site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बक्सअफिस रिपोर्ट कहिलेसम्म लुकाउने ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्र विकास बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न छोडेको छ । अघिल्लो वर्ष दुईपटक बक्सअफिस रिपोर्ट सार्वजनिक गरिएको थियो । त्यसयता सार्वजनिक गरिएको छैन ।

बोर्डले २०७९/०८० को बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको थियो । बोर्डबाट प्रदान गरिएको ‘मुभी कोड’अनुसार प्रदर्शित चलचित्रको नाम, प्रदर्शन सुरु भएको मिति, बक्सअफिस कलेक्सन र टिकट बिक्री संख्या सार्वजनिक गर्न थालिएको थियो ।

बोर्डका अध्यक्ष भुवन केसीले हरेक महिना बक्सअफिस रिपोर्ट सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए । सिनेमाको कलेक्सनको वास्तविक तथ्य बाहिर नआउने गरेको भन्दै बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न आवश्यक रहेको उनले बताएका थिए ।

Agni Group
NIC Asia

०७९ चैत २९ गते उनले कलाकार संघको कार्यक्रममा ‘अब प्रत्येक महिना बक्सअफिस रिपोर्ट सार्वजनिक हुने’ बताएका थिए । चलचित्रको वास्तविक व्यापार बाहिर नआएका कारण पनि बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न आवश्यक रहेको भुवनले कार्यक्रममा तर्क गरेका थिए ।

उक्त रिपोर्ट सार्वजनिकपछि बोर्ड र अध्यक्ष केसीको विरोध गरिएको थियो । केही चलचित्र निर्माताले बक्सअफिसको रिपोर्टसँग आफ्नो चलचित्रको तथ्य नमिलेको बताएका थिए । केसीले भने बक्सअफिस रिपोर्ट सही भएको जिकिर गरेका थिए ।

Global Ime bank

अहिले भुवन आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् । बोर्डले सञ्चारमाध्यमलाई रिपोर्ट उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ । प्राविधिक कारणले रिपोर्ट सार्वजनिक गर्न नसकिएको बोर्डको तर्क छ ।

गएको वैशाखमा बोर्ड बक्सअफिस रिपोर्ट सार्वजनिक गर्ने अन्तिम तयारीमा थियो । सार्वजनिक गर्ने भनिएको अघिल्लो दिन बोर्ड पछि हटेको स्रोत बताउँछ ।

“हामी पूर्वप्रतिबद्धताअनुसार नै रिपोर्ट सार्वजनिक गर्ने तयारीमा थियौँ । तर, अन्तिममा आएर अहिले नगरौँ भन्ने कुरा आयो,” बोर्डका एक सदस्यले बाह्रखरीसँग भने ।

बक्सअफिस रिपोर्ट सार्वजनिक गरेदेखि नै केही चलचित्र निर्माता र वितरकले बोर्ड र केसीको विरोध गरेका थिए । ती बोर्ड सदस्यका अनुुसार, वितरक र निर्माताको दबाबका कारण भुवन पछि हटेका हुन् ।

“कलेक्सन धेरै हुने गरेको देखाएर नयाँ निर्माता खोज्ने निर्देशक र निर्मातारूलाई झुटो विवरण सञ्चारमाध्यममा दिएर फसाउने खेल बक्सअफिस रिपोर्ट सार्वजनिक गरेपछि अन्त्य हुने भयो,” ती बोर्ड सदस्य भन्छन्, “नेपालमा धेरै कलेक्सन हुँदैन भनेर भारतबााट सिनेमा किनेर ल्याउने वितरकहरूलाई रिपोर्ट सार्वजनिक हुन थालेपछि भारतीयले महँगो भन्ने भए ।” त्यसैले बोर्डलाई वितरकले पनि दबाब दिने गरेको स्रोतको जिकिर छ ।

यहाँ कमाइ उच्च हुने गरेको आधिकारिक रिपोर्ट सार्वजनिक भएपछि बलिउड र हलिउडका वितरकले नेपाल राइट्स महँगो भन्न थालेका थिए । त्यसैले वितरकलाई बक्सअफिस रिपोर्ट टाउको दुखाइको विषय बनेको थियो । 

बोर्डका प्रवक्ता केएल बुढाथोकी भने प्राविधिक कारणले बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न नसकिएको बताउँछन् । बोर्डको भन्दा वितरकको रिपोर्ट बढी आउने गरेको भन्दै उनले यस विषयमा अध्ययन गरेर टुंगोमा पुग्ने आफूहरूको निष्कर्ष रहेको सुनाए ।

“सदस्यसचिवसहितको एउटा प्राविधिक अध्ययन समिति बनेको छ । यसले बक्सअफिस रिपोर्टलाई थप विश्वसनीय बनाउने र सबै हलको डाटा कसरी आउने बनाउन सकिन्छ भनेर अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ,” प्रवक्ता बुढाथोकीले भने, “यो समितिले दिने सुझावका आधारमा अगाडि बढ्ने बोर्ड बैठकमा सहमति भएको छ ।”

चलचित्र विकास बोर्डस्थित बक्सअफिसमा जम्मा दुई कर्मचारी छन् । बक्सअफिसमा कर्मचारीको अभाव रहेको बोर्ड सदस्यले नै बताउँदै आएका छन् । बक्सअफिसमा कर्मचारीको अभावका कारण पनि यसलाई प्रभावकारी बनाउन नसकिएको बोर्डले जनाउँदै आएको छ ।

बक्सअफिसमा सिंगल थिएटर मात्र होइन, केही मल्टिप्लेक्सको बक्सअफिस डाटा पनि प्राप्त हुँदैन । करिब एक दर्जन मल्टिप्लेक्सले बक्सअफिस डाटा लुकाउने गरेका छन् । तीमध्ये सात/आठ हल काठमाडौंकै छन् ।

“बक्सअफिसको सर्भरसँगको कनेक्सन छुटाएर टिकट काट्ने हल पनि छन् । यस्ता हललाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन,” बोर्डका एक सदस्य भन्छन्, “यस्ता हललाई कारबाही गर्न रियलटाइम डाटा देखाउने बक्सअफिस जडान गर्नुपर्ने, कर्मचारीको संख्या थप्नुपर्नेमा बोर्डको ध्यान खिचिनुपर्छ ।” तर, यसतर्फ बोर्ड नेतृत्वको ध्यान नगएको ती सदस्यको टिप्पणी छ ।

चलचित्र निर्माता अविरल थापा बक्सअफिस रिपोर्टलाई बोर्डले तर्साउने र निर्माताले छक्याउने माध्यमका रूपमा प्रयोग गर्न नहुनेमा जोड दिन्छन् । “सार्वजनिक गर्ने हो भने नियमित गर्नुपर्छ । होइन भने गर्दै गर्नु भएन,” अविरल भन्छन्, “बोर्डले सार्वजनिक नगर्दा झनै यसको दुरुपयोग भइरहेको छ ।”

केही कमाउने निर्माताले बक्सअफिस रिपोर्टलाई आफ्नो सिनेमा पब्लिसिटीको माध्यम बनाइरहेको उनको बुझाइ छ । कम कमाउने निर्माताले हुँदै नभएको आम्दानी देखाएर अतिरञ्जित रूपमा प्रचारप्रसार गरेको उनी बताउँछन् ।

बक्सअफिस रिपोर्ट र वितरकले दिने गरेको कलेक्सनको तथ्य फरक–फरक हुने गरेको उनको अनुभव छ । वितरक र बोर्डले दिने बक्सअफिस रिपोर्ट एउटै हुनुपर्नेमा उनी जोड दिन्छन् । अन्यथा, बक्सअफिस रिपोर्टको अर्थ नरहने उनको धारणा छ ।

निर्देशक घनश्याम लामिछानेको प्रश्न छ– कति समयसम्म बक्सअफिस रिपोर्ट लुकाएर गुमराहमा राख्ने ? “बक्सअफिस रिपोर्ट सार्वजनिक गरेकै राम्रो हो । जे हो त्यो बाहिर आएको राम्रो हो,” घनश्याम भन्छन्, “सार्वजनिक नहुँदा गुमराहमा राखेजस्तो भयो । सबै कुरा पारदर्शी हुनुपर्छ । पारदर्शी हुँदा फाइदा पनि हुन्छ ।”

आधिकारिक तथ्यांक लुकाएर निर्मातालाई ‘मुर्गा’ बनाउने प्रवृत्तिलाई प्रश्रय दिन नहुने उनी बताउँछन् । व्यापार गर्ने मान्छेलाई सही सूचना दिनुपर्नेमा लुकाउनु गलत हुने उनको तर्क छ । व्यापार गर्नेले तथ्यांक विश्लेषण गरेर आउने वातावरण राज्यले बनाइदिनुपर्ने उनको भनाइ छ ।

“बक्सअफिस रिपोर्ट सार्वजनिक गर्ने हो भने चलचित्रमा व्यापार गर्न आउने मान्छे बुझेर, अध्ययन गरेर आउँछ,” निर्देशक लामिछाने भन्छन्, “जहाँ मान्छे सुरुमै बुझेर, अध्ययन गरेर आउँछ, ऊ त्यहाँ लामो समयसम्म रहन्छ ।”

चलचित्र उद्योगको दीर्घकालीन हितका निम्ति पनि लगानी गर्न आउने व्यक्ति बुझेर आउनुपर्ने उनी बताउँछन् । थाहै नपाई लहडको भरमा भन्दा बुझेर आउने व्यक्ति धेरै समय टिक्ने तथ्यलाई नभुल्न उनको आग्रह छ । तर, बक्सअफिस रिपोर्ट आधिकारिक र विश्वसनीय हुनुपर्नेमा उनी जोड दिन्छन् । वितरकले दिने रिपोर्ट र बोर्डको बक्सअफिस तथ्यांक एउटै हुनुपर्ने अन्यथा यसको अर्थ नहुने र मनलाग्दी प्रयोग हुन सक्नेतर्फ घनश्याम सचेत गराउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu