site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शर्मिला वाइबापछि तारा बराल र शोभा पाठक प्रहरी थुनामा, के–के छ उनीहरूमाथिको आरोप ?
SkywellSkywell

काठमाडौं । तीन दिनदेखि धादिङकी ३२ वर्षीया महिला शोभा पाठक प्रहरीको थुनामा छिन् । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो । 

सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या हुने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवम् एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

उनलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति पाएको छ ।  पाठक केही महिनायतादेखि सामाजिक सञ्जालमा चर्चामै थिइन् ।  एमालेका नेता महेश बस्नेतले आफूमाथि लामो समयदेखि यौन शोषण गरेको सार्वजनिक अभिव्यक्ति दिएपछि उनी चर्चामा आएकी थिइन् ।

Dabur Nepal
NIC Asia

पाठकले विभिन्न युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै बस्नेतले आफूमाथि लामो समयदेखि यौन शोषण गरेको दाबी गर्दै आएकी थिइन् ।  बस्नेतविरुद्ध उनी कानुनी उपचार खोज्ने भन्दै प्रहरी कार्यालयसम्म समेत पुगिन् । तर, प्रहरीले उनको दाबी र प्रमाण अभावका कारण उजुरी दर्ता गर्न मानेन । 

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पाठकले हुलाक सेवामार्फत उजुरी काठमाडौं प्रहरीलाई पठाइन् । हुलाकमार्फत आएको उजुरी भने काठमाडौं प्रहरीले दर्ता गरेर अनुसन्धान थाल्यो ।  तर, पाठकले उजुरीमा दाबी गरेजस्तो कुनै प्रमाण फेला नपरेपछि प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझायो ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रमाण नपुग्ने भन्दै तामेलीमा राखेको छ । प्रहरीले पाठक वास्तविक पीडित नभइ चरित्र हत्या गर्ने उद्देश्यले कानुनी छिद्रताको फाइदा उठाउँदै प्रहरीमा उजुरी दिन पुगेको दाबी गरेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, “पीडितले त सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्ने होइन । आफूमाथि भएको अन्याय अत्याचारविरुद्ध कानुनी प्रक्रियामा आउने हो ।”

पाठकले बस्नेतविरुद्ध सुरुमा सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेकी थिइन् । पछिल्लो समय उनी सामाजिक सञ्जालमार्फत बस्नेतविरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन् ।  एमाले पार्टीमै सक्रिय पाठकसँग अन्य विभिन्न पार्टीका शीर्ष नेताहरूकै घनिष्ट सम्बन्ध देखिन्छ । 

सामाजिक सञ्जालको दुरुपयोग गर्दै विवादित अभिव्यक्ति दिएर पक्राउ पर्ने पाठक एक्ला महिला होइनन् । १० दिनअघि मात्रै आफूलाई सामाजिक अभियान्ता बताउने तारा बराललाई पनि ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

बराललाई ब्युरोको टोलीले २० जेठमा बबरमहलबाट पक्राउ गरेको हो । उनलाई पनि थुनामै राखी प्रहरीले अनुसन्धान थालेको छ । उनीमाथि पूर्वडीआईजी रणबहादुर चन्दको चरित्र हत्या हुने खालका अभिव्यक्ति सामाजिक सञ्जाल तथा युट्युब च्यानलहरूमार्फत दिएको आरोप लागेको छ ।

हाल थुनामा रहेका पाठक र बराल दुबैमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत अनुसन्धान थालिएको जानकारी ब्यूरोका एसपी दिपकराज अवस्थीले दिए ।

धरौटीमा छुटेकी थिइन् शर्मिला

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ परेकी थिइन् ।  उनी जिल्ला अदालत काठमाडौंले ३५ हजार रुपैयाँ धरौटीमा छाडेको छ ।  उनलाई गत १६ फागुनमा सिन्धुपाल्चोक प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेको थियो ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको तथा उनको चरित्रहत्या हुने खालको गतिविधि गरेको भन्दै उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको थियो । त्यही उजुरीका आधारमा सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको थियो । उनलाई महाराजगञ्ज प्रहरीले २४ दिन थुनामा राखी अनुसन्धान गरेको थियो । 

पक्राउ पर्नुअघि सामाजिक सञ्जाल र युट्युबमार्फत विभिन्न उच्छृंखल अभिव्यक्ति दिँदै आएकी शर्मिला पक्राउ परेपछि भने गुमनाम जस्तै छिन् ।

कानुनी झन्झट पर्नबाट जोगिन ब्युरोको आग्रह

सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्र हत्या गर्ने घटना बढ्दै गएको र आरोपीहरू भटाभट पक्राउ पर्दै गएका छन् ।  प्रहरीको साइबर ब्युरोले कुनैपनि व्यक्तिको चरित्रहत्या हुने खालका गतिविधिमा नलाग्न अपिल गरेको छ ।

सोमबार एक सार्वजनिक विज्ञप्ति जारी गर्दै ब्युरोले भनेको छ, ‘व्यक्तिको चरित्रमा निर्मम आघात पुर्‍याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट भ्रामक अभिव्यक्तिसहितको सामाग्री समाजिक सञ्जालको कुनै पनि प्लेटफर्महरूबाट सार्वजनिक नगर्नु । यस्ता कार्य गरेको खण्डका त्यसको जवाफदेही स्वयम् हुनुपर्ने हुँदा कानुनी झन्झटमा नपर्न आग्रह गछौं ।’

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu