site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘फ्लोर क्रस’ गरेको दुई दिनमै किन संसद् सचिवालयले फणिन्द्रलाई माओवादीको सांसद सूचीमा राख्यो ?

पोखरा । आफू नेपाल समाजवादी पार्टी (नेसपा)को एक्लो सांसद बताउँदै आएका फणिन्द्र देवकोटा माओवादी केन्द्रको कारबाहीपश्चात शुक्रबार निलम्बित भए । यसको विरुद्ध आफू कानुनी उपचारमा जाने उनले बताइरहेका छन् । माओवादी केन्द्रको पछि नहिँडेका कारण आफूलाई कारबाही गरिएको दाबी उनले गरेका छन् ।

उनीमाथि पाँच दिनअघि माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्ने ह्विप उल्लंघन गरेको आरोप छ । तर, त्यतिञ्जेलसम्म प्रदेशसभा सचिवालयको वेबसाइटमा उनलाई नेपाल समाजवादी पार्टी (नेसपा)को सांसद भनेर उल्लेख गरिएको थियो । उनको परिचयपत्रमा पनि दलको नाम नेसपा नै उल्लेख गरिएको छ ।

Argakhachi Cement Island Ad

शुक्रबारको पत्रकार सम्मेलनमा देवकोटाले आफूलाई प्रदेशसभा सचिवालयले पनि नेसपाको सांसद उल्लेख गरेको जनाएका थिए ।प्रदेशसभा सचिवालयको वेबसाइटले चाहिँ शुक्रबार उनलाई माओवादी केन्द्र संसदीय दलको सदस्य भनेर राखिसकेको थियो । यसबारेमा स्वयं देवकोटा नै अनविज्ञ थिए ।

आखिर किन ‘फ्लोर क्रस’ गरेको दुई दिनमै सचिवालयले उनलाई माओवादीको सांसद सूचीमा सूचीकृत गर्‍यो त ? के यसमा राजनीतिक घटनाक्रम जोडिन्छ ?

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले यी प्रश्नलाई इन्कार गरे । उनले तीन दिनअघिमात्रै वेबसाइट अपडेट र व्यवस्थित बनाइएको दाबी गरे । तर, कुनै बेला नेसपाको सांसद भनेर उल्लेख गरिएका फणिन्द्रलाई माओवादी केन्द्र संसदीय दलको सदस्यमा किन राखियो त ?

सचिव पोखरेल भन्छन्, “संसदीय दल उहाँको माओवादी केन्द्र हो, उहाँको पार्टी चाहिँ नेसपा नै हो ।”

देवकोटालाई संसदीय दलको हिसाबले मात्र माओवादीको सांसद सूचीमा राखिएको उनले बताए । “फ्लोर क्रस योसँग सम्बन्धित छैन । अहिले हामीले यूएनडीपीले सहयोग गरेका कारणले बल्ल नयाँ वेबसाइट बनाएका छौँ । अस्ति हो, हामीले यूएनडीपीलाई जिम्मा दिएका थियौँ, अहिले हामीले धेरै कुरा राखेका छौँ । उहाँको संसदीय दल नेकपा माओवादी नै हो, राजनीतिक दल चाहिँ नेसपा हो, त्यही विवरण अपडेट गरिएको हो ।” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्