site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिरीबन्धुमा ओलीदेखि रविसम्मलाई विश्वप्रकाशको चुनौती

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र रास्वपा सभापति रवि लामिछानेलाई एकसाथ चुनौती दिएका छन् ।

बिहीबार संसद्को विशेष समयमा बोलेको महामन्त्री शर्माले तीनै जनालाई गिरीबन्धु टी–स्टेट प्रकरणमा छानबिनका लागि तयार हुन चुनौती दिएका हुन् । उनले अदालतको फैसलाको पूर्णपाठ आएपछि एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली कांग्रेससँग खनिएको भन्दै त्यसको कारण स्पष्ट पार्न ओलीलाई आग्रह गरे । 

“गिरीबन्धु प्रकरणमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक गर्‍यो । कांग्रेसबाट हामी कोही कसैले टिप्पणी गरेको थिएन । हामी कसैले पनि पूर्वप्रधानमन्त्रीज्यू तपाईंको नेतृत्वको सरकारले गरेको निर्णयलाई त सम्मानित अदालतले नीतिगत भ्रष्टाचारको दायरामा ल्याएर उभ्याएको छ,” शर्माले भने, “तर, उहाँले फाइल खोल्दै भन्नुभयो कांग्रेसले गिरीबन्धुको ७० बिघा जमिन बेचेर कमिसन खायो । के आरोप सही थियो ?” 

उनले ओलीले अकस्मात ‘रुद्र रूप धारण गरेर’ कांग्रेसप्रति आरोप लगाएपछि मात्र प्रतिवाद गरेको बताए । “हामीले गिरीबन्धु र यस्ता भ्रष्टाचार छानबिन हुनुपर्छ भनेपछि प्रतिउत्तर आयो र भनियो नेपाली कांग्रेसले लिखित रूपमा माफी माग्नुपर्छ,” शर्माले विष्णु पौडेलको भनाइलाई जवाफ दिँदै भने, “संविधान लेख्दा सँगसँगै बसेर लेखेका थियौँ । झुटो आरोप लगाउँदा संविधानको अधिकार प्रयोग गर्न मिल्ने अनि सही प्रतिवाद गर्न कांग्रेसले बन्देज अनुभूति गर्नुपर्ने ? यो हुन सक्दैन । यो नेपाल होे उत्तर कोरिया हैन ।” 

गिरीबन्धुकै विषयमा संसद्‌मा एमाले सचिव भट्टराईले किन संशोधन नहालेको भन्दै उठाएको प्रश्नमा पनि प्रतिवाद गरे । “मेरो परम मित्रले केही दिनअघि कानुन बनाउँदै गर्दा कांग्रेसले किन संशोधन हालेन भन्नुभयो । कांग्रेसका सांसद राधेश्याम अधिकारीले सट्टापट्टा वा स्थानान्तरणको स्वीकृति दिन सक्ने संशोधनसहितको समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस भएपछि सो प्रावधान हटाउन संशोधन राख्नुभयो । विधेयक बहुमतले पारित भयो कांग्रेसले विपक्षमा मत राख्यो,” उनले भने, “२०७६ साल भदौको ३० र ३१ गते राष्ट्रियसभाको अभिलेख हेर्न सकिन्छ ।” 

उनले प्रतिनिधिसभामा गिरीबन्धु टी–स्टेटको जग्गा बेच्ने बाटो फुकाउन ल्याएको विधेयकमा पनि कांग्रेसले तीनवटा संशोधन हालेको उल्लेख गरे । “प्रतिनिधिसभामा ७५ साल फागुनमा विधेयक आयो डिला संग्रौला, दिव्यमडिराज भण्डारी, देव तिमल्सिनाले संशोधन दर्ता गर्नुभयो,” शर्माले भने, “त्यसैले कांग्रेसले संशोधन दर्ता गरेन भन्नेले अध्ययन गर्नु होला ।” 

उनले कांग्रेसका फाइल खोल्ने चेतावनी दिएका गृहमन्त्री रवि लामिछानेलाई पनि जवाफ दिएका थिए । शर्माले गृहमन्त्रीको काम धम्क्याउने हो कि काम गर्ने भन्दै प्रश्नसमेत उठाएका थिए । शर्माले बोल्दै गर्दा गृहमन्त्री भने संसद्‌मा उपस्थित थिएनन् । “यहाँनेर म गृहमन्त्री खोज्न चाहन्छु । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्षले कांग्रेसले ७० बिघा बेचेर कमिसन खायो भनेर आरोप लगाउनुभएको छ,” शर्माले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, “त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दन्डित गर्न के तपाईं गिरीबन्धनुको फाइल खोल्न तयार हुनुहुन्छ ?” 

एमाले अध्यक्ष ओलीले आफूलाई बचाउन कांग्रेसलाई आरोप लगाएको भन्दै गृहमन्त्री फाइल खोल्न मात्र होइन बोल्न समेत डराएको उनले आरोप लगाए । “गिरीबन्धुको फाइल खोल्न हैन गृहमन्त्री बोल्न पनि सक्नुहुन्न म जान्दछु,” शर्माले भने, “बोल्न सक्ने भए शिक्षामन्त्रीमाथिको शब्द फिर्ता लिनुहोस् भनेर दमदार ढंगले बोल्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि भन्न सक्नुभएन ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro