site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घुम्तीका घर डुबानमा, मर्स्याङ्दीले पार गर्‍यो सतर्कता तह

तनहुँ । अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरू डुबानमा परेका हुन् ।

शुक्रबारसम्म सामान्य रहे पनि शनिबार बिहानदेखि खोलामा जलसतह निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य संघका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए । खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन् ।

उनले भने, “प्रत्येक वर्षको वर्षाका समयमा यहाँ बाढी र डुबानको समस्या हुन्छ । यसको समाधान हुन नसक्दा प्रत्येक वर्ष घर डुबानमा पर्ने तथा स्थानीय विस्थापित हुने गरेका छन् ।”

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदीतटीय र पहिरो जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका निम्ति सबैलाई आग्रह गरेका छन् ।

मर्स्याङ्दीले पार गर्‍यो सतर्कता तह
तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित मर्स्याङ्दी नदीले सतर्कता तह पार गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो । तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सावधानी अपनाउन आग्रह गरिएको प्रजिअ गौतमले बताए ।

जल तथा मौसम विज्ञान विभागले नदीतटीय क्षेत्रमा आइतबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार, मर्स्याङ्दी नदीको सतह १०.२५ मिटरभन्दा माथि आएको छ ।

तनहुँका भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका हुँदै यो नदी मुग्लिनमा पुगेर त्रिशूलीमा मिसिन्छ । रासस

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro