site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा प्रतिपक्षी आक्रामक, खड्गेले भने– मोदी देशमा अघोषित संकटकाल लगाइरहेका छन्

नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले अघोषित संकटकाल लागु गरिरहेको आरोप लगाएका छन् । भारतमा १८औँ लोकसभाको पहिलो सत्रको अवसरमा बोल्दै उनले प्रधानमन्त्री मोदीले संविधानलाई तोड्ने प्रयास गरेको समेत आरोप लगाए । 

उनले भने, “जनताले हामीलाई साथ दिएका छन् । तर, प्रधानमन्त्री मोदीले संविधान तोड्ने प्रयास गरेका छन् । आज सबै पार्टी (इन्डिया गठबन्धन)का मानिस एक भएर विरोध प्रदर्शन गरिरहेका छन् । यहाँ जहाँ गान्धीको प्रतिमा थियो त्यहीँ हामी विरोध प्रदर्शन गरिरहेका छौँ । उहाँले संविधानका हरेक नियमलाई तोडिरहनु भएको छ ।  हामी भन्न चाहन्छौँ कि मोदीजी संविधानअनुसार चल्नुस् ।’

Argakhachi Cement Island Ad

प्रधानमन्त्री मोदीले १८औँ लोकसभाको पहिलो सत्र भन्दा पहिला बोल्ने क्रममा २५ जुन १९७५मा भारतमा संकटकाल लगाइएको घटनाको पनि स्मरण गरेका थिए । यसमा टिप्पणी गर्दै कांग्रेस अध्यक्ष खड्गेले भने, “१०० पटक यही कुरा गर्नुहुन्छ । संकटकालको ५० वर्ष भइसकेको छ । आफू (प्रधानमन्त्री मोदी)ले अघोषित संकटकाल लगाइरहनु भएको छ । हरेकपटक यही कुरा गरेर तपाईं कतिन्जेल हुकुम चलाउन चाहनुहुन्छ ?’

इन्डिया गठबन्धनका सांसद १८औँ लोकसभाको पहिलो सत्रको सन्दर्भमा संविधानको कपी लिएर संसद् परिसरमा विरोध प्रदर्शन गरेका थिए । बीबीसी
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्