लामो खडेरीपछि सुरु भएको मनसुनले वितण्डा मच्चाउन थालिसकेको छ । कोसी प्रदेशदेखि आउन थालेको बाढी पहिरो र जनधनको क्षतिको समाचार लुम्बिनीसम्म पुगिसक्यो । केही दिनमा देशभर मनसुनसँगै बाढी पहिरो पनि व्यापक हुनेछ ।
आधुनिक प्रविधिले मौसमको भविष्यवाणी त बढी भरपर्दो बनाएको त तर मनसुनी वर्षाको प्रकृति भने अनुमान गर्न हुँदैगएको छ । अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिका कारण बाढी पहिरो र विध्वंशका घटना पनि बढेको देखिन्छ ।
सडकहरू पहिरो र कटानका कारण बन्द हुनथालेका छन् भने नदीको जनसतह खतराको सीमा नाघ्न थालेका छन् । नदी किनारका बस्ती र खेतबारीमा कटान सुरुभएको छ । कतिपय, नदीका किनाराका बासिन्दालाई सावधान हुन सूचित गरिएको छ ।
जनसाधारणलाई सावधान हुन सूचना दिने सरकार भने आसन्न विपत्तिका लागि तयारी अवस्थामा होला भनेर ढुक्क हुन सकिँदैन । विपत्तिका साना घटनालाई बेवास्ता गर्ने र ठूला घटनामा आत्तिने प्रवृत्ति सरकारी संयन्त्रमा रहँदै जो अएको देखिन्छ ।
उद्धारका लागि नेपालको क्षमता विशेषगरी सुरक्षा फौज सक्षम, चुस्त र समर्पित रहेको मानिन्छ । तर, साधन स्रोत, सूचना र समन्वयको अभावले उद्धारकार्य प्रभावकारी नहुने गरेको छ । विडम्बना, उस्तै कमजोरी बर्सेनि दोहोरिन्छ ।
प्राकृतिक वितण्डा सुरु भएकै बेला राजनीतिक बबण्डर मच्चिएर सरकारको राजनीतिक नेतृत्व सङ्कटमा परेको छ । राजनीतिक अन्योल हुनेबित्तिकै नेपालको तालुकमुखी प्रशासन संयन्त्र समाधिमा बस्ने पर्छ । यस्तो बेलामा कदाचित् ठूलै विपत्ति आइलाग्यो भने स्थिति भयावह हुनसक्छ ।
यसैले विपत्तिमा उद्धार र आकस्मिक सहायता स्वचालित हुनुपर्ने मान्यता स्थापित भएको हो । नेपालमा पनि संस्थागत संरचना त तयार भएका छन् तर तिन पर्याप्त बजेट, जनशक्ति र स्वायत्तताको अभावमा त्यस्ता संस्था स्वचालित हुन सकेका छैनन् ।
जेहोस्, बाढी, पहिरो, कटान र डुबानका कारण आइपर्ने विपत्तिमा जनसाधारणलाई आवश्यक सहायता उपलब्ध गराउने सुरक्षा निकायलगायतका संयन्त्रहरू सतर्क अवस्था रहुन् । राजनीतिक अन्योलका कारण प्राकृतिक प्रकोपमा परेका जनता सहायताका पाउन वञ्चित नहोऊन् ।