गाउँका मुखिया लालबहादुरको पुर्ख्यौली सम्पत्ति तमाम त छँदै थियो, सोझासिधा गाउँलेलाई रकम सापटी दिने र चर्को ब्याज असुल्ने पनि गर्थे । उनको बाकसमा मुठाका मुठा तमसुकहरू पट्ट्याएर राखिएका हुन्थे । आसामीले ब्याज दिन नसके लालबहादुरले खोरका बोका र कुखुराको भाले समेत घरमा लैजान्थे ।
छोरा नवीनलाई सहरको महँगो बोर्डिङ स्कुलमा पढाए । पछि महँगै प्राइभेट कलेजमा भर्ना गरे । होस्टेलको बसाइ र कुलतमा लागेका साथीहरूको संगतले नवीनको पढाइ बिग्रँदै गयो ।
लालबहादुरका आसामी बुद्धिरामका छोरा जीवन भने गाउँकै सरकारी स्कुलको पढाइ सकाएर छात्रवृत्तिमा सहरको सरकारी कलेजमा पढ्न थालेका थिए ।
नवीनले पढाइ पूरा गरेनन् । मदिराको व्यापार थाले । जीवनले लोकसेवा पास गरेर अधिकृतमा नाम निकाले ।
लालबहादुरको जिद्दीका बाबजुद नवीनले गाउँको ५० मुरी धान फल्ने खेत बैंकमा धितो राखेर कर्जा निकालेका थिए । तर, नराम्रा साथीहरूको संगतमा परेपछि उनको व्यवसायले खासै गति लिएन । साथीहरूले उधारोमै मदिरा लैजान्थे, पैसा दिँदैन थिए ।
केही वर्ष अधिकृतको जागिर गरेका नवीनलाई मास्टर्स पढ्न सरकारले छात्रवृत्तिमा नेदरल्यान्ड्स पठायो ।
बुद्धिरामको छोराले राम्रो गरिरहेको थाहा पाएर लालबहादुरलाई सही नसक्नु हुन्थ्यो । छोरा कुलतमा फसेको देखेर उनी चिन्तित थिए ।
तोकिएको म्यादभित्र कर्जा चुक्ता नगरेपछि लालबहादुरको खेत लिलामीका लागि बैंकले सूचना निकाल्यो । मिटरब्याजले गर्दा छोरालाई राम्रोसँग पढाउनेतिर ध्यान नगएको, छोरा बिग्रिएको र कर्जा तिर्न नसकेर खेत नै लिलाम भएपछि उनलाई पछुतो भयो ।
जीवनले आफ्ना पिताले लालबहादुरसँग धेरैपहिले लिएको ऋण चुक्ता गरे ।