काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिमा उतारचढाव भइरहे पनि सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्न नहुने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा सुरक्षा प्रमुखसँगको बैठकमा उनले विपद् व्यवस्थापनमा सरकारसँग पैसा भए पनि कार्यविधिको झन्झटले पैसा परिचालन गर्न नसकेको बताए ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका जानकारी अनुसार प्रधानमन्त्री प्रचण्डले पैसाको सहज परिचालन गर्न सकिने गरी कार्यविधि परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् ।
“नेपाल यसै पनि विपद्का दृष्टिले उच्च जोखिमयुक्त देश हो । त्यसमाथि यस वर्ष मौसम आक्रामक हुने पूर्वानुमान छ । त्यसैले व्यवस्थित पूर्वतयारी गरौँ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मल्लले भने, “विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ । तर, कार्यविधिको झन्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौँ । राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौँ ।”