
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गण्डकी प्रदेशमा आज फ्लोर क्रस गरेका फणिन्द्र देवकोटालाई कारबाही हुने बताएका छन् ।
पार्टीले ह्विप जारी गरिसकेको अवस्थामा उनले फ्लोर क्रस गरेकाले स्वाभाविकरूपमा कारबाही हुने उनको भनाइ छ ।
दुईदिने भारत भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा देवकोटाले संविधान र कानुनको मर्मविपरीत फ्लोर क्रस गरेको बताए ।
"गण्डकीमा पार्टीले ह्विप जारी गरिसकेको थियो । संविधान र कानुनको मर्म र मान्यताविपरीत फ्लोर क्रस गरेकालाई स्वाभाविकरूपमा कारबाही हुन्छ," उनले भने ।
सोमबार माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित देवकोटाले फ्लोर क्रस गरेर कांग्रेस सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । उनले आफूलाई नेपाल समाजवादी पार्टी (नेसपा)को सांसद बताउँदै आएका छन् ।