site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामी कम्युनिष्ट होइनौँ, रवि लामिछाने सकियो भने रास्वपा सकिन्छ भन्ने विश्लेषण सतही छ
SkywellSkywell

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार दुईवर्ष पूरा गर्दैछ । सभापति र महामन्त्रीबाहेकका पदाधिकारी नभएको केन्द्रीय समिति र उमेदवारको टुंगोविनै चुनावमा गएको पार्टी संघीय संसदमा चौथो पार्टीको हैसियतमा छ । यो हैसियत दिने जनतालाई रास्वपाले के दिँदैछ ? आफ्नो तयारीविनै जनमतले दिएको हैसियतलाई रास्वपाले कतिको न्याय गर्न सकेको छ ? नागरिकले बनाइदिएको हैसियत जोगाउन र अरु हैसियत निर्माणमा रास्वपाले कत्तिको काम गरिरहेको छ ? पार्टीका नेताहरुलाई लागेको आरोपमा ढाकाकुमार श्रेष्ठ र रवि लामिछाने किन समान भएनन् ? यिनै सन्दर्भमा बाह्रखरीका रमेश वाग्ले रोमन आचार्यले केही दिनको मन्त्रीको अनुभवसमेत बोकेका रास्वपा सांसद शिशिर खनालसँग गरेको संवादको सम्पादित अंश  :

–रास्वपाको दुई वर्षलाई फर्केर हेर्दा राजनीतिक रुपमा कतिको ‘स्पेस’ लिँदै गएको छ भन्ने स्वमूल्यांकन गर्नुभएको छ ?

जतिबेला पार्टी स्थापना भयो आजको स्वरूप, रूप र शक्ति आर्जन गर्ला भन्ने मानिसहरूमा आंकलन कम थियो होला । यहाँसम्म आइपुग्दा छोटो समयमा धेरै उतारचढाव भए । संसद्मा चौथो ठूलो राजनीतिक दलको रूपमा स्थापना भएका छौं ।

KFC Island Ad
NIC Asia

राष्ट्रिय र पुराना दलसँग तुलना गर्दा आजको दिनको सबैभन्दा ठूलो बलियो वैकल्पिक शक्ति र भोलिका दिनमा आफ्नो नेतृत्वमा नेपाललाई डोर्‍याउने ठाउँमा धेरैले हेरेको देख्छु । चौथो दल भए पनि राजनीतिक ‘स्पेस’को रुपमा हाम्रो शक्ति एकदमै बढेको देख्छु । 

–असार ७ गते पार्टी घोषणा हुँदा को–को मान्छे जम्मा हुन्छन्, संरचना कस्तो बन्छ, निर्वाचनमा को–को हाम्रो उमेदवार हुन् भन्ने थाहा थिएन । मतदाताले पहिलोचोटि दिएको ‘स्पेश’लाई कति न्याय गरेजस्तो लाग्छ ? 

Royal Enfield Island Ad

कहिले केन्द्रीय समिति, कहिले संसदीय दल र कहिले संयुक्त बैठकहरूमा विभिन्न कोणबाट विश्लेषण र समीक्षा गरेका छौं । जुन ढंगले जनताले विश्वास गर्नुभयो, उदाउँदो शक्तिको रूपमा रास्वपालाई स्थापित गरिदिनुभयो त्यसको समीक्षा भएको छ । 

विधि–विधान प्रक्रिया टुंगो लगाएरभन्दा पनि सिधै हामी चुनावमा गयौं । त्यहाँबाट अनुमोदन भएर आइपुग्दा हामीलाई हेरिने भनेको संसद् र सरकारमा हो । त्यहाँ खेलेको भूमिकालाई हो । आफ्नो भूमिकालाई नयाँ ढंगले लाने, सिर्जनात्मक र आलोचनात्मक ढंगले लाने प्रयास छ ।

–जनताले मतमार्फत् दिएको ‘म्यान्डेट’लाई न्याय गर्न सकेको ठहरमा हुनुहुन्छ या बाँकी छ ? 

संसदीय अंक–गणित एक ठाउँमा छ । तर, व्यक्तिगत र सामूहिक ढंगले प्रयास मिहेनत सतप्रतिशत भएको छ । त्यो ढंगले हामीले न्याय गरेका छौं भन्ने लाग्छ । यसको अर्थ हामीले जनताले अपेक्षा पूरा गरेको भन्ने हैन । हामीले सीमितताभित्र बसेर जे गर्न सकिन्छ त्यसमा चाहिँ शतप्रतिशत न्याय र मेहनत गरेका छौं । पुनः सबै जनअपेक्षा ‘मिट’ भएको भन्ने दाबी गर्न खोजेको हैन । 

–सभापतिज्यूले चुनाव लड्दा सय दिन दिनुस्, हामी गरेर देखाउँछौँ भन्नुभएको थियो । दुईपटक गरेर तपार्ईंंहरू सरकारमा गएको डेढ सय दिन हुन लागेको छ । अपेक्षा जगाएजस्तै प्रस्थान बिन्दू तय भयो ? 

सभापतिले कुन प्रसंगमा बोल्नुभएको थियो भन्ने महत्वपूर्ण विषय हो । किनभने बाहिर आएका भिडियोहरूले गलत सन्देश पनि दिन्छ । सभापतिले बोल्दै गर्दाको आशय चाहिँ हाम्रो आफ्नो नेतृत्व र पूर्ण नियन्त्रणमा सरकार हुन्छ भने त्यसबाट गर्ने सेवा प्रवाहको अपेक्षालाई ‘सेट’ गर्नुभएको हो । ‘यदि मलाई यो गर्न पूर्ण स्वतन्त्रता हुन्छ भने, म डेलिभर गर्न सक्षम हुनेछु’ उहाँले भन्नुभएको हो । 

स्वभाविक रुपले त्यो पूर्ण स्वतन्त्रता नभएपछि त्यो वाध्यतात्मक सिमाहरूभित्र परिधिभित्र बसेर काम गर्नुपर्छ । त्यो काटिएको भिडियो क्लिपको अपेक्षाबाट मात्र निरपेक्ष ढंगमा हेरे अर्कै ठाउँमा पुर्‍याउँछ । 

तर, सापेक्षित दृृष्किोणले हेर्‍यो भने हामीले चलाएको मन्त्रालयको नेतृत्वमा सय दिन अर्को कुनै राजनीतिक दलको नेता मन्त्री भएको के हुन्थ्यो भनेर तुलना हुन्थ्यो होला । यसरी विश्लेषण गर्ने हो भने हामीले चलाएको चार मन्त्रालयमा धेरै राम्रो काम भएको छ ।

पहिलो पटक रास्वपाका मन्त्रीहरु सम्मिलित हुँदै बजेट बनाउँदा सीमाको कुरा पनि आउँछ । हाम्रै कतिपय मन्त्रीहरुले सोँचे खोजेजस्तो साधन स्रोत भएन होला जसको अभावमा दृष्टि कार्यान्वयन गर्न समस्या भएको पनि हुन सक्छ । साधन स्रोत नपाएकामा एक तहको असन्तुष्टि पनि छ । सीमाभित्र बसेर हेर्दा र अरुसँग तुलना गर्दा सय दिनमा हामी सक्षम र सफल भएका छौं । 

–पहिलोपटक सरकारमा जाँदा सभापतिले सरकारमा पनि प्रतिपक्षको भूमिकामा हुन्छौं भन्नुभयो, दोस्रोपटक मन्त्रालय सम्हालेको सय दिनको प्रगति सार्वजनिक गर्दा ‘हामी सरकारमा छौं तर, सत्ता हामीसँग छैन’  भन्नुभयो । यो कस्तो बुझाई हो ? कर्मचारी संयन्त्रबाट असहयोगको पीडामा गुज्रिनुभएको हो ? 

बुझाई–सिकाइ क्रमिकता पनि हो, यो चलिरहन्छ व्यक्तिगत वा सामूहिक रूपमा । सभापतिज्यूले केही न केही अनुभवजन्य हिसाबले सिक्ने कुराहरू रहन्छ । नयाँ दृष्टिकोण नयाँ धारणाहरू बन्दै आउने गलत ढंगले लिने भन्दा पनि हामीले केही न केही सिकिरहेका रहेछौँ नि भन्ने दृष्टिकोणबाट लिनुपर्छ । 

हामी सरकारमा पनि जम्मा चारवटा मन्त्रालयमा छौं । राज्यशक्ति त मन्त्री पदमात्रै हैन नि । त्यो ठूलो लामो इतिहास बोकेको कर्मचारीतन्त्रदेखि सबै पक्ष छ । त्यो संरचनाभित्र ३०औँ वर्ष शासन गरेको राजनीतिक दलको जुन किसिमको पहुँच छ, प्रवेश छ, त्यो हाम्रो बनिसकेको छैन । 

हामीकहाँ शिक्षा प्रशासन जस्ता सबै क्षेत्र कुनै न कुनै हिसवाले दलीयकरणको छायामा छ । गाउँको सामुदायिक वन, खानेपानी समूहदेखि विद्यालय व्यवस्थापन समिति त्यहीँबाट सुरू भएको ३० औं वर्ष भइसकेको छ । त्यस्तो संरचनाले पनि हामीलाई परायजस्तो व्यवहार गरेको छ । त्यो संरचानाबाट फरक ढंगले आएकाले यिनीहरू हाम्रा हैनन् भन्ने दृष्टिकोण देखिन्छ । त्यसकारण सभापतिले सोही अनुभवको भाव व्यक्त गरेको हुन सक्छ । 

संरचनाको ३०औं वर्षको हुर्काइएको अनुभव नै त्यही भइसकेपछि हुने रहेछ । नयाँ परिवर्तन स्वीकार्न समस्या पर्छ । रास्वपा निर्वाचन प्रणालीको माध्यामबाट परिवर्तनको संवाहक बनेर आएको हो । जसलाई समाजको हरेक व्यक्ति, तप्का, संयन्त्रयले खुला हृदयले स्वागत गरिसकेको छ भन्ने छैन नि । त्यहाँ पक्ष र विपक्षी स्वभाविक रहन्छ । 

–सहकारी प्रकरणमा प्रहरीको आईजीपीले सभापति लामिछाने निर्दोष रहेको बताए, महान्यायाधिवक्ता कार्यालयले विनाअनुसन्धान ‘क्लिन चिट’ दियो । जुन कुरा ३० औं वर्ष संयन्त्रमा बसेका दलहरुले गराउन सकेका थिएनन्, तपार्ईंको भनाईको विपरीत अवस्था होइन यो ? 

अर्को ढंगले हेरौं । लोकतान्त्रिक मुलुकको संसद्को रोष्ट्रममा देशको सरकार प्रमुखले बोल्नुभएको छ, रवि लामिछाने निर्दोष हुनुहुन्छ । यसलाई सामान्य ढंगले बुझ्न मिल्छ भन्ने मलाई लाग्दैन ।  आजको दिनमा हामीले कसरी हेरेका छौं भने त्यो स्वाभाविक तथ्य हुँदैन थियो भने त्यो स्वाभाविक ढंगले आउने थियो जस्तो मलाई लाग्दैन । किनभने मैले अघि माथि नै संरचनाको कुरा गरिसकेको छु । 

–संसदलाई क्रिएटिभ बनाउने प्रयास गरेका छौं भन्नुभयो । एकाधबाहेक कोही सांसदले भूमिका खेलेको देखिँदैन, कसरी बनाउनुभयो सिर्जनशील ? 

२१ जना सांसद हामी छौं । हामी सदनमा ७ प्रतिशत छौं । एउटा चौथो शक्तिले समग्र शत प्रतिशत भारी र जिम्मेवारी बोक्न सक्ने स्थिति छैन । 

–यति भनेर उम्कन सकिन्छ ?

सात प्रतिशतको शक्ति अनुसार मूल्यांकन हुनुपर्छ । समग्र सदन ‘चेन्ज’ गर्न त्यही भएर मिसन–८४ भनेको हामीले । हामीसँग बहुमत भए परिवर्तन गरेर देखाउँछौं भन्ने मिसन–८४ हो नि । सीमाभित्र बसेर हामीले के गरिरहेका छौं भनेर हेर्ने हो नेपाली जनताले हेरिरहेका छन् । 

–आफ्नो उपस्थितिलाई लिएर सन्तुष्ट हुनुहुन्छ त्यसो भए तपार्ईंंहरू ? 

हामीले व्यक्त गर्ने विचार तथ्य, शैली, ‘च्यालेन्ज’ गर्ने तरिका र क्रिटिकल बन्ने विषयहरु हेर्दा हाम्रो उपस्थितिबाट सन्तुष्टि नै छ । अरुले पनि अध्ययन गर्नुपर्ने माहोल बनेको छ । समग्र रुपमा संसदीय अभ्यास परिवर्तन गर्न सक्ने ठाउँमा चाहिँ छैनौं । 

–अर्को चुनावमा पहिलो दल हुन्छौं भन्दै हुनुहुन्छ त्यसका लागि होमवर्क के–के छन् ? 

पछिल्लो समय संगठन विस्तारका काम अलि बढी गरेका छौं । सानै होस् तर सबै जिल्लामा हामीले संगठन पुर्‍याएका छौं । प्रदेशबाट सुरु गरेको थियौं, जिल्लासम्म पुग्यौं । अब पालिका हुँदै सबै वडासम्म पुग्ने प्रयास जारी छ । त्यसलाई औपचारिकता अधिवशेनबाट दिने काम सुरु गरिसकेका छौं । यसले हामीलाई संगठित बनाउँदै लगेको छ । 

हामीलाई विचार नै नभएको पार्टी हो, यो पार्टीसँग धारणा नै छैन भन्ने धारणालाई हामीले जलेश्वर बैठकमार्फत् एक ढंगबाट जवाफ दिएका छौं । प्रस्तावना छ त्यसलाई विस्तृतीकरण गर्ने काम भइरहेको छ । 

विचार चाहिँ समग्रमा छ त्यसलाई क्षेत्रगत बनाउनु पर्नेछ । ०८४ को निर्वाचन अघि कहाँ जाने हो भने हामीले नेतृत्व गर्न पायौ भने भोलि हामीले जनतलाई गर्ने काम के हो भनेर देखाउन कुन मन्त्रालयमा कस्तो खाले नीति र कार्यक्रममा काम गर्छौं भन्ने तहको तयारीमा छौं । 

हामी लोकतान्त्रिक पार्टी हौँ भनी स्थापित भइसकेको अवस्था छ । समग्र रूपमा सामाजिक न्याय र अर्थतन्त्रमा उदारताको पक्षधर पार्टी हो भनेर हामीले भनिसकेका छौं । तर, अर्थतन्त्रलाई किन बलियो बनाउनुपर्छ भने त्यसले राज्यसँग सामाजिक न्यायमा काम गर्ने स्रोत बढाउँछ भन्ने कुरालाई हामीले विचारमा स्थापित गरेका छौं । 

तर, ‘स्पेसिफिक सेक्टरल पोलिसी’ के हुने त ? हुन्छ कसरी ? भन्ने कुरा नीति र कार्यक्रमको तहमा ०८४ को चुनावअघि नै लिएर जाने भनेर काम गरेका छौं । अब मतदाताकहाँ जाँदा हामी अरु ठीक भएनन् त्यसैले मत दिनु मात्र भन्दैनौ । हाम्रो नीति र कार्यक्रमसहित जान्छौं । 

–प्रतिपक्षमा हुँदा मिसन–०८४ अभियान चलाउनुभयो, राष्ट्रिय गौरवका आयोजनामा मार्चपास गर्नुभयो, शक्तिशाली मन्त्रालयमा हुँदा ती आयोजना र भ्रष्टाचारको ठूलो काण्ड ‘गिरीबन्धु’ सम्बन्धमा बोल्न पनि सक्नुभएन भन्ने आरोप छ नि !

गिरीबन्धुमा नबोलेको आरोप पछिल्लो समय हामीलाई लाग्ने गरेको छ । बजेटमा पनि हाम्रा सांसदहरूले राखेको दृष्टिकोणमा नियालेर हेर्दा निरपेक्ष ढंगले समर्थन गरेका छैनौं । क्रिटिकल नै भएका छौं । 

केही पार्टीको भूमिका प्रतिपक्षमा हुँदा पूरै नकारात्मक र सत्तामा हुँदा अत्यन्तै सकारात्मक देखिन्छ । हामी प्रतिपक्षम हुँदा पनि राम्रो कामको समर्थन गरेका छौं । 

पार्टी सभापतिले गिरीबन्धुमा काम भइरहेको छ भन्नुभएको छ । कतिपय अनुसन्धानको चरणमा हुन्छ । अन्य बुँदाहरुमा पनि निरन्तर दुवै पक्षमा काम गरेका छौं । हामीले संसद्मा पनि बोलेका छौं, सरकारमा बसेर काम गर्ने ठाउँमा पनि स्पष्ट भएर काम गरिरहेका छौं । 

शिक्षामा सुमनाजीले शिक्षा क्षेत्र ‘राजनीतिमुक्त’ भन्ने एजेन्डा मन्त्रीका रुपमा निरन्तर अडान लिइरहनुभएको छ । भिसी नियुक्तिपछिका विषयमा स्पष्ट अडान राखेर एउटा प्रक्रियामा लागिसकेको छ । 

–बुटवल नारायणगढ पैदल यात्रा गरेर खबरदारी गर्नुभयो, जवाफ दिने ठाउँमा पुगेपछि के गर्नुभयो ?

हामीले हिँडेका सबै योजनाहरुले गति लिए भन्ने स्थिति छैन । सभापति हिँडेको बाटोहरुमा एकखाले ‘स्पिडअप’ चाहिँ भएको छ । प्री र पोस्ट एनालाइसिस ग¥यो भने थाहा हुन्छ । 

पूर्वाधार निर्माणको ढिलासुस्तीमा आज पनि हामी निरन्तर आवाज उठाइराखेका छौं । उदाहरणका लागि केही दिन अगाडि रिंगरोड विस्तारको ढिलासुस्तीबारे काठमाडौँका सांसदहरूले संयुक्त रुपमा संसदमा एउटा कार्यविधि संकल्प प्रस्ताव पनि दर्ता गराएका छौं । 

त्यसमा तपार्ईंँले हेर्नुभयो भने मूलतः प्रतिपक्षका सांसदहरू र रास्वपाका सांसदहरु एकै ठाउँमा आउनुभएको छ । यसले पनि देखाउँछ कि हामी फरक ढंगले सदनमा प्रस्तुत हुन खोजिराख्या छौं । जनताको ‌जीवनसँग जोडिएका विषयहरूमा सत्तापक्ष र प्रतिपक्ष भनेर एउटा कुना र अर्को कुनामा मात्रै बस्ने गर्दैनौं ।

–रास्वपाका मन्त्रीले राजीनामा खल्तीमा छ भन्नुभयो । रास्वपाले सबै मन्त्रीलाई राजीनामा बोकेर हिँड्न लगाएको हो ? अनि राजीनामा बोकेका मन्त्रीलाई कर्मचारी प्रशासनले कसरी सहयोग गर्छ ?

राजीनामा आज भनिएको कुरा हैन । सुरुमै सरकारमा जाँदा हामी ‘डेलिभरी’का लागि सरकारमा गएको हो । हामीप्रति जनताको अपेक्षा पनि त्यही हो । 

हामी साझा न्यूनतम कार्यक्रममा सहमति गरेर मात्र सरकारमा गएको हो । त्यो सहमति अनुसार काम गर्ने वातावरण नभए जुनसुकै बेला सरकार छाड्न तयार छौं भनी पहिले नै भनेको हो । यो नयाँ ढंगले आएको विचार हैन स्थापित मान्यता छ । 

–तपार्ईंंहरुले समग्रमा त्यस्तो दृष्टिकोण बनाउनुभयो । तर, विभागीय मन्त्रीले भोलि राजीनामा दिनसक्छु भन्दै हिँड्दा सरकारी संयन्त्रले ‘होस्टे’ गर्छ कि बेवास्ता ?  

यसलाई अन्य ढंगबाट व्याख्या गर्ने प्रयास भएको छ, त्यसमा नयाँ विचारहरु हैन । स्थापित मान्यताको ‘एक्प्रेसन’ मात्र हो । मन्त्रीहरुले टिम बनाउने सम्बन्ध बिस्तार गर्ने मैले कति सेवा बिस्तार गर्न सकेको छु छैन भनी विश्लेषण गरेर एक सय दिनमा भइसकेको छ । 

–तपाईंहरुको सरकारमा सहभागिताका हकमा ०५२ पछिको राप्रपासँग तुलना हुँदैछ, यसलाई कसरी लिनुभएको छ ? 

समाजमा हामीप्रति दुईखाले धारणा छ । एउटा सरकारमा जानै हुँदैन, प्रतिपक्षमा बस्नुपर्दथ्यो भन्ने ठूलो तप्का छ । तर, साथसाथै अर्को तप्काले चाहिँ हैन तपार्ईंंहरुले आश जगाइदिनुपर्छ भन्छन् । तपार्ईंंहरुबाट अलि आशा जागेको छ, क्षमतावान टिम छ केही मन्त्रालय लिएर डेलीभर गर्नु भन्ने छ । आखिर राजनीतिक दल भनेको सरकारमा जानै जन्मेको हो, छि–छि दूर्दुर नगर्नु न भन्ने तप्का पनि छ ।

आजको दिनमा सरकारमा जाँदा अपनाएको बाटो ठीक छ । हामी कम्तिमा पनि उपस्थिति भएको मन्त्रालयबाट सेवा प्रवाह गर्नं सक्यौँ भने समाजमा निराशाको माहोल चिर्न सकिन्छ कि नीतिगत सुधार गर्न सकिन्छ कि भन्ने दृष्किोणबाट गएको हो । त्यो प्रयासमा हामी छौं । 

–सरकारमा जाने सवालमा ‘बालकोट’बाट सञ्चालित भएको पनि आरोप लाग्छ तपार्ईंहरुलाई, एमालेसँग तपार्ईंंहरुको विशेष सम्बन्ध हो ? 

जुन किसिमको संसदीय अंकगणित छ, त्यसले केही राजनीतिक दलहरूबीच सहकार्य नभइकन सरकार बन्दैन । त्यो अर्थमा कहिले बालकोटमा छलफल होला, कहिले बालुवाटारमा छलफल होला, ती नितान्त राजनीतिक घटनाक्रले ल्याउने कुरा हुन् । कुनै दिन बूढानिलकण्ठमा छलफल भयो होला, यो अत्यन्तै सामान्य विषय हो । 

–अमेरिकाबाट फर्केपछि ‘सीधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम केपी शर्मा ओलीसँग चलाएका सभापति लामिछाने चुनाव जितेपछि पहिलोपटक ओली भेट्न पुग्नुभयो । सरकारमा जाँदादेखि सरकार ढाल्दासम्म बालकोटमै देखिनुयो । तपार्ईंंको सभापतिको बचाउमा तपार्ईंंभन्दा बढी ओली नै खटिनुहुन्छ । एमालेका नेता जोडिएका काण्डमा रास्वपाको आवाजै निस्कँदैन भन्ने आरोप छ, यी सबै संयोग मात्र हुन् ?  

अलि बढी एमालेसँग नजिक भयो भन्ने कुरा जबर्जस्ती बनाउन खोजिएको छ । किनभने स्पष्ट रुपमा हामीले आफूलाई लोकतान्त्रिक पार्टी हो भनेका छौं । हामी कम्युनिष्ट पार्टी होइनौं । हाम्रो लिखित धारणा हो यो, मेरो व्यक्तिको धारणा होइन । हामी लोकतान्त्रिक धारकै पार्टी हौं । वैचारिक दार्शनिक रूपमा पनि हामी कम्युनिष्ट शक्तिसँग नजिक छैनौं । 

तर, गठबन्धन राजनीतिमा कोहीसँग आज नजिक भइन्छ भोलि कोहीसँग । यो शक्ति वा पार्टीसँग मात्र काम गर्ने अरुसँग नगर्ने भन्ने कुनै धारणा छैन । आवश्यकताअनुसार सहकार्य सबैसँग हुन्छ । 

हामी प्रतिपक्षमा हुँदा पनि सरकारले गरेको यो राम्रो काम गरेको छ भन्न सक्ने पार्टी हो । त्यसकारण कुनै एउटा वा शक्तिको नजिक हो भनेर व्याख्या हुनुपर्ने जरुरी छैन ।

–तपार्ईंंहरुले हामी लोकतान्त्रिक शक्ति हौं भन्नुभयो, लोकतान्त्रिक शक्तिहरुकै सहकार्यमा सरकार बनाउने पहल भएको हो ?

लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आउनुपर्छ भनिरहँदा नहुनु पर्छ भन्ने छैन । हामी कुनै एक पार्टीसँग गठबन्धन हुनुपर्छ भन्ने मान्यतामा नराख्ने हुँदा परिस्थितिमा भर पर्छ । परिस्थिति निर्माण हुँदा हैन यो हुँदै हुँदैन भन्ने बाटोमा कतै पनि अडान छैन । 

तर, आजको संसदीय संरचनामा लोकतान्त्रिक गठबन्धन बन्न नम्बरले कति दिन्छ ? तथ्यमा हेर्नुपर्छ, लोकतान्त्रिक फोर्स अलि बढी भएको सरकार बन्न सक्ला तर, लोकतान्त्रिक मात्रको गठबन्धन गाह्रो छ । मैले कुन कुन पार्टी राख्दा साँच्चै लोकतान्त्रिक गठबन्धन हुन्छ भनेर नम्बरको हिसाब गरेको छु, पुग्दैन । त्यो प्रयास औपचारिक रुपमा भएको छैन । 

–कांग्रेसबाट प्रधानमन्त्री बनाउने प्रस्ताव आयो भन्नुभएको थियो, सिंगो सरकारको नेतृत्व गर्ने अवसर किन छोड्नुभयो ? 

प्रस्ताव आएको हो । तर, प्रश्न संख्यामा अड्किन्छ । प्रस्ताव आउनु र पूरा हुनु फरक फरक हो नि । 

–संख्या पुर्‍याउने प्रयास गर्नुभयो त ? 

अन्तिम अवस्थामा आयो । एमाले–माओवादीसँग गठबन्धन बनेपछि त्यो प्रस्ताव आएको थियो । प्रस्ताव आएको हो । सरकार लगभग बनेपछि प्रस्ताव आएको थियो । 

–तपार्ईंंको सभापति रवि लामिछानेलाई जे जस्ता आरोप एकपछि अर्को लागिरहेका छन् यसको कारण के होला ?

रास्वपा जे छ जुन शक्ति र हैसियतले स्थापना भयो त्यो रवि लामिछानेको मिडियाबाट बनेको व्यक्तित्वको उपज हो । यसमा खासै दुविधा छैन । हो, रास्वपा त्यसकै जगमा उभिएको पार्टी हो । उदाउँदो र वैकल्पिक शक्तिको रूपमा आममानिसले हेरेको पार्टी र भोलिको दिनमा थप बलियो हुँदा आफूलाई पार्न सक्ने क्षयीकरणको डरले पनि यस्तो भएको छ ।

रवि लामिछाने सकियो भने रास्वपा नै सकिन्छ भन्ने दृष्टिकोणबाट बढी आक्रमण भइरहेको छ । तर, त्यो विश्लेषण आफैँमा सतही हुन सक्छ । 

–रवि लामिछानेलाई जस्तै आरोप अरु कोही सांसदमाथि आए सिंगो पार्टी विरुद्धमा उभिएला कि ढाकाप्रसादको अवस्था होला ? 

सभापतिको केशमा पटकपटक सभापतिले आफूलाई लागेको आरोपलाई प्रेस कम्फ्रेन्सदेखि विभिन्न माध्यामबाट आरोप तर्क र तथ्यसंगत छैनन् भनेर बोल्नुभएको छ । 

उहाँले सार्वजनिक रुपमा ‘फेस’ गर्नुभएको छ । लुकाउने प्रयास गर्नुभएको छैन । उपलब्ध तथ्यहरुले केही अन्यथा भएको पनि देखिएको छैन । यदि मैले गल्ती गरेको छु भने सजाय भोग्न तयार छु भनेर भन्नुभएको छ । हाम्रो कतिपय बैठकमा उठाएको प्रश्नमा पनि स्पष्ट निर्देशन नै छ ‘मेरो कारणले कसैले भारी बोक्नुपर्दैन, बचाउ गर्दै हिँड्नु पर्दैन’ भन्नुभएको छ । 

सभापतिमा जस्तै आरोपसहितको आक्रमण जो कसैमा पनि हुन सक्छ आजको दिनमा । कसैलाई विदेशी नागरिक भनेर आरोप लगाइन्छ, कहिले विदेशी बिहे गर्‍यो भनेर निरन्तर आरोप लगाइन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro