site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलोपटक दक्षिण अफ्रिकासँग खेल्दै नेपाल, रोहित भन्छन्– चुनौतीका लागि तयार छौँ
फाइल तस्बिर ।

काठमाडैं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासामु नेपालले चुनौती प्रस्तुत गर्दा यो अन्तर्राष्ट्रिय क्रिकेटमै यी दुई टिमबीचको पहिलो भेट बन्नेछ ।

दोस्रोपटक विश्वकप खेलिरहेको नेपालले शनिबार बिहान वेस्ट इन्डिजको किंग्सटाउनमा अफ्रिकी टोलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘डी’ बाट अन्तिम खेलअगावै सुपर–८ मा स्थान निश्चित गरिसकेको दक्षिण अफ्रिका शतप्रतिशत जितको लक्ष्यमा छ ।

यता, नेपाल भने जितसहित सुपर–८ को सम्भावनालाई समूह चरणको अन्तिम खेलसम्म कायम राख्न चाहन्छ । सेन्ट भिन्सेन्टस्थित अर्नोस भाल मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा पनि रोहितले सुपर–८ मा प्रवेश गर्न नेपालले दुवै खेल जित्नुपर्ने अवस्थाबारे जानकार रहेको बताउँदै चुनौतीका लागि तयार रहेको प्रतिक्रिया दिए । “यो प्रतियोगितामा दक्षिण अफ्रिकाले राम्रो खेलिरहेको छ । बंगलादेश पनि राम्रो टिम हो । र, हामीलाई सुपर–८ मा पुग्न दुवै खेल जित्नुपर्छ भन्ने राम्रो जानकारी छ । हामी आगामी चुनौतीका लागि तयार छौँ,” रोहितले भने ।

विश्वकपको पहिलो खेलमा नतिजा नेदरल्यान्ड्सलाई सुम्पिए पनि अमेरिकाको टेक्सासस्थित ड्यालमा पुगेका सात हजार लगावपूर्ण समर्थकका कारण नेपाली विश्वभरका सञ्चारमाध्यमको चर्चामा रह्यो । दोस्रो खेल वर्षाका कारण रद्द हुँदा पनि फ्लोरिडामा नेपाली समर्थकको चाप उत्तिकै थियो ।

खेलअघिको पत्रकार सम्मेलनमा रोहितले नेपाली समर्थक सेन्ट भिन्सेन्टमा पनि टिमको हौसला बढाउन आउनेमा आशावादी रहेको बताए । “हामी विश्वकपमा रमाइरहेका छौँ । हामीमध्ये धेरैको यो पहिलो विश्वकप हो । यसैकारण पनि हामी यसमा रमाइरहेका छौँ । हामीलाई पछिल्लो दुई तीन वर्षदेखि उनीहरूले समर्थन गरिरहेका छन् । नेपाली समर्थक यहाँसम्म पनि आइपुग्छन् भन्ने आश लिएको छु ।”

समूह ‘डी’ मा दुई खेलबाट एक अंक जोडेको नेपाल चौथो स्थानमा छ । तीन खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro