हनोई । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणपछि भियतनाम पुगेका छन् । उनी सवार विमान बिहीबार बिहान १ बजेर ४० मिनेटमा हनोईको नोई वाई विमानस्थलमा उत्रिएको थियो ।
विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान हान्ग हा र कम्युनिस्ट पार्टी अफ भियतनाम (सीपीसी)का केन्द्रीय समितिका प्रमुख ली होआई ट्रंगले पुटिनलाई स्वागत गरे ।
रुसी सरकारी मिडिया आरटीका अनुसार, पुटिनले भियतनामका राष्ट्रपति टो लाम, प्रधानमन्त्री फाम मिन्ह चिन्हसहित त्यहाँका शीर्ष अधिकारीसँग वार्ता गर्नेछन् ।
ती वार्तामा दुवै देशको आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक र अरू सहयोगका विषयमा छलफल हुने जनाइएको छ ।
उत्तर कोरियामा उनलाई नेता किम जोङ उनले नै स्वागत गरेका थिए । भियतनाममा भने उपप्रधानमन्त्रीबाट उनको स्वागत गरिएको छ । बीबीसीबाट ।