site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदीमा आज बाढीको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज बाढीको सम्भावना छ । गएरातिदेखिको भारी वर्षाका कारण बाढीको सम्भावना रहेको हो । 

उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । 

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट भएर बग्ने नदी तथा खोलामा पनि जलसतह बढ्ने विभागको भनाइ छ । 

धादिङ, गोरखा, बाग्लुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्यूठान, रोल्पा, सल्यान, रुकुम–पूर्व, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपास जिल्ला भएर बग्ने नदीमा बहाव बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागको आग्रह छ । 

कमला नदीमा बहाव उल्लेख्य बढ्ने भन्दै विभागले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

आगामी तीन कोसी र यसका प्रमुख सहायक नदीहरू तमोर, अरूण, तामाकोसी, दूधकोसी, सुनकोसी तथा कन्काई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुनेछ । यद्यपि, बढ्दो हुने पूर्वानुमान रहेको छ । 

नारायणी र यसका प्रमुख सहायक नदीहरू बुढीगण्डकी, सेती, मर्स्यांदी, कालीगण्डकी तथा वाग्मती र यसका सहायक नदीहरूमा पनि जलसतह बढ्दो रहेकाले तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्