काठमाडौं । जंगबहादुर राणा नेपाली समाजका आफैँमा इन्ट्रेस्टिङ पात्र हुन् । १०४ वर्षे राणाशासनको सुरुआत गर्ने राणा प्रधानमन्त्री श्री ३ जंगबहादुरबारे अनेक किस्सा र किंवदन्ती छन् । इतिहासका यी अमर पात्र जंगबहादुरबारे निर्देशक दीपेन्द्र के खनाललाई बायोपिक बनाउने ठूलो रहर छ । तर, उनले आँट गर्न सकेका छैनन् ।
कारण, कहाँबाट कसरी सुरु गर्ने सम्झँदा नै अन्योल हुन्छ उनलाई । त्यसैले जसरी रहर लाग्छ त्यसैगरी त्यो रहरको घर पनि भत्किन्छ । टाइमफ्रेम सझिँदै उनलाई आँट आउँदैन । जबसम्म मेकर टाइमफ्रेममा पुग्न सक्दैन, तबसम्म राम्रो बायोपिक बन्दैन । त्यसैले इतिहासका पात्रबारे बायोपिक बनाउने उत्कट चाहना भए पनि उनले आँट गर्न सकेका छैनन् ।
नेपाली चलचित्र उद्योगमा बायोपिक मुभी बन्न थालेको लामो समय भइसकेको छ । भलै, संख्या सानो छ । ‘आदिकवि भानुभक्त’ होस् वा ‘ब्लाइन्ड रक्स’ अथवा जीवन काँडा कि फूल’ – नेपाली चलचित्र उद्योगमा बायोपिक बनेका छन् ।
किसान नेता ‘भीमदत्त’ वा भजन शिरोमणि भक्तराज आचार्यको ‘आचार्य’ – नेपालमा बेलाबेला बायोपिक बनिरहेका छन् । यो क्रमले निरन्तरता पनि पाइरहेको छ ।
वाग्मती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा चलचित्र ‘मेयर’ बनाइँदै छ ।
फुटबलर अञ्जिलाको जीवन संघर्षमा रहेर निर्देशक मिलन चाम्सले सिनेमा बनाउँदै छन् । यो पूर्ण रूपमा बायोपिक होइन, उनको जीवन संघर्षको कथा भने हो ।
केही वर्षअघि मिलनले बायोपिक ‘बोबी’ बनाएका थिए । प्रेमजोडीको सत्यकथामा आधारित थियो त्यो । पूर्ण बायोपिक नभए पनि त्यसकै वरिपरि रहेर निर्माण गरिएको थियो ।
उद्योगअनुसारको संख्या अर्थात् सानो उद्योगमा सानै संख्यामा बायोपिक बनिरहेका छन् । तर, जति बनेका छन्, ती बायोपिक पनि चल्न सकेका छैनन् ।
निर्देशक मिलन चाम्ससँग बायोपिक मुभी बनाउनभन्दा पनि चलाउन समस्या रहेको अनुभव छ । उनले रियल क्यारेक्टरको रियल स्टोरीमा बनाएको ‘बोबी’ले बक्सअफिसमा राम्रै कलेक्सन गर्यो । उनले नै निर्देशन गरेको ‘ब्लाइन्ड रक्स’ चलेन ।
“बायोपिक मुभी चल्न र चलाउन गाह्रो हुने रहेछ । दर्शकले बायोपिकमा खासै धेरै चासो देखाउनुहुँदो रहेन छ,” मिलन भन्छन्, “जसको बायोपिक बनेको हो, त्यो व्यक्तिप्रति दर्शकको सहानुभूतिचाहिँ हुन्छ । तर, फिल्म हेर्छु भनेर हलमा नगएको पाइयो ।”
जसको बायोपिक हो, ती व्यक्तिको व्यक्तित्व पनि निकै ठूलो हुनुपर्ने अन्यथा हलमा चलाउन कठिन हुने उनको अनुभव छ ।
बायोपिक बनाइएको व्यक्तिबाट धेरै व्यक्ति इन्सपायर भएको, धेरैले सम्मान गर्ने व्यक्ति भएको भए सायद दर्शक हलमा तान्न सजिलो हुने उनी बताउँछन् । तर, त्यस्तो छवि भएको व्यक्ति नेपालमा कमै रहेको उनी सुनाउँछन् ।
“मैले सृष्टि केसीको बायोपिक बनाएँ । उहाँ मोटिभेसनल स्पिकर त भइसक्नुभएको थियो, तर एउटा सर्कलमा मात्रै उहाँको पहिचान थियो,” उनी भन्छन् ।
बायोपिक बनाउँदै गरेको व्यक्ति कस्तो हो भनेर आमपब्लिकलाई बुझाउन नसक्नु यस्ता सिनेमा नचल्नुको अर्को कारण हो । बायोपिक जसको बनाइँदै छ उनका बारे सिनेमा आउनुअगाडि नै आमपब्लिकलाई सबै जानकारी गराइसक्नुपर्ने उनले गरेको अनुभव हो । उनका विषयमा जानकारी गराएर सहानुभूति, सद्भाव, सम्मान र क्युरोसिटी जगाइसक्नुपर्नेमा त्यसो गर्न नसक्नु कमजोरी भएको उनको भनाइ छ ।
“हामी मेनस्ट्रिमको सिनेमा बनाउने मेकर अहिले नै कथा खोलेर सिनेमामा के देखाउने भनेपछि दर्शक सिनेमा हेर्न नजाने रहेछन्,” मिलन अगाडि थप्छन्, “मुख्य कुरा पब्लिसिटीको आइडिया नहुनु पनि रहेछ ।”
चलचित्र ‘बोबी’को रियल क्यारेक्टरको युट्युबलगायत सञ्जालमा अन्तर्वार्ता र उनीहरूका धेरै स्टोरी आउँदा त्यसले हलसम्म दर्शक तान्न सहयोग गरेको उनको भनाइ छ ।
बायोपिक भन्नेबित्तिकै लगानी कम आउँदा पनि मेकिङ र पब्लिसिटीमा अभावको सामना गर्नुपर्ने मिलनको अनुभव छ ।
मेकर भ्रममा पर्नु पनि अर्को कारण भएको उनको बुझाइ छ । जसको सिनेमा बनाउन लागेको हो, त्यसप्रति मेकर इमोसनल हुँदा पनि कस्तो सिनेमा बनेको छ भनेर आफैँ मूल्यांकन गर्न नसक्नु अर्को कारण भएको उनी बताउँछन् ।
“जसको बायोपिक बनेको हो ऊ र उसको परिवारसँग व्यक्तिसँग इमोसनल एट्याचमेन्ट हुँदा यस्तो सिनेमा पनि नहेरे कस्तो हेर्ने त भन्ने हुँदो रहेछ,” मिलन अगाडि थप्छन्, “यस्तो सिनेमा पनि नहेरे कस्तो सिनेमा हेर्ने त भन्ने भ्रममा बस्दा पनि मेकर फेयर जज गर्न नसक्ने अवस्थामा हुँदो रहेछ ।”
आफ्नै सर्कलका केही व्यक्तिले ‘राम्रो काम गर्नुभयो, राज्यले गर्ने काम तपाईंले गर्नुभयो’ भनेर तारिफ गरिदिँदा पनि मेकर भ्रममा पर्ने गरेको उनको अनुभव छ । चल्दैन कि भनेर डराउनुपर्नेमा त्यसो हुन नसक्दा चलचित्र पनि कमजोर बन्ने र पब्लिसिटी नहुँदा समस्या भइरहेको उनको भनाइ छ ।
“भारतमा बायोपिक चलचित्र बनिरहेका छन् । चलिरहेका पनि छन् । भारतमा जसको बारेमा बायोपिक बनेका छन्, उनीहरूले राष्ट्रलाई ठूलो योगदान दिएका छन्,” मिलन भन्छन्, “राष्ट्रियतासँग जोडिएपछि दर्शकको पनि भावनात्मक सम्बन्ध हुने हुँदा यो चलचित्र हेर्न दर्शक हलमा जान्छन्, जुन कुरा नेपालमा छैन ।”
बायोपिकमा टाइमफ्रेम सबैभन्दा महत्त्वपूर्ण कुरा भएको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । जुन समयको कथा हो त्यही समयमा पुग्न सकिन्छ कि सकिँदैन र दर्शकले हेर्दा विश्वासयोग्य हुन्छ कि हुँदैन त्यसले ठूलो अर्थ राख्ने उनको भनाइ छ ।
“बायोपिक भन्नेबित्तिकै टाइमफ्रेम निकै अगाडिको हुन्छ । त्यही टाइमफ्रेममा लान नसक्नेबित्तिकै त्यो विश्वसनीय हुँदैन । विश्वास गर्ने आधार हुँदैन,” दीपेन्द्र भन्छन्, “जसको बायोपिक हो उसका कुरा बरु सुन्दा वा पढ्दा इन्ट्रेस्टिङ लाग्छ । फिल्ममा हेर्दा झनै नराम्रो लाग्छ ।”
पुरानो टाइमफ्रेममा जाने भन्नेबित्तिकै ठूलो बजेट स्वतः जोडिएर आउने उनको भनाइ छ । आफूले बाँचेको समय र परिवेशभन्दा बाहिर जानेबित्तिकै सिनेमाका हरेक विधामा मिहिन मिहिनेत चाहिने उनी बताउँछन् । तर, त्यस्तो मिहिनेत हुन्छ त अर्थात् भइरहेको छ कि छैन भन्ने प्रश्न आउने दीपेन्द्र सुनाउँछन् ।
“मैले मेयरमै धेरै फ्ल्यासब्याक राखेको छैन । १०/१५ वर्षअगाडि मात्र जाँदा पनि धेरै परिवर्तन भइसकेको हुन्छ,” उनी अगाडि थप्छन्, “राजनीतिक घटनाक्रम, रहनसहन, जीवनशैली, भौतिक संरचना र विकासमा ठूलो परिवर्तन आइसकेको हुन्छ । ग्याजेट समेत परिवर्तन हुन्छ । त्यसैले बायोपिक बनाउन सहज छैन ।”
‘आदिकवि भानुभक्त’ अहिले बनाउने हो भने त्यसलाई विश्वसनीय बनाउन कठिन हुने उनको भनाइ छ । “त्यो समयको गाउँसहर र अहिलेको गाउँसहर नै परिवर्तन भइसकेको छ । त्यो बेलाको काठमाडौं अहिले कसरी देखाउने ?,” दीपेन्द्र भन्छन्, “बोल्ने भाषा, शब्द उच्चारण गर्ने तरिका र शैली, लुगा लगाउने तरिकामा कति ठूलो परिवर्तन आइसकेको छ । त्यो कति देखाउन सकिन्छ होला ?”
५०औँ वर्षअगाडिको जीवन कलाकारले बाँच्न सक्छ कि सक्दैन, कथा लेखकले लेख्न सक्छ कि सक्दैन, कस्ट्युम, साउन्ड त्यो बेलाको जस्तो ठ्याक्कै बनाउन सकिन्छ कि सकिँदैन ? त्यसमा बायोपिक कति चल्ने र नचल्ने निर्धारण हुने उनको भनाइ छ ।
भारतमा बायोपिक मुभी थुप्रै बन्छन् । बक्सअफिसमा अब्बल देखिएका पनि छन् । ज–जसको बायोपिक बनिरहेको छ, उनीहरूले राज्यलाई ठूलो योगदान दिइरहेका छन् । समग्र देशले नै इज्जत गर्ने व्यक्ति भएकाले उनीहरूका सिनेमा चल्छन् पनि ।
“नेपालमा त्यस्ता व्यक्ति नै छैनन् अथवा भएर पनि हामीले ल्याउन सकेका छैनौँ,” दीपेन्द्र भन्छन्, “यो पनि आफैँमा हाम्रा लागि अध्ययनको विषय हो ।”