रिपोर्ट हेरेपछि डाक्टरले कृष्णमायालाई भन्यो, ‘तपाईंको पित्तथैलीमा ढुंगा छ – पत्थरी । अपरेसन गर्नुपर्छ । डेट लिनोस् ।’
बाहिर निस्केपछि कृष्णमायाले भनी, ‘अपरेसन त मो मोरे पनि गार्दैना । बरु, मोर्छु । एक दिन मोर्नै पार्छा क्यारे !’
उसले कृष्णमायाको अनुहार पढ्यो । त्यहाँ कृष्णमायाले बोलेकै कुरा हुबहु पढ्न सकिन्थ्यो ।
कृष्णमायालाई लिएर ऊ अरू केही दिन अस्पताल धायो । अपरेसन गर्ने सवालमा धेरैजसो बिरामीहरूले फरक शब्दमा कृष्णमायाकै बोली बोलेको उसले सुन्यो ।
सामान्य झारफुक उसले पहिलेदेखि नै गर्दै आएको थियो । कृष्णमायालाई गाउँतिर पठाएपछि आफ्नो कोठाअगाडि राखेको टिनको पातोमा सबैभन्दा तल रातो अक्षरमा उसले लेख्न लगायो– बिनाअपरेसन पत्थरी चट् !
केही दिनपछि अस्पतालमा अपरेसनका लागि डेट लिने बिरामीहरूले केही अगाडिको डेट पाउन थाले ।
(महालक्ष्मी—३, ललितपुर)