प्रश्न गरे । “दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गए पनि स्वर्ग गए पनि सँगै जाउला भन्ने । ललितपुरमा ड्राफ्ट गर्न आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ?,” उनको प्रश्न छ । 

उनले नेतृत्व आधा–आधा गर्ने सहमतिले राजनीतिक स्थिरता नदिने बताए । उनले भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस–एमाले बेचैन भएको बताए । “प्रधानमन्त्री, गृहमन्त्री भुटानी शरणार्थीसँग सम्बन्धित फाइल फेरि खोल्न भनेर अघि बढ्नुभयो । बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरू विस्तार सार्वजनिक हुँदै गए,” उनले भने, “बेचन झाका प्रमाणहरू आएपछि तपाईंहरू बेचैन हुँदैन डुंगा प्वाल परेको देख्नुभयो ।” 

सापकोटाले गिरीबन्धु टिस्टेटको कालो धब्बा पखालेपछि कुरा गर्ने बताउँदै नैतिकताको पाठ नसिकाउन आग्रह गरे । “डुंगा प्वाल पर्ने बित्तिकै मुसा भाग्छ । साहसीहरूले त सामना गर्ने हो । गिरीबन्धुको कालो धब्बाले छोपिएर बेचन झाले बेचैन बनाएर भागदौडमा रहेकाहरूले हामीलाई नैतिकताको पाठ सिकाउने ?,” सापकोटाको प्रश्न छ । 

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्